घाइते बिद्यार्थीको उपचारको माग

0
591

बिर्तामोड, झापाको बिर्तामोड–१० स्थित विराट आधारभूत विद्यालयका घाइते विद्यार्थीको सहज र सुनिश्चित उपचारको व्यवस्था गरिदिन पीडित अभिभावकले माग गरेका छन् ।
विद्यालयमा एक तला माथिबाट लडेर घाइते भएका बिर्तामोड –९ का प्रदीप राजवंशीको उपचारमा समस्या देखिएपछि पीडित बालकका अभिभावकले यस्तो माग गरेका हुन् । सो बिद्यालयमा कक्षा–७मा अध्ययनरत् राजवंशी गत जेठ १४ गते नवनिर्मित भवनको एक तलामाथिको झ्यालबाट भूइँमा झरेर घाइते भएका थिए । टिफिनको समयमा ग्रील नभएको झ्यालबाट अचानक खसेर उनको दुवै खुट्टा र एउटा हात भाँचिएको थियो ।
बिर्तामोडको मनमोहन अस्पतालमा उपचाररत उनलाई चार दिनको उपचारपश्चात् घर फर्काइएको उनकी हजुरआमा सेरना राजवंशीले बताइन् । उपचारपछि घरमा ल्याइए पनि ३÷३ दिनमा ड्रेसिङका लागि अस्पताल लैजानुपर्ने र त्यसका लागि अस्पताल लैजाँदा फाइल ल्याउनु भन्दै डाक्टरले ड्रेसिङ गर्न नमानेको प्रदीपको सानीआमा तारा राजवंशीले बताइन् । पछि मुस्किलले मात्र उपचार गरिदिएको र त्यसका लागि २ हजार ४ सय खर्च आफैंले तिरेको उनले बताइन् ।
हालसम्म लागेको १ लाख २० हजारमध्ये ६८ हजार रुपैयाँ मात्र बिद्यालयले भुक्तानी गरेको र अरु बाँकी रहेकाले पनि सो समस्या आएको उनले बताइन् । उनीहरुले अप्रेशन गरी स्टील राखिएको र त्यसलाई निकाल्न थप एक लाख बढी खर्च लाग्ने डाक्टरले बताएको र कमजोर आर्थिक अवस्थाका कारण आफूहरुले सो खर्च व्यहोर्न नसक्ने भएकाले विद्यालयले नै उपचारको व्यवस्था मिलाइदिनुपर्ने उनीहरुको माग छ ।
यता वडाध्यक्ष हरि चौलागाँईलाई समस्याबारे जानकारी गराए पनि उनी नआएको पीडित अभिभावकले गुनासो गरेका छन् । आफूहरुले पनि ३० हजारभन्दा बढी खर्च गरिसकेको उनीहरुको भनाइ छ । विद्यालय व्यवस्थापन समिति सदस्य तथा स्थानीय अभिभावक खेम चुडाल र अर्जुन उप्रेतीले विद्यालयका हाताभित्रको घटना भएकाले सम्पूर्ण उपचारको जिम्मा विद्यालय प्रशासनले लिई बिद्यार्थीको उपचारको सहज व्यवस्था मिलाइदिन आग्रह गरे ।
पहिलेको निर्णय अनुसार उपचार खर्च विद्यालयले गरेको र बाँकी उपचार खर्चको सुनिश्चितताकाबारेमा पनि छलफल गरेर निर्णय गरिने विद्यालयका निमित्त प्रधानाध्यापक भद्रकला प्रसाईले बताइन् । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण विमलीले नगरपालिका, वडा, अभिभावक सबैसँग समन्वय गरेर सबैको सहयोग लिएर अघि बढ्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here