महिला सुरक्षा ! कसको जिम्मेवारी ?

१ असार २०७९, बुधबार मा प्रकाशित

महिला हिंसा र यौन शोषणको घटनाहरु दिनानुदिन बढ्दै गइरहेको वर्तमान परिपेक्षमा पीडितलाई न्याय दिलाउने, निर्दोषको ज्यान बचाउने र असली दोषीलाई कारवाही गर्ने काम आजको प्रमुख चुनौतिको रुपमा देखिएको छ । जो हिंसाको सिकार हुन्छ, ऊ पीडित या शोसित पक्ष जसद्वारा हिंसा गरिन्छ । ऊ पीडक या शोषक पक्ष । तर, कुनै मुद्दामा षड्यन्त्र गरिएर झुठो आरोपमा फसाइएका निर्दोष आरोपित पनि हुन सक्छन् । तेस्रो पक्ष यी तिनै पक्षको जिउज्यानको सुरक्षाको जिम्मेवारी कसको हातमा छ त !

शान्ति, सुशासन, सुव्यवस्था र विधिको शासन लागू गराउँदै समाज रुपान्तरण र सामाजिक क्रान्तिका लागि एकातिर हामी संघर्ष गरिरहेका छौं । अर्कोतर्फ नाटकीय रुपमा हामीसामु देखा परिरहेका घरेलु हिंसादेखि करणी र नाबालिका बलात्कारको मुद्दामा पीडितको न्यायको लागि तहगत आन्दोलनहरु पनि गरिँदैछ । सर्वत्ररुपमा अपराधीलाई मृत्युदण्ड या फासीसम्मको सजाय माग पनि गरिरहेका छौ भने यौन हिंसाको मुद्दा झनै जटिल र संवेदनशिल बन्दै गएको महशुस गर्न सकिन्छ । जसमा प्रहरी प्रशासन, अधिकारकर्मी, स्थानीयबासी र सम्बन्धित निकाय सबै एकजुट भएर सत्य–तथ्य छानविन गर्ने काम पनि गरिँदैछ ।

तर, यति हँुदाहुँदै पनि असली अपराधीलाई नै कैद, जन्मकैद या भनौं फासीको सजाय हुन सक्छ ? पीडितलाई उचित न्याय, क्षतिपूर्ति र सम्मानको जिन्दगी मिल्न सक्छ ? र झुठो मुद्दामा फसाइएका जो निर्दोष आरोपित छन् उनीहरुको स–सम्मान रिहाई हुन सक्छन् ? यी तीनै विषयमा खासै विस्वस्त र निर्धक्क हुन सक्ने अवस्था भने देखिएको छैन ।

फितलो कानून र शक्तिशालीहरुको बोलबाला चल्ने यो देशमा पीडक भनिएका व्यक्ति अपराधी नभएर झुठो आरोपमा फसाइएका सोझा युवक रहेछन् भने उसको बाच्न पाउने मानवअधिकारको रक्षार्थ कसले बोली दिने त ! हालसम्म निर्मला पन्तको मुद्दासम्म स्पष्टीकरण आउन नसकेको यथार्थता जान्दाजान्दै कानून, सरकार र प्रशासन माथि कति हदसम्म विश्वास गर्न सकिएला त ?
आफ्नै वरपर मात्र यसै महिनामा यौन शोषणका तीन–चार वटा यस्ता घटनाहरु सार्वजनिक भएको पाइयो । जसले समाजका सभ्य, शिक्षित, नेतृत्वकर्ता, समाजसेवी लगायत हरेक जिम्मेवार पक्षको नैतिक र व्यक्तिगत चरीत्र माथि प्रश्नचिन्ह खडा गरिरहेको छ । मुकुन्डो लगाएको अनुहारभित्र मानवको भेषमा दानव छन् । कि दानवको भेषमा मानव !

आज हरेक महिला या छोरी–चेलीको एउटै माग छ– हामीलाई सुरक्षा र हिंसामुक्त वातावरण दिलाइयोस् । महिलामैत्री समाज निर्माण गरियोस् । शिर उठाएर बाच्न दिइयोस् । पुरुष व्यक्तित्व देख्दैमा डराउनुपर्ने, भाग्नुपर्ने, लुक्नुपर्ने र आफ्नो लागि सहाराको खोजीमा लाग्नुपर्ने बाध्यात्मक अवस्था रहेसम्म कसरी जिउन सक्लान् त महिला या बालिका ।

देशको कूल जनसंख्यामा लगभग ५१ प्रतिशतमा रहँदै विश्वको आधा आकाश ढाकेका महिला जनशक्ति , घर–परिवार, समाज र सिङ्गो राष्ट्रको जिम्मेवारी काँधमा बोकेका हामी महिलाहरुमाथि आफ्नो शरीर र आफ्नो अस्मिताको संरक्षण गर्नु आजको झनै ठूलो जिम्मेवारी र चुनौति हुँदै गएको छ ।

हामी महिलाले महिला भएकै कारणले भोगिरहनु परेको असमानता, उत्पीडन, विभेद, पक्षपात, परनिर्भरता, हिंसा र अपमानको उदाहरणीय पात्र तपाईं हामी सबै हौं । प्रत्येक महिला या छोरीचेलीहरुको एउटा अलग्गै, दुःखदायी, हृदय विदारक, मार्मिक कथा छ । घर, परिवार, समाज, समुदाय, संघ–संस्था, समूह, कार्यस्थल, विवाहउत्सव, चाड पर्व या कुनै एउटा यस्तो स्थान नहोला जहाँ महिलाले सुरक्षित, सम्मानित, समान र हिंसामुक्त वातावरणको अनुभव गर्न पाएका छौं ।

कुनै एक महिला अपमानित हुनु, कुनै एक छोरी बलात्कृत हुनु, कुनै एक चेली घरेलु हिंसाको सिकार हुनु, कुनै एक चेलीको किनबेच गरिनु, बोक्सीको आरोपमा कुनै एक महिलालाई कुटपिट गरिनु, छाउपडी र छुवाछुत प्रथाले कुनै एक किशोरीको मृत्यु हुनु, कुनै एक नाबालिक छोरीको जबर्जस्ती विवाह गरिनु, प्रसुती पीडा या प्रजनन् स्वास्थ अभावको कारण एक आमा तथा बच्चाले अकालमै ज्यान गुमाउनु, कुनै एक बिधुवा महिला हेलित हुनु । कुनै एक महिला कर्मचारीमाथि विभेदपूर्ण व्यवहार गरिनु, कुनै एक नारीलाई अधिकार र नीतिनिर्माणको तहमा पुग्न नदिनु, कुनै एक महिलालाई नेतृत्व प्रदान गर्न रोक लगाउनु यी सब कुराले पूरा नारी जनशक्तिलाई असर पर्दछ ।

असर पर्नु पनि पर्दछ । महिला हामी एकै हौं । म, तपाईं या अरु कोही हिंसा र विभेद जो माथि भए पनि यो समस्त महिला ाथिीको हिंसा र विभेद हो, जुन अब मान्य हुने छैन । भन्नको लागि त छोराछोरी बराबरी अरे ! तर, छोरी जन्मँदा आमाबाबुको मन कटक्क दुख्छ नै कता–कता । आखिर जिउँदो हँुदा स्याहार त गर्छन् नै छोरीहरुले, तर मरेपछिको पितृ मुक्तिको काम, काजकिरिया पनि सबै गर्न थालिसके । तर, छोरी जति महान र सक्षम भए पनि छोरी भनेपछि आमाबाबुको मन पोल्छ नै ।

यसको एउटै अर्थ हो । घर–परिवार, समाज, समुदाय या जहाँ त्यही छोरीहरुको असुरक्षा । कतै सुरक्षित छैनन् छोरीचेलीहरु । न त घरमा । न त समाजमा । न त कार्यालयमा । न त परिवारमा । खुलेर बाच्न सक्ने वातावरणसम्म दिइएको छैन छोरीचेलीलाई । जन्मेदेखि मृत्युसम्म, घरदेखि कार्यालयसम्म, चुलाचौकादेखि अधिकारको टेबलसम्म । न त राष्ट्र । न त कानून ! न त समाज । न त परिवार ! कसले दिन सकेको छ छोरीहरुलाई सुरक्षाको ग्यारेन्टी ।

देख्नको लागि त परिवार छ, समाज छ, देश छ, सरकार छ, कानून छ, तर हिंसा पीडित महिलालाई न्याय, सुरक्षा र सम्मानित जीवनको प्रत्याभूति कसले दिन सक्यो र ? आमा, श्रीमती, छोरी, चेलीबेटी हरेक स्वरुपमा छन् महिला । तर, उनीहरुको आँशु र पीडाको आवाज कसैले सुन्न सक्यो र ?

सडकदेखि सदनसम्म महिला हकहित, न्याय, सुरक्षा र समानताका लागि संघर्ष गरिएको त सदियौं भइसक्यो । तर, महिला मुद्दामा सम्बन्धित निकायद्वारा सम्बोधन नै कहाँ भएको छ र ? आफ्न्नै परिवारजन, सहकर्मी, साथी, छिमेकी या आफन्त कै कारण आफूमाथि हिंसा हुन सक्ने भयले छोरीचेलीहरु घरबाट बाहिर निस्कन सकिरहेका छैनन् । तर, महिलाको मनोवैज्ञानिक अवस्थालाई बुझेर महिलामैत्री समाज निर्माणतर्फ कसको ध्यानाकर्षण भएको छ र ?

देशको हरेक घटनाक्रमदेखि इतिहासिक जनआन्दोलनसम्ममा महिलाले राष्ट्रको समृद्धि र सामाजिक क्रान्तिको लागि बलिदान दिएको त इतिहास साक्षी छ । तर, पनि महिला सङ्ग सम्बन्धित बिषयवस्तुहरुको लागि केवल महिलाले मात्र आवाज उठाउनुपर्छ भन्ने कस्तो मानसिकता होला ।

यौन शोषण, महिला हिंसा र बालिका बलात्कार जस्ता घटनामा न कुनै महिलाको मञ्जुरी हुन्छ, न त त्यसको सिकार हुनु उनीहरुको गल्ती नै हो । तर, जे–जस्तो घटना समाजमा घटाइए पनि पुरुष व्यक्तित्वहरु यही समाजमा खुलेआम हिँड्न सकेका छन् । तर, कुनै कसुर बिना पीडित महिलालाई नै शिर झुकाएर अरुको तिरस्कार सहदै अपराधीशैलीमा बाँच्न बाध्य पारिँदैछ यहाँ ।

पक्षपातको अन्त्य, हिंसामुक्त वातावरण निर्माण र समाज रुपान्तरण गर्न पुरुष सहभागिता अपरिहार्य अंग हो । महिला र बालिकाको जीऊ–ज्यान र अस्मिताको संरक्षण गर्नु समाजको हरेक पक्षको जिम्मेवारी हो । महिलामैत्री समाज, समुदाय, कार्यस्थल र परिवार निर्माण गर्नु राष्ट्रको दायित्व हो । भयमुक्त वातावरणमा खुलेर बाँच्न पाउनु महिलाको नैसर्गिक अधिकार हो । यदि महिला सुरक्षाको मुद्दामा महिलाहरुले मात्र आवाज उठाउनुपर्ने हो भने र महिला हकअधिकार एवम् स्वतन्त्रताको लागि केवल महिला अधिकारकर्मीले मात्र आन्दोलन गर्नुपर्ने हो भने महिलाले समाज र परिवारको लागि बलिदान दिएको के अर्थ रह्यो र !

त्यसो त समाज भन्नु नै महिला र पुरुष हो । परिवारको आधा अंश पीडित, अपमानित, डरपोक, शोसित र कमजोर हँुदै गर्दा अर्को आधा हिस्साको स्वतन्त्रता, सफलता र समृद्धि सम्भव छ भन्नु नै असम्भव छ जस्तो लाग्छ । यही नेपाली समाजलाई समृद्ध, उत्तर आधुनिक, प्राविधिक र व्यवस्थित बनाउनमा योगदान त महिलाको पनि उत्तिकै छ । तर, आजसम्म हामिले आफ्नै समाजमा हक, सुरक्षा र समानताको लडाइँ लडिरहनु परेको छ । दोस्रो दर्जाको मानवीय अस्तित्व आखिर कहिलेसम्म स्वीकार गर्ने होला !

राष्ट्रिय स्तरबाट नै यौन शोषण, घरेलु हिंसा, बलात्कार र महिला उत्पीडन रोक्न गतिलो कदम चालिनुपर्ने अहिलेको प्रमुख मुद्दाको रुपमा देखा परेको छ । महिला सुरक्षाको लागि चौतर्फी पहल गरिनु सरकारको पहिलो दाहित्व हो । फेरि त्यस्तो कुकर्म नहोस् भनी पीडक या अपराधीलाई हदैसम्मको सजाय दिनु प्रहरी प्रशासनको जिम्मेवारी हो ।

निधारको रेखा हेरेर अपराधी पत्ता लगाउँछौं भनि ठोकुवा गर्ने सुरक्षा र न्यायिक निकायले निष्पक्ष अनुसन्धान गरेर निर्दोषलाई सजायमुक्त गर्दै स–सम्मान रिहाइ गर्नु न्यायको परिचय दिनु हो । अञ्जानमा हिंसाको सिकार बन्न पुगेका हरेक चेलीबेटीलाई इज्जतका साथ जिउन सक्ने वातावरण बनाउनु समाजको हरेक व्यक्तिको जिम्मेवारी हो । हरेक छोरीलाई पाइँला–पाइँलामा संरक्षण, हौसला र साथ दिँदै उज्ज्वल भविष्यतर्फ डोहो¥याउनु हरेक अभिभावकको कर्तव्य हो ।

यसरी महिला, बालबालिका र चेलीबेटीहरुको अस्तित्व, जिउज्यान र अस्मिताको रक्षार्थ केवल महिलाहरुले मात्र त कहिलेसम्म लडिरहने होला । महिला हिंसा र यौन शोषणका मुद्दाहरु महिलाको मात्र नभएर पुरुष प्रतिनिधि, युवा जमात साथै सिङ्गो समाजको जिम्मेवारी चुनौति बन्ने कहिले होला !

आशा गरौं, आफ्नी छोरी, श्रीमती, आमा र चेलीबेटी सरह हरेक दाजुभाइले दिदीबहिनीको इज्जत, सम्मान र सुरक्षा गर्दै महिला हिंसा निर्मूल पार्न मा हातेमालो गर्नुहोला । हिंसामुक्त नेपाली समाजको परिकल्पना एकदिन त अवश्य साकार होला । सबै मिलेर पहल गरौं । यौनशोषण निर्मूल पारौं । पीडितलाई न्याय दिलाऔं । अपराधीलाई सजाय दिलाऔं । निर्दोषलाई सजायमुक्त गराऔं । महिला हिंसा अन्त्य गरौं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here