४७% नागरिक परिवार नियोजनको पहुँच बाहिर

0
385

झापा।

नेपालका अझै पनि ४७ प्रतिशत नागरिक परिवार नियोजनको पहुँच बाहिर रहेको एक सर्वेक्षणले देखाएको छ । बुद्ध हेल्थ प्रोमोसन एण्ड एजुकेशन सेन्टर राजविराज सप्तरीले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रसंग सहकार्य गर्दै सार्वजनिक गरेको तथ्याङ्क अनुसार ४७ प्रतिशत मानिसले परिवार नियोजनका साधन प्रयोग नगरेको उल्लेख छ ।

झापाको चारपानेमा मंगलवार बुद्ध हेल्थले जिल्ला स्वास्थ्य कार्यालय झापाको सहकार्यमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा अधिकृत इन्द्रवहादुर वानियाले नेपालमा परिवार नियोजनका साधन प्रयोगकर्ताको अवस्थाका विषयमा जानकारी गराएका थिए ।

उनले सन् १९७६ देखि २०१९ को अवधिमा परिवार नियोजन सेवाको प्रयोगदर २ दशमलव ९ देखि २७ प्रतिशत बढेको भएतापनि अझै धेरै नागरिकले परिवार नियोजनको साधन प्रयोग नगर्ने गरेको बताएका छन् ।

नेपालमा हालसम्म ९ प्रकारका परिवार नियोजनका साधन रहेको बताउँदै सेवाको दर बढे पनि सबै नागरिकको पहुँचमा परिवार नियोजनको साधन नपुगेको उनको भनाइ छ ।

यता बुद्ध हेल्थ प्रोमोशन एण्ड एजुकेशन सेन्टरका प्रवन्ध निर्देशक लक्ष्मीनारायण देवले सन १९७६देखि २०१९ बीचमा कूल प्रजनन् दर ६.३ बाट २ .० प्रतिशतमा झरेको बताए । उनले दुर्गमस्थानमा लामो अवधिको परिवार नियोजनका साधनको पहुँचमा वृद्धि भएको बताए । परिवार नियोजन सेवामा नवीन तथा सिर्जनात्मक अभ्यासको शुरुवात भएको बताउँदै मातृ तथा शिशु मृत्यु दरमा समेत उल्लेख्य कमी आएको जानकारी दिए ।

कोभिड १९को सन्दर्भमा असुरक्षित यौन सम्वन्धको जोखिम बढेको र संक्रमण जोखिमका कारण स्वास्थ्य संस्थामा सेवा लिन जानेहरुको संख्यामा कमी आएको कार्यक्रममा जानकारी दिइएको थियो । श्रम तथा अन्य कामका लागि घरबाट टाढा रहेकाहरु कोभिडको समयमा घर फर्किएको र यौन कार्य बढेको, असुरक्षित यौन सम्बन्धको जोखिम बढेको, स्वास्थ्य संस्थामा महिला स्वास्थ्य स्वयम् सेविकासंग उपलव्ध परिवार नियोजनका साधनको अभाव भएको बुद्ध हेल्थ प्रोमोशन एण्ड एजुकेशन सेन्टरले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

कोभिड १९को संक्रमणकालमा अनिच्छित गर्भधारण, असुरक्षित गर्भपतन, किशोरावस्थामा नै विवाह गर्नेको संख्या बढेको र परिवारको योजना भन्दा पनि अन्य कुरामा परिवारको प्राथमिकता रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले हालसम्म नेपालमा विवााहितसँग मात्रै परिवार नियोजनाका कार्यक्रम जोडिएको बताएका थिए । उनले बिद्यालयस्तरबाटै अझ प्रभावकारी रुपमा परिवार नियोजनका विषयमा जानकारी गराउँदै लैजानु पर्ने धारणा राखे ।

कार्यक्रममा जनस्वाथ्य कार्यालयका परिवार नियोजन फोकल पर्सन शशीकुमार भट्टराईले झापामा परिवार नियोजनको अवस्था र साधन प्रयोगकर्ताको विषयमा जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here