प्रक्रिया विपरीत नजाऊ

१ असार २०७९, बुधबार मा प्रकाशित

झापाको अर्जुनधारामा निर्माण भइरहेको फूलबासा खेल मैदान विवादको घेरामा परेको छ । समाज कल्याण उद्धार संघको स्वामित्वमा रहेको फूलमती नदी किनारमा निर्माण भइरहेको सो खेलमैदानमा कमसल निर्माण सामग्री प्रयोगको एउटा विवादको विषय हो भने स्थानीय तथा संघीय सरकारले प्रदान गरेको एक करोडभन्दा बढी रकम कार्यविधि र प्रक्रिया विपरीत भएको जानकारहरुले बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयबाट सो खेल मैदान निर्माणका लागि एक करोडभन्दा बढी रकम लगानी भएको छ । खेल मैदान निर्माण गर्न विस्तृत गुरुयोजना बनाउनुपर्नेमा न स्थानीय सरकारले न त नेपाल सरकार अन्तर्गतको युवा तथा खेलकुद मन्त्रालयले गुरुयोजना बनाएको छ । कार्यविधि नै नबनाई गरिएको खर्चले बेथिति निम्त्याउने तर्फ सम्बद्ध पक्ष गम्भीर हुनुपर्छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट एक स्थानीय तह एक खेल ग्राम नीति अन्तर्गत निर्माण थालिएको खेलकुद स्टेडियमले स्थानीय आवश्यकता पूरा गर्छ नै । तर, कुनै संस्थाको स्वामित्वमा रहेको जग्गा उपभोग गर्ने अधिकार हस्तान्तरण नभई सरकारको लगानी रहनु, त्यो पनि गलत प्रक्रियाबाट र कमसल सामग्रीको प्रयोगले निर्माणकर्ताको नियतमाथि आशंका जन्माउनु स्वभाविक हो । स्थानीयले पनि अहिले घेराबारा भइरहेको खेलमैदानमा दुई नम्बरको इँटाको प्रयोग भइरहेको बताएका छन् । त्यसैगरी भूस्वामित्व रहेको समाज कल्याण उद्धार संघले गरेको खर्च नै अपारदर्शी रहेको उनीहरुको आरोप छ । भू–स्वामित्व हस्तान्तरण नभई संघीय सरकारले कसरी त्यति धेरै लगानी ग¥यो ? निर्माण र निर्माण कार्यको गुणस्तरीयता कस्तो छ त्यसको अनुगमन तथा निरीक्षण समेत नभएको बताइन्छ ।

अर्जुनधारा नगरपालिकाका तर्फबाट वडाध्यक्षले र संघका अध्यक्षले सहमति पत्रमा हस्ताक्षर गरेको तर त्यो नै प्रक्रिया विपरीत रहेको सम्बद्ध व्यक्तिले बताएका छन् । दूरगामी प्रभाव पार्ने विषयमा कार्यपालिकाको बैठकले निर्णय गर्नुपर्ने प्रावधान विपरीत भएको सम्झौता अवैध रहेको स्रोतले दाबी गरेको छ । चालू आर्थिक वर्षमा विनियोजित बीस लाखभन्दा बढी रकम खेलमैदानको घेराबारामा खर्च भइसकेको छ । तर, त्यसमा प्रयोग भएको सामग्री नगरपालिकाका इञ्जिनियरले समेत स्वीकृत नगरेको स्थानीयले दाबी गरेका छन् । कमसल वस्तुको प्रयोगले भोलिका दिन दुर्घटना निम्त्याउन सक्नेतर्फ पनि जिम्मेवार निकायले गम्भीर बन्नुपर्दछ । खेलकुदका गतिविधि सञ्चालन गर्न सुविधासम्पन्न मैदान आवश्यक छ, तर त्यो निर्विवाद र गुणस्तरीय हुनुपर्दछ । त्यसतर्फ अर्जुनधारा नगरपालिकाको नवनिर्वाचित पदाधिकारी समेत सचेत होऊन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here