कालीगण्डकीको कटान रोक्न थालियो

0
431

म्याग्दी,

म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदी किनारमा कटान नियन्त्रणका लागि अस्थायी संरचना निर्माण थालिएको छ । बेनी नगरपालिकाको पहलमा रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले विसं २०७८ असार १ गते कालीगण्डकीमा आएको बाढीले कटान गरेर ग्यावियन पर्खाल भत्काउँदा जोखिमयुक्त बनाएको तटीय क्षेत्रमा अस्थायी संरचना बनाउन सुरुआत गरेको हो ।

कटान जोखिममा रहेको कालीगण्डकी नदी किनारमा ठूला ढुङ्गा थुपारेर ‘बोलर स्किङ’ बनाउन थालेका बेनी –७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । “बर्खायाम सुरु भएको र कालीगण्डकीमा पानीको सतह बढ्न थालेकाले तत्काल स्थायी संरचना बनाउन सम्भव नभएपछि आउँदो बर्खामा थप क्षति हुन नदिन बोलर स्किङ बनाउन पहल गरिएको हो”, उहाँले भन्नुभयो, “नगरपालिकाले उपलब्ध गराएको ठूला ढुङ्गा परियोजनाका ठेकेदारले कटान गरेको ठाउँमा लगेर बजारतर्फ बाढी पस्न नदिने संरचना बनाउन थालेका हुन् ।”

बाढीले करिब १६० मिटर दूरीमा भत्काएको तटबन्धन मर्मत र पुनःनिर्माण सुरु नहुँदा बाढीले थप कटान गरेर बजारमा क्षति हुने जोखिम बढाएको थियो । रुपाताल संरक्षण एकीकृत विकास परियोजना पोखराले गत माघ तेस्रो सातादेखि बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारमा तटबन्धन सुरु गरेको थियो ।

कालीगण्डकीको डाइभर्सन गराउन विवाद भएको र पानीको सतह बढिसकेकाले सङ्गमचोक पछाडिको कालीगण्डकी किनारमा तत्काल पक्की संरचना बनाउन जोखिम देखिएकाले बर्खाको बाढी रोक्न अस्थायी संरचना बनाउन थालिएको निर्माण कम्पनीका प्रतिनिधि राजकुमार श्रेष्ठले बताउनुभयो ।

बाइस महिनामा सम्पन्न गर्ने लक्ष्यसहित गत पुस तेस्रो साता रु नौ करोड ४५ लाखमा रौताह–बिएनबी कन्ट्रक्शनले ठेक्का सम्झौता गरेको थियो । कालीपुलमा ८० मिटर पक्की र मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोटिल पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगे पनि जेसिज भवन क्षेत्रको कालीगण्डकी किनारमा काम हुनसकेको थिएन ।

सो क्षेत्रमा १६८ मिटर आरसिसी पर्खाल निर्माण गर्ने सम्झौता भए पनि कालीगण्डकी नदी डाइभर्सन गराउने विषयमा पर्वत–बेनी र म्याग्दी–बेनीको विवाद सुल्झाउन ढिलाइ भएपछि निर्माण कम्पनीले कालीपुल र मङ्गलाघाट क्षेत्रमा काम गरेका थिए । बेनीका नगरप्रमुख सुरत केसीले कालीगण्डकी र म्याग्दी नदीको दोभानको बगरबाट ठूला ढुङ्गाको व्यवस्थापन गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here