पैगम्बर मोहम्मदबारे पुटिनको पुरानो भनाइ भारतमा भाइरल

0
363

पैगम्बर मोहम्मदबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेका एउटा पुरानो टिप्पणी अहिले भारतमा बिनाप्रसङ्ग इन्टरनेटका सामाजिक सञ्जालहरूमा चर्चित अर्थात् भाइरल भएको छ।

रुसको सरकारी समाचार संस्था तासका अनुसार पुटिनले सन् २०२१को डिसेम्बर २३ मा वर्षेनि गरिने एक पत्रकार सम्मेलनका क्रममा पैगम्बरको अपमान “इस्लाम धर्म मान्ने मानिसहरूको पवित्र आस्थाको उल्लङ्घन र धार्मिक स्वतन्त्रताको उल्लङ्घन” भएको बताएका थिए।

तर सामाजिक सञ्जालका प्रयोगकर्ता र प्रतिपक्ष दल भारतीय कंग्रेसका नेताहरूले पनि यो पुरानो भनाइ अहिले भारतकै सन्दर्भमा बोलिएको भन्ने अर्थ लगाउने गरी पुनः सम्प्रेषण गरिरहेका देखिएको छ।

उनीहरूले सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टीका नेताहरूको आलोचना गर्दै पुटिनको भनाइ आएको दाबी सामाजिक सञ्जालमा गरेका छन्।

यस्तो भ्रामक पोस्ट भारतको दक्षिणी राज्य तमिलनाडुका एक जना कंग्रेस नेता र युएईको राजपरिवारका सदस्यले पनि रिट्विट (ट्विटरमा शेअर) गरेका छन्। यस्तो पोस्ट ७,००० भन्दा बढी पटक रिट्विट भएको छ।

सत्तारूढ भारतीय जनता पार्टीका दुई जना वरिष्ठ नेताहरूले पैगम्बर मोहम्मदका विषयमा हालै गरेको टिप्पणीले भारतको अल्पसङ्ख्यक मुस्लिम समुदायलाई आक्रोशित बनाएको छ।

भारतका कतिपय राज्यमा त्यस विषयलाई लिएर प्रदर्शनहरू समेत भएका छन्।

भाजपा नेताको टिप्पणीले ठूलो कूटनीतिक विवाद समेत उत्पन्न भएको छ र एसिया, अफ्रिका र मध्यपूर्वका दर्जनौँ इस्लामिक देशहरूले यसबारे आपत्ति जनाएका छन्।

भाजपा नेताहरूको भनाइले भारतमा बढ्दो राजनीतिक ध्रुवीकरणलाई पुनः एक पटक सतहमा ल्याएको छ।

सन् २०१४ मा भारतको सत्तामा भाजपा आएपछि घृणा फैलाउने खालेका अभिव्यक्ति र मुस्लिमहरूमाथिका आक्रमण बढेका छन्।

पुटिनले के सन्दर्भमा बोलेका थिए

तर पैगम्बर मोहम्मदबारेको टिप्पणीपछि भारतमा सुरु भएको विवादबारे हालसालै रुसी राष्ट्रपति पुटिनले न केही बोलेका छन् न कुनै वक्तव्य नै जारी गरेका छन्।

सन् २०२१ मा उनले राखेको भनाई भारतमा भइरहेको विवादसँग कहीँ कतै जोडिएको पनि थिएन। तर भारत र मध्यपूर्वमा धेरैले पुटिनले भारतको विषयमा प्रतिक्रिया दिएको दाबी गरिरहेका छन्।

पुटिनले २०२१मा वार्षिक पत्रकार सम्मेलनका क्रममा पैगम्बर मोहम्मदको प्रसङ्गमा पनि बोलेका थिए। उनले पेरिसको शार्लि एब्डोमाथिको आक्रमणको उदाहरण दिँदै पैगम्बरको अपमान हुने कामबाट धार्मिक अतिवादी समूहहरू उदाउने सम्भावना रहने बताएका थिए।

पुटिन र सलमान

तस्बिर स्रोत,ALEXANDER ZEMLIANICHENKO/POOL/AFP

अहिले फैलिएका भ्रामक पोस्टहरूमा पुटिन र साउदी अरबका राजा सलमान बिन अब्दुल्लअजिज अल साउदसँगै रहेको तस्बिरको तल पट्टी पुटिनको भनाई राखिएको छ।

बीबीसीले गरेको ‘रिभर्स इमेज सर्च’ मा उक्त तस्बिर सन् २०१९ को भएको देखिन्छ। त्यति बेला रुसी राष्ट्रपति पुटिनले साउदी अरबको भ्रमण गरेका थिए। र यो तस्बिरसँग पैगम्बरबारे पुटिनको भनाइको कुनै सम्बन्ध थिएन।

भारतमा जारी विवाद के हो

भाजपाकी प्रवक्ता नूपुर शर्माले दुई साता अघि एक टेलिभिजन बहसका क्रममा पैगम्बर मोहम्मदबारे विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।

जसले भारतीय मुस्लिमहरूलाई क्रुद्ध बनायो र युएई, इन्डोनेसिया, इराक, माल्दिभ्स, जोर्डन, लिबिया र बहराइन सहित एक दर्जन इस्लामिक राष्ट्रहरूलाई पनि आक्रोशित बनायो।

भाजपा नेतृको अभिव्यक्तिपछि कुवेत, इरान र कतारले भारतीय राजदूतलाई बोलाएर कूटनीतिक नोट दिए भने साउदी अरबले कडा शब्दमा वक्तव्य जारी गर्‍यो।

भारतीय कूटनीतिज्ञहरूले भने उक्त भनाइले भारतीय सरकारको अडान प्रतिबिम्बित नगर्ने बताउँदै आएका छन्।

आइतवार भाजपाले शर्मालाई पार्टीबाट निलम्बन गर्‍यो। ट्विटरमा आपत्तिजनक टिप्पणी शेअर गरेका पार्टीको दिल्ली मिडिया युनिटका प्रमुख नवीन कुमार जिन्दललाई पनि पार्टीबाट निष्कासन गरिएको छ।

आफू निलम्बनमा परेपछि शर्माले आफूले “बिना सर्त” यसअघिको भनाइ फिर्ता लिएको सामाजिक सञ्जालमा लेखेकी थिइन्।

तर उनले “हिन्दु भगवान् शिवको निरन्तर अपमान” गरेको प्रतिक्रिया स्वरूप आफूले उक्त अभिव्यक्ति दिएको भन्दै त्यसको औचित्य पुष्टि गर्ने प्रयास गरेकी छिन्।bbc/nepali

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here