डि. बी. इलामेको उपन्यास ‘मुलुक भित्र’

0
811


नेपाली साहित्यको भण्डारमा अर्को एउटा सुन्दर उपन्यास थपिएको छ । त्यो कृति हो, उपन्यासकार डि.बी. इलामेको उपन्यास ‘मुलुक भित्र’ ।
‘प्रस्तुत कृति ‘मुलुक भित्र’मा तह नमिलेर जन्मिएका द्वन्द्वका केही खास कारणहरु देखाइएका छन् । सबभन्दा बढी पारिवारिक विघटन निम्त्याएको देखाइएको छ । समग्र मुलुकको सिङ्गो वर्तमानको चित्र उभ्याउन खोजिएको छ । सामाजिक, आर्थिक, राजनीतिक तथा धार्मिक कुनै पनि रुपले सनातन संस्कृतिमा परिस्कृत एवम् आदर्श परिवारको नेतृत्व ग्रहण गरेर सामाजिक अस्तित्व स्थापित गर्ने नेपाली समाजका लागि अभिशाप लाग्ने वर्तमानको केही वास्तविक परिदृष्यहरु लिएर आकारका दृष्टिले लघु मध्यम आयामको उपन्यास ‘मुलुक भित्र’ लेखिएको छ ।
आयातित धर्मले काम नदिने निष्कर्षमा पुगेर पनि धार्मिक परम्परालाई बाँचुञ्जेलको सहज जीवनयापनको उपाय ठान्दै समन्वयात्मक दृष्टिकोण राख्ने सेवानिवृत्त इमान्दार एवम् राष्ट्रसेवक, इलामबासी भूगोलदेव, पर्वतमान, मैदानसिं र हिमाली यस उपन्यासका केन्द्रीय पात्र रहेका छन् । छ खण्डमा संरचित कृतिको छैँठौ भागबाहेक सबैमा उपस्थित भूगोेलदेवको जीवनदर्शन कै पक्ष र विपक्षमा हुर्किएका सवालहरु नै यस उपन्यासको युगीन द्वन्द्व र मानसिकताका सूचकहरु हुन् ।’ उपन्यास मुलुक भित्रबारे महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका प्राध्यापक केशबहादुर राईका विचार कृतिमा व्यक्त भएका छन् ।
पात्रहरु, भूगोलदेवकी आमा र जननी, जन्मभूमिका रुपमा उपस्थित छन्, भूगोलदेव एक इमान्दार, सफल र सतही कर्मपात्र अनि भूगोलदेवका जेठा छोरा पर्वतमान र पहाडी, पहाडी प्रदेश प्रतिनिधि पात्र छन् । कान्छा छोरा मैदानसिं र भारती तराईप्रदेश प्रतिनिधि र हिमाली चाहिँ हिमाली पूत्रीको रुपमा आफ्नो भूमिका निर्वाह गरिरहेकी छिन् र यसरी तराई, पहाड र हिमाल तीनै प्रदेशका प्रतिनिधि पात्रहरुको संयोगात्मक चरित्रले मुलुकभित्रको यथास्थिति उपन्यासमा पस्किइएका छन् । उपन्यास युग सुहाउँदो चरित्रहरुलाई अबलम्वन गरेरै मुलुकका नव सन्ततिहरुले शिक्षाप्रद मार्ग र विषयलाई अंगीकार गरुन् भन्ने उद्देश्यले उपन्यास सिर्जना गरिएका छन् । परिवर्तन र विकासका नाममा माटो नसुहाउँदो र अपारम्पारिक सामाजिक र धार्मिक प्रचलनलाई अबलम्वन गर्नु भनेको संकट निम्त्याउनु नै हो भन्ने पनि पर्वतमान जस्ता पात्रका हठवादी चरित्रले प्रष्ट्याएको छ ।
सामाजिक उपन्यासको रुपमा आएको यो कृति वर्तमान समयको तीव्र परिवर्तनशील मानसिकताको दृश्य हो । धर्म परिवर्तनको बढ्दो लहर, बन्द हड्तालको संस्कृति, वैदेशिक रोजगारीप्रतिको आकर्षण तथा बाध्यता, वेरोजगार युवावर्गमा बढेको दुव्र्यसन, मानव तस्करी, शहरमुखी मानसिकता, घरजग्गाको कारोबार, राजनीतिमा पदलोलुपता, संयुक्त परिवारप्रतिको वितृष्णा, कमिशनतन्त्रको विसंगती, सपना बाँड्ने कु–संस्कृति, एक्लोपनको दुरुपयोग जस्ता आजका आम प्रवृत्तिहरुको चित्रण यस उपन्यासमा भएको छ । यी बाहेक गर्भपतन, छोरीलाई अंश सम्बन्धी कानूनी अधिकार एवम् सरकारी सेवा प्रवेशमा आरक्षणको प्रावधानको आलोचनात्मक दृष्टिकोण समेत प्रस्तुत भएको छ । सामाजिक क्रान्तिका नाममा रातारात हुने परिवर्तनहरु एकता र समृद्धिका लागि मात्रै छैनन् विकृति र विखण्डनका लागि पनि त्यतिकै जिम्मेवार छन् भन्ने यथार्थ उपन्यासमा देखाइएको छ ।
उपन्यासले धर्म परिवर्तन, आस्था, विश्वास अनि आदर्शको विघटन प्रवृत्ति उजागर गरेको छ । यस उपन्यासले तराई, पहाड, हिमाल र सीमाना वारी अनि पारीसमेतको नेपाली भाषा, संस्कृति र ऐतिहासिक परम्पराको बिरासतलाई अनेकता भित्रको एकताका रुपमा मजबुद बनाउने ध्येय समेत राखेको देखिन्छ ।
मुलुकभित्र उपन्यासमाथि महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका स्नातकोत्तर तहका तीन जना विद्यार्थीहरु नवीनकुमारी खनाल, पूनम अधिकारी र प्रेमकुमारी अधिकारीले शोधपत्र सम्पन्न गरेका छन् । शोधार्थीहरुद्वारा प्रस्तुत उपन्यास, शैलीका आधारमा वर्णनात्मक, आत्मकथात्मक, पत्रात्मक, डायरी । विचार र प्रवृत्तिका आधारमा आदर्शवादी, सामाजिक यथार्थवादी, स्वच्छन्दतावादी, समाजवादी, आलोचनात्मक, अस्तित्ववादी, मनोविश्लेषणवादी, प्रयोगवादी, मिथकीय र चरित्र प्रधान आदि रहेको उल्लेख गरेका छन् । त्यस्तैगरी मेची बहुमुखी क्याम्पस भद्रपुरका स्नातकोत्तर तहका विद्यार्थी विष्णु राई साम्पाङ्गले इलामेका तीन कृतिहरुमाथी शोधपत्र सम्पन्न गरेका छन् । शोध गरिएका तीन कृतिहरु नदीका दुई किनार कविता संग्रह, बैंशको फूल खण्डकाव्य (झ्याउरे छन्द) र विलापलहरी खण्डकाव्य (सार्दुल बिक्रिडित छन्द) रहेका छन् ।
यस उपन्यास सिर्जना गनुका प्रेरणाः काव्यबाट मात्र मनका भावना अभिव्यक्त गर्न नसकिने र उपन्यासमा चाहिँ जीवनको शुरुदेखि अन्त्यकालसम्मका जीवनगाथा भन्न सकिने, समाज र राष्ट्रका विषयवस्तुहरु समेट्न सकिने, समाज, मुलुकको चित्रहरु समेट्न सकिने भएकाले पनि उपन्यास लेख्न प्रेरित भएको उपन्यासकार डि.बी. इलामे व्यक्त गर्दछन् । उपन्यास बाल, युवा, प्रौढ, ज्येष्ठ सबैले अध्ययन गर्न मिल्ने हेतुले सिर्जना गरिएको बताउँछन् इलामे ।
उपन्यास एउटा पारिवारिक कथा भएता पनि सिंगो देशकै विषय समेटिएका छन् । अनि विदेश गएकाहरु के–कस्ता अवस्थाबाट गुज्रन्छन् ? पश्चिमा सभ्यताले हामीलाई कति गाँजेको छ ? जसले नेपाली चलनलाई कहाँ पु¥याउने हो भन्ने चिन्तन छन् । उपन्यास मुलुकका लागि शिक्षामूलक छ, राष्ट्र प्रेमले भरिएको छ, देशकालको कुरा कुँदिएका छन् । मुख्यपात्र इलामका भएपनि उपन्यासका पात्रहरुले तराई, पहाड र हिमालका प्रतिनिधित्व गर्दछन् । भारतसम्म पनि पुगेका पात्रहरुले भारतका बासिन्दाहरुसँग घुलमिल भएर कसरी मिलेर बसेका छन् भन्ने चित्रण गरेको छ उपन्यासले । उपन्यास आञ्चलिक र वैश्वीकतासँग पनि सम्बन्धित छ ।
जीवनको लामो समयसम्म इलाम बसोबास गरेका उपन्यासकार इलामे हाल बिर्तामोड नगरपालिका वडा नंं. १ जगतबस्ती दुर्गा पाञ्चायन टोल बसोबासी रहेका छन् । उनी २०३० सालदेखि नेपालको निजामति सेवामा प्रवेश गरी २०५७ मा जिल्ला कारागार प्रमुख पदबाट अवकाश भई अवकाश जीवन व्यतित् गरिरहेका छन् । विभिन्न संघ–संस्थाबाट पुरस्कृत तथा सम्मानित इलामे विभिन्न संघ–संस्थामा आबद्ध रही समाजसेवा गरिरहेका छन् । साहित्य अध्ययन तथा लेखनमा रुची राख्ने इलामेमा अर्को छुट्टै गुण, एक पारङ्गत ज्योतिष ज्ञान रहेको छ । चिना बनाउने, चिना हेर्ने काममा समेत निकै सिपालु पाइन्छन् ।
इलामेका यसअघि नदीका दुई किनार (कविता संग्रह), बैंशको फूल (खण्डकाव्य), बिलाप लहरी (खण्डकाव्य), चार्म अफ् ब्यूटी (अग्रेजी कविता संग्रह), आखिर जिन्दगी (उपन्यास) कृतिहरु प्रकाशित भइसकेका छन् । मधुपर्क लगायत विभिन्न प्रकाशनहरुमा फुटकर रचनाहरु पनि विभिन्न अवसरमा प्रकाशित हुने गरेका छन् । प्रकाशोन्मुख कृति, कथा व्यथा शीर्षकको पद्य कविता संग्रह रहेको छ ।
व्यक्ति, परिवार र समाजका सदस्यको कर्तव्य परायण्ता, धर्म संस्कृति र संस्कारका सच्चा अनुयायी, मिलनसारिता, शुद्ध आचरण, दानशिलता, राष्ट्रप्रतिको माया आदिको भावना जागृत गराउने सरल भाषामा लेखिएको उपन्यासकार डि.बी. इलामेको सिर्जना, निरमाया वस्नेतद्वारा प्रकाशित चिटिक्क बान्कीको उपन्यास ‘मुलुक भित्र’ अवश्य पढौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here