झापाको शनिश्चरे– खुदुनाबारी सडक अलपत्र: निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

0
447

झापा, दुई वर्षमा निर्माण गर्नुपर्ने सर्तमा २०७५ असारमा ठेक्का सम्झौता भएको सुगम झापाको एउटा सडक हालसम्म निर्माण पूरा भएको छैन । ठेकेदार संस्थाको लापरवाहीका कारण यो सडक निर्माण हुन नसकेको हो । सडक निर्माण नहुँदा शनिश्चरे९खुदुनाबारी हुँदै इलामसम्म जाने यात्रु पीडित भएका छन् ।

सडक आसपासमा घर हुने स्थानीय त धुलोका कारण झनै समस्यामा छन् । २०७५ असार २७ गते शनिश्चरेदेखि खुदुनाबारीसम्मको साढे ७ किलोमिटर सडक कालोपत्रे गर्न ‘डि कञ्चनजंघा–शेर्पा–कञ्चानजंघा’ जेभीले ठेक्का लिएको थियो । शुरुवातको समयमा सडक निर्माणको काम द्रूत गतिले भए पनि सम्बन्धित निकायले समयमा रकम निकासा नगरेको भन्दै ठेकेदार संस्थाले काम रोकेको थियो । शुरुमा ‘र्याप थ्री’ नामको दातासंस्थाले सडक निर्माण गर्न ठेक्का आह्वान गरेको थियो । पछि उसले कार्यक्रम ‘फेज आउट’ भएको भन्दै हात झिक्यो । त्यसपछि प्रदेश सरकारको सडक पुर्वाधार तथा शहरी विकास मन्त्रालयले सो सडक बनाउने जिम्मा लियो । मन्त्रालयले समयमा रकम निकासा गर्न आनाकानी गर्दा समयमा सडक निर्माण गर्न नसकिएको ठेकेदार संस्थाको दावी छ ।

९ करोड १० लाख ६ हजार ९५५ रुपैंयाँमा २०७८ असार २६ गते सम्पन्न गर्नुपर्ने गरी सडक निर्माणका लागि ठेक्का लागेको थियो । काम सम्पन्न गरेपछि रकम निकासा हुने सम्झौता अनुसार ठेकेदार संस्थाले ७ करोड १० लाख ८० हजार रुपैंयाँ लगेको पूर्वाधार विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । गुणस्तरीय नभए पनि समयमा रकम निकासा नभएको भन्दै काम बन्द गर्दा त्यो बाटोहुँदै यात्रा गर्ने यात्रु र स्थानीय पीडित बनेका हुन् । यतिबेला कालोपत्रे गरेको सडकसमेत भत्किन थालेको छ ।

‘समयमा काम सक्न हामीले पत्र काट्यौं, फोन गर्यौं, पत्रिकामा सूचना समेत प्रकाशन गर्यौं, झापास्थित पूर्वाधार विकास कार्यालयका इञ्जिनियर सुरेसकुमार मण्डलले भने, ‘अब यि तीनवटै निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गर्नका लागि सिफारिस गर्नुको हामीसँग बिकल्प छैन ।’ निर्माणको जिम्मा लिएको शेर्पा कन्स्ट्रक्सनले अटेर गरेको आरोप उनको छ । काम सम्पन्न भएको तीन दिनमा भुक्तानी दिन्छौं भन्दा पनि ठेकेदार कम्पनी शेर्पा कन्स्ट्रक्सनका फुर्तेम्बा शेर्पाले अटेर गरेको आरोप मण्डलले लगाएका छन् । निर्माण कम्पनीले यतिबेला सडकका लागि आवश्यक संरचना निर्माण गरिसकेको छ ।

अब लगभग साढे १ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको स्थानीयले बताएका छन् । तर, ठेकेदार संस्थाको उदासिनताले त्यो पूरा हुन नसकेको हो । यो सडक पूरा भएको अवस्थामा झापादेखि इलाम जानका लागि चारआली९इलामभन्दा आधा नै कम्ती दूरी पर्ने बताइएको छ । शेर्पा कन्स्ट्रक्सनका फुर्तेम्बा शेर्पा भने सम्पर्कमा आउन चाहेनन् । न्यूज सञ्जाल -https://newssanjal.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here