आयात घटाउने र निर्यात बढाउने उपाय

३० जेष्ठ २०७९, सोमबार मा प्रकाशित

नेपाल लिच्छविकाललाई छोडेर सदैव परनिर्भर भएकाले आर्थिकरूपमा बलियो बन्न सकेको छैन । विदेशी मुद्रा सञ्चिति तबसम्म उत्साहप्रद हुँदैन, जबसम्म आयात प्रतिस्थापन गरी निर्यातलाई बढावा दिन सकिँदैन । हरेक वर्ष बजेट भाषण हुँदा यो विषयवस्तु जोडदार रूपमा उठ्ने गर्छ । तर, केही समयपछि बिस्तारै चर्चा सेलाउन थाल्छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा नेपालले विभिन्न देशबाट १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख एक हजार रुपैयाँको वस्तु आयात गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालको आयात ३१.९७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँको वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले कूल एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ६९.४४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले मात्र ९४ अर्ब ७६ करोड ७१ लाख १० हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । वास्तवमा निर्यात वृद्धि र आयात कटौती अल्पकालीन योजनाको कुरा होइन, यो त दीर्घकालीन योजना बनाएर सो योजना कार्यान्वयनमा सम्बन्धित सबै पक्ष दत्तचित्त भएर लागेमा मात्र यो सम्भव छ । भारत, बंगलादेश लगायत दक्षिण एसियाली देशहरू, अमेरिका, जर्मनी तथा अन्य युरोपेली देशमा निकासी वृद्धि गर्न सकेसम्म नै व्यापार घाटा कम गर्न सकिन्छ । गलैँचा, पेयपदार्थ, टेक्सटायल, चिया, प्लाष्टिक जस्ता वस्तु निकासीमा थप पहल नगरी परिमाणात्मक वृद्धि हुन सक्दैन र त्यसो नगरी निकासी व्यापार वृद्धि पनि हुन सक्दैन ।

विदेशस्थित कूटनीतिक नियोग तथा राजदूतावासले वास्तविकरूपले आर्थिक कूटनीतिक गतिविधि बढाउन पहल गर्न सकेमा व्यापार घाटा न्यून हुनसक्छ । चकलेट, चुइगम, इनर्जी ड्रिंक, चुरोट, अत्तर, श्रृंगारका सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर, सुपारी, केराउ, केरा, छोकडा, सबै प्रकारका घडी, सजावटका सामग्री, डेकोरेसनका सामान, डेरी प्रडक्ट, सबै प्रकारका फूल, जनावरका दाना लगायत वस्तुमा पनि कडाइ गर्न आवश्यक छ । साथै विदेशबाट अनियन्त्रित रूपमा भित्रने महँगा सामानको नियन्त्रण, भन्सार ठगीमा रोक तथा अवैध व्यापार एवमु आयातमा नियन्त्रण गर्न सकियो भने व्यापार घाटा न्यूनीकरणमा बल पुग्न जान्छ । सरकारले वैदेशिक व्यापारमा पारबहनको खर्च न्यूनीकरण उपाय अवलम्बन गर्न सके नेपालको पारबहनमा सहजता आउनेछ ।

अर्को कुरा, स्वदेशभित्रै पर्याप्त बिजुलीको सम्भावना र उत्पादन हुने बिजुली समेत खेर जाने भन्दै चिन्ता प्रकट भइरहेको बेला विद्युत निर्यात कार्ययोजना बनाउन जरुरी छ र यसमा केही काम भइसकेको पनि छ । आम नेपालीलाई विद्युतको सहज उपलब्धता र बढी भएको बिजुली निर्यातका योजना कार्यान्वयन गर्न आवश्यक छ । यसले नेपालको बढ्दो आयात निर्यात असन्तुलन पनि घटाउने छ । विद्युतबाट सञ्चालित सार्वजनिक यातायातका सवारीसाधनहरूको लागि देशका विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण गर्न आवश्यक छ ।

पेट्रोलियम पदार्थको उपयोग घटाउनका लागि कृषि र उद्योगमा उपयोग भइरहेका पेट्रोलियम पदार्थमा आधारित उपकरणहरूलाई विद्युतीय उपकरणहरू मार्फत प्रतिस्थापन गर्न त्यस्ता साधनको भन्सार महशुल पुनरावलोकन गर्ने, धेरै दाउरा तथा कोइला प्रयोग हुने इँटा तथा सिमेन्ट उद्योगमा विद्युतीय प्रणाली उपयोगलाई प्रोत्साहित गर्ने तथा बढी विद्युत् खपत गर्ने विद्युतीय घरायसी उपकरणको आयात नियन्त्रण गर्ने तथा कम विद्युत् खपत गर्ने उपकरणहरूको उत्पादन वृद्धिलाई प्रोत्साहन दिनुपर्छ । स्वदेशमै विद्युत् खपत बढाउने र इन्धनको आयात घटाउने उद्देश्यसहित व्यापार घाटा न्यूनीकरण सम्बन्धी तयार गरेको राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याउन जरुरी छ ।

व्यापार घाटा न्यूनीकरण गर्न आन्तरिक विद्युत् खपत वृद्धिका लागि निजी क्षेत्रका उद्योगमा विद्युत् सहज बनाउनेदेखि विद्युतीय सार्वजनिक यातायातसम्मको व्यवस्थापन मार्फत विद्युत् खपत वृद्धिको योजना बनाइएको छ । नेपालमा हरेक वर्ष व्यापार घाटा बढ्दो छ । एक दशककै बीचमा नेपालको व्यापार घाटा १३ गुणाले गुणाले बढेको छ । नेपालभित्रै उत्पादन गर्न सकिने वस्तु तथा सेवामा पनि परनिर्भरता बढ्दै गएको छ । व्यापार घाटा कम गर्न कि त आयात प्रतिस्थापन गर्नुपर्ने हुन्छ कि देशको निर्यात बढाउनुपर्ने हुन्छ । तर, पाँच वर्षयता उद्योगको वृद्धिदर तीन प्रतिशतभन्दा कम छ । न्यून उत्पादन, दैेनिक उपभोगदेखि विलासितासम्मका वस्तु र रेमिट्यान्सले बढाएको उपभोगका कारण व्यापार घाटा चुलिँदै गएको छ ।

उदारीकरण भन्दैमा गुणस्तरहीन विदेशी वस्तुमा रमाई देशमा अन्धाधुन्ध आयात दिन दुई गुणा रात चौगुणा जस्तो विदेशी वस्तुहरू आयात भइरहेका कारण नेपालको व्यापार घाटा बढ्दै गएको हो । यस्तै स्वदेशी वस्तुका लागि चाहिने कच्चापदार्थको देशमा अभाव हुनु, बढी मूल्य अभिवृद्धि हुने वस्तुका विदेशमा खोज नभएको, वस्तु गुणस्तर तथा प्रमाणीकरणको अभाव र अरू यस्तै थुप्रै कारणले नेपालको व्यापार घाटा बढेर गएको छ । साँच्चै भन्ने हो भने नेपाल त भारत र चीनमा निर्मित वस्तुहरूका बजार बन्दै आएको छ । नेपालबाट मुख्यतया भटमास तेल, ऊनी धागो, पाम तेल, फलाम, गलैँचा, कफी तथा चिया, तयारी पोशाक, पोलिस्टर धागो, अलैँची लगायत निर्यात हुँदै आएको छ ।

नेपालले गुणस्तरीय वस्तुहरू उत्पादन गर्न सके विदेशमा माग हुने निश्चित छ । नेपालमा पेट्रोलियम पदार्थ, इलेक्ट्रोनिक्स, अटोमोबाइल, गरगहना, कस्मेटिक लगायतको आयात दू्रतरूपमा बढेको पाइन्छ । आयात घटाउन नसके नेपालको अर्थतन्त्रमा थप चुनौति थपिने निश्चित छ । मौद्रिक नीतिको नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंकले समस्यामा पर्दै गएको मुलुकको अर्थतन्त्रलाई जोगाउन बैंक ब्याजदरको वृद्धि, सुनको आयात कटौती, विदेशी मुद्राको निक्षेप प्रोत्साहन, वैदेशिक सहायता परिचालन लगायतका नीतिगत व्यवस्थाहरू अवलम्बन गरेको छ । तरलताको चाप, उच्च व्यापार घाटा, विप्रेषण आप्रवाह उल्लेख्य मात्रामा बढ्न नसकेका कारण अर्थतन्त्रमा चुनौति देखिएको नेपाल राष्ट्र बैंकको ठहर छ ।

नेपालमा योजना कार्यान्वयनको कुरा दीर्घकालीन समस्या हो । निजी क्षेत्रको क्षमता विकास र सार्वजनिक खरिद ऐन परिमार्जित गर्ने विषय महत्वपूर्ण हुन् । बजेट आएको बेलामा हरेक वर्ष त्यसबेलाको सरकारलाई टीका–टिप्पणी गर्ने, विकास बजेट खर्च भएन भन्नु सामान्य हो । तर, विकास बजेट खर्च हुन नसक्नुको कारण भित्रैदेखि अध्ययन गर्न जरुरी छ । कुनै पनि आयोजना नेपालमा समयमै सम्पन्न नहुने समस्या छ । यसमा कसरी सुधार गर्ने भनेर हेर्न जरुरी छ । जबसम्म विकास खर्च हुँदैन, कर तिर्नेले पनि किन तिर्ने भनेर हीनताबोध हुँदै जान्छ । करदाताहरूलाई उत्साहित गर्न, करको दायरा बढाउन विकास खर्च बढाउनुपर्छ ।

आयातको हिस्सा ठूलो र निर्यातको हिस्सा निकै सानो भएकाले विदेशी मुद्राको चाप परेर वस्तु आयात गर्न विदेशी विनिमय सञ्चिति घटे पनि नेपाल राष्ट्र बैंकले बिलासिताका वस्तु आयातमा कडाइ गरेको हो । बिलासी वस्तु र सुन आयात गर्दा डलर विदेसिने भएपछि कटौती गरेको हो । नेपाली बजारमा अवैध रूपमा सुन आयात भइरहेको अवस्थामा कोटा घटाएपछि गैरकानूनी रूपमा सुन आयात बढ्न सक्ने अनुमान छ ।

धेरै नेपालीले खासै नाम पनि नसुनेको हुन सक्ने देश, खासै सरोकार पनि नराखेको देश युक्रेनबाट नेपालले दैनिक अत्यावश्यक हुने तोरीको तेल आयात गर्दै आएको छ । अझ रोचक त के भने धनियाँसमेत नेपालमा युक्रेनबाट आइरहेको हो । रूस–युक्रेनको तनावले आयात निर्यातको सन्तुलन खल्बलिएको छ । संसारै त्यसको प्रत्यक्ष असर भोगिरहेको छ । पेट्रोलियम पदार्थको भाउ अकासिएको त्यही युद्धले हो । पेट्रोलको भाउ बढ्दा यातायातका साधनको भाडा बढ्ने र ढुवानी लागत महँगो पर्नेलगायत ‘चेन इफेक्ट’ (श्रृंखला प्रभाव) पर्दा महँगी बढेको हो ।

आयातको यो अत्यासलाग्दो अवस्था, परनिर्भरताको हदबाट पाठ सिक्दै मुलुकलाई कृषिजन्य थुप्रै वस्तुहरूमा आत्मनिर्भर नबनाई धरै छैन । कृषिमा व्यवसायीकरण, बाँझो जमिनको सदुपयोग, कृषिमा यान्त्रिकीकरण लगायत केवल भाषण र नारामा मात्रै सीमित गर्न हुँदैन । आन्तरिक उत्पादनलाई प्रबद्र्धन एवम् औद्योगिकीकरणमा जोड दिन आवश्यक छ । हाम्रो कृषि भूमि जस्तै हाम्रो अर्थतन्त्र पनि बाँझो पल्टिन समय धेरै लाग्दैन । मुलुकलाई सम्पन्न र समृद्ध बनाउन आयात कटौती र निर्यात वृद्धिका योजना बनाई सम्पूर्ण नेपालीको साथ लिएर योजना कार्यान्वयनमा लाग्न ढिला गर्न हुँदैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here