सन्थाली संस्कृतिमा एकरुपता ल्याइने

0
294

बिनोद पाण्डे,
रतुवामाई(मोरङ)।

रिलोमाला सन्थाली आख्डा नेपालको आयोजना र नेपाल सन्थाल आदिवासी उत्थान संघ रतुवामाई नगर एकाई समितिको सहकार्यमा मोरङको रतुवामाई–७, भौडाहमा एकदिने अन्तर्राष्ट्रिय सन्थाली मज्ही पारगाना सम्मेलन सम्पन्न भएको छ ।

‘सम्पूर्ण मज्ही पारगाना एकजुट बनौं, सन्थाली भाषा लिपिको संरक्षण गरौं’ भन्ने नारा सम्मेलनको रहेको थियो । सन्थाल जातिमा भाषा, संस्कृति, परम्परागत सामाजिक रितीरिवाजमा आएको विचलनलाई सुधारेर एकरुपता बनाउनुपर्ने उद्देश्यले नेपाल–भारतका सन्थाली समुदायका अगुवाबीच सम्मेलन भएकोे थियो । शनिबार दिउँसो २ बजेदेखि शुरु भएको सम्मेलन राति १ बजेसम्म चलेको थियो ।

सम्मेलनमा मुख्य गरेर एउटा विषयलाई प्राथमिकतामा राखेर छलफल गरिएको थियो । छलफलमा मज्ही पारगाना विस्तार (टोल, नगर, जिल्ला समिति) गठन गरेर मात्र आफ्नो भाषा, सस्कृति, रितिरिवाजलाई एकरुपतामा ल्याउन सकिने निष्कर्ष सम्मेलनबाट प्राप्त भएको, अव गाउँ–गाउँमा पारगाना विस्तार कार्यलाई तीब्रता दिने आयोजक संस्था रिलोमाला सन्थाली आख्डा नेपालका अध्यक्ष रिमिल श्यामसुन्दर वेस्राले बताए ।

नेपालमा सन्थाल समुदायबीच आफ्नो पहिचानका सन्दर्भमा देखिएको फरक मत, सन्थाल, संताल र सान्ताडमध्ये एक लेख्ने गरी एकरुपता ल्याउन पनि सम्मेलनमा छलफल भएको वेस्राले बताए । सम्मेलनमा नेपाल भरिका सन्थाल अगुवा र भारतबाट भाषा, संस्कृतिविद्हरुको सहभागिता रहेको थियो ।

सरकारी कामकाजको भाषा तथा कागजातमा ‘सतार’ लेखिँदा आफूहरुमाथि अपमान र अन्याय भएको भन्दै सन्थाल समुदायले आवाज उठाउँदै आएको छ । उक्त शब्दको सट्टामा आफ्नो समुदायलाई बुझाउने शब्द चयनमा एकरुपता गराउन सम्मेलका वक्ताहरुले नेपाल सरकार समक्ष माग गरेका छन् ।

नेपालमा ५१ हजार ७७५ र विश्वमा एक करोडभन्दा बढी संख्यामा सन्थाल आदिवासी रहेको बताइएको छ । नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तानमा मुख्य बसोबास रहेको सन्थाल समुदाय कामको सिलसिलामा अमेरिका, ब्रिटेन, अष्ट्रेलिया, जापान, कोरिया, खाडी मुलुक आदिमा छरिएर रहेको बताइन्छ ।

सन्थाल जातिको भाषा, धर्म संस्कार, संस्कृति, लिपि, वाप्ला, छटियोर, भाण्डान, आगापुजो, शिक्षा, स्वास्थ्य, राजनीतिक स्थिति लगायतका बारेमा पनि सम्मेलनमा छलफल भएको सम्मेलनका सहभागीहरुले बताए ।

के भन्छन् त सहभागी मज्ही हडामहरु

मोरङ रतुवामाई–९ जयनगरका मज्ही हडाम भुत्चुङ बेस्राका भनाइ अनुसार ‘सन्थाल जातिमा जन्म, ब्रतबन्ध, विवाह र मृत्यु संस्कारमा अहिले एक रुपता छैन्, एकरुपता नहुनुको कारण गुरुहरु नहुनु र लिखित मन्त्र, शास्त्र नहुनु हो । विगत ४० बर्षदेखि क्रमशः हाम्रो परम्परामा फरकपन आउन थालेको हो । मृत्यु संस्कार कसैले ६ महिना कसैले बर्ष दिन र कसैले १५ दिनमा गर्ने गरेका छन् । खासमा मृत्यु भएको बारदेखि एक हप्ता छोडेर अर्को बारमा मृत्यु संस्कारको काम गर्नुपर्ने सन्थाली परम्परा हो । नियम अनुसार १५ दिनमै गर्नुपर्छ, अब यही १५ दिनलाई एकरुपता दिनुपर्छ– वेस्राले भने ।

आफ्नै नियम कानूनमा चल्दै आएको सन्थाली संस्कार अहिले आएर मुलुकी ऐनको कारणले पनि केही असहज भएको छ, केही कुरामा भने सहज पनि छ । पहिले गाउँमा भएका सबै सामाजिक मुद्दाहरु गाउँकै पञ्च भलाद्मीले हेर्नु पथ्र्यो, त्यसका लागि गाउँमा मज्ही हडाम (मुखिया), जगमुनी (सुराकी), जग परानिक (अराउने खटन–पटन गर्ने) नाइकी (पुजारी), र गुडित (पिउन) चयन गरिएको हुन्छ, अहिले पनि यसरी पञ्च गठन गर्ने चलन छ, तर मज्ही हडाम मरेपछि उसैका छोरालाई मज्ही हडाम मान्नुपर्ने नियमले गर्दा अज्ञानी पनि मज्ही हडाम बन्दा न्याय सम्पादन राम्रो भएन र सामाजिक वियषमा उनीहरुलाई महत्व दिन छोडिएको छ ।

कुनै समस्या भए प्रहरी, पालिकामा जाने गरिएको छ, त्यस कारणले पनि रितिरिवाजमा विचलन आउनेक्रम शुरु भएको हो । पहिला कुनै युवतीलाई कुनै युवाले मेला, बजारमा मनपराएर छोयो भने त्यसैले लान पाउने चलन थियो । त्यो चलन अहिलेको समयमा सुहाउँदो छैन, कानूनले त्यस्तो गर्न दिँदैन त्यो चलन बन्द भएको छ, यो कार्यमा कानूनले गर्दा राम्रो सहयोग भएको छ– कटहरी–६ केसरिया साख्खा टोलाका हडाम ठाकुर मुर्मूले भने ।

शिक्षाको पहुँचमा पुग्न नसकेका सन्थाल समुदायमा अहिले शिक्षाको ज्योति फैलिँदै गएको छ । लोकतन्त्रमा सबै जातजातिले आफ्नो पहिचान र अस्तित्व खोजी गरिरहेका छन् ।

सन्थाल समुदायमा पनि शिक्षित युवाहरुले राज्यले दिनुपर्ने आफ्नो हक अधिकार, अवसरलाई खोजी र माग गर्न थालेका छन् । अघिल्लो जनगणना अनुसार नेपालमा सन्थालहरुको ५१ हजार ७ सय ७५ जनासंख्या रहेको छ । त्यसमा सरकारी अभिलेखमा समावेश नभएका थुप्रै परिवारहरु रहेका छन् ।

२०२८ सालमा लेखिएको नेपाली शब्दकोषमा सन्थाललाई सतार लेखिएको छ । हामी सतार होइनौं सन्थाल वा सन्ताल हौं शब्दकोषमा लेखिएको कुरा राजपत्रमार्फत सरकारले संशोधन गर्नुपर्छ– मुर्मूले भने । उनले भने– संविधानमा भने सन्थाल लेखिएको छ । त्यो पनि हाम्रो समुदायमा छलफल नै नगरी लेखियो र अहिले सन्थाल र सन्तालमा द्वुविधा भयो । भारतमा सन्ताल लेखिने गरेको छ । शब्दकोषमा सतार लेखिँदा हामीलाई ठेस् पुगेको छ । हराउँदै गएको मज्ही प्रगाना प्रथालाई कायम गर्न जरुरी रहेको झापा अर्जुनधारा–५का सहारा साकोसका कर्मचारी समेत रहेका २८ बर्षे युवा किसन मुर्मूको भनाइ छ ।

हाम्रा अग्रजहरुले तान्त्रिक विधिबाट उपचार गर्ने गर्थे । बिच्छी, सर्पले टोकेमा विष खेलाउने (जडीवुटीबाट उपचार) गर्ने गर्थेे । त्यो विधि र मन्त्र लेख्नु हुँदैन मनमै कण्ठस्थ पार्नुपर्छ भनेर अग्रजहरुले आफ्नो मनमै राखेर मरेर गए, वैदिक परम्परा गर्ने तरिका पनि हराएर गयो । अझै पनि केही गुरु अगुवाहरु रहेका छन् । अब तिनीहरुले गर्दै आएका विधि र मन्त्रलाई लिपिवद्ध गरिनुपर्छ । यसो गरिएन भने केही बर्षमै सन्थाल सभ्यता हराएर जाने झापा कनकाई–८ कल्टुबारीका माझ्ह हडाम बाबुराम मुर्मूले बताए ।

सम्मेलनमा सहभागी झापा गौरीगञ्ज–३की १८ बर्षीया शर्मिला सोरेन र बिर्तामोड–३की बर्ष २३की निर्जला सोरेन भन्छन्– यो सम्मेलनले धेरै कुरा सिकाएको छ । हामीले हाम्रो संस्कृति अनुसार ८० प्रतिशत विधि विधानको बारेमा थाहा पाएकै रहेनछौं, धेरै कुरा थाहा भयो ।

यसैगरी समय समयमा युवापुस्तालाई जानकारी गराउने गरी यस्ता कार्यक्रमहरु ठाउँ–ठाउँमा आयोजना हुनुपर्छ । रिलेमाला सन्थाली आख्डा नेपालका अध्यक्ष रिमिल श्यामशुन्दर बेस्राको सभापतित्वमा आयोजित सम्मेलनको प्रमुख अतिथि प्रदेश १ कृषिमन्त्री झलकसिंह दर्लामी रहेका थिए ।

सम्मेलनमा भारत जाकात माझ्ही प्रगाना प्रमुख बादल किस्कू, नेपालका संविधानसभा सदस्य मोहन टुडू, नेपाल सन्थाल आदिवासी उत्थान संघका अध्यक्ष सुन्दर बेस्रा, भारतबाट आएका डाक्टर नारान टुडू, प्राध्यापक माझान मुर्मू, गोपीनाथ टुडू, सुराय हेमरम, कैलास सोरेन, रवि हेमरमलगायतले धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन शिवु मुर्मू र सुभद्रा किस्कूले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here