नेपालमा असफल भएकी चिनियाँ राजदूत यान्छीलाई फिर्ता बोलाउने तयारी गर्दै चीन

0
567

काठमाडौं ।

नेपालका बामशक्तिलाई एक गराउन असफल भएको भन्दै चीन सरकारले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई फिर्ता बोलाएको छ । चीन सरकारले बोलाएपछि दुई महिनाको बिदामा चीन जान लागेको जानकारी उनले नेपालको परराष्ट्र मन्त्रालयलाई गराएकी छन् ।

परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार नेपालमा गणतन्त्र दिवस मनाइरहेका दिन जेठ १५ अर्थात मे २९ मा उनी अकस्मात चीन गएकी हुन् । राजदूत यान्छीले परराष्ट्र मन्त्रालयलाई आफु घरायसी कामले दुईमहिना लामाे बिदामा बस्न लागेकाे जानकारी गराएकी छन् ।

उनले परराष्ट्रलाई दिएको जानकारीमा स्पष्ट उल्लेख नभएपनि नेपालका बाम मिलाउन दिएको जिम्मेवारीमा असफल भएपछि यान्छीलाई चीन सरकारले फिर्ता बोलाएको स्रोतको दावी छ । बाम एकताको लागि कूटनीतिक पहलसहित समय थपेर यान्छीलाई जिम्मेवारी दिइएको थियो ।तर, यी सबै प्रयासमा चीन असफल भएपछि तत्कालका लागि बाम एकता पनि टरेको छ ।

नेपालमा चीनका राजदूतको कार्यकाल प्रायः ३ वर्षको भएपनि उनी साढे तीन वर्षदेखि नेपालमा छन् । यस विषयमा चीन सरकार र सञ्चार माध्यामहरुले केही नजनाएपनि नेपाल-चीन कूटनीतिमा चिनियाँ सरकारले चाहेको भूमिका खोल्न नसकेका कारण यान्छीलाई फिर्ता गरी नयाँ राजदूत नेपाल पठाउन तयारी चीन सरकराको रहेको बताइएको छ ।

औपचारिक रुपमा भने यान्छी फिर्ता गएको आधिकारीक जानकारी चिनियाँ दूतावास र नेपालको परराष्ट्र मन्त्रालयले दिएको छैन् । तर नेपाल मामिलामा यान्छीको प्रयास असफल देखिएकाले लागि चीनले नयाँ राजदूत चाँडै पठाउन सक्ने चीन मामिला सम्बन्धिका जानकारहरु बताउँछन् ।

जानकारहरुका अनुसार नेपालमा अहिले भइरहेको सत्ता गठबन्धन फुटाएर नेपाली कांग्रेसको हातबाट सत्ता फुत्काउन चीन असफल भएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमध्ये एकलाई प्रधानमन्त्री दिएर गठबन्धन फुटाउने चीनकाे रणनीति असफल भएका कारण राजदूत यान्छी बिदाकाे बाहानामा चीन गएकी हुन् ।

चीनले सके पूर्व नेकपालाई फेरी जोड्ने र नसके पूर्वएमालेलाई भएपनि मिलाउने प्रयास गरेको थियो । तर, तत्कालका लागि चीन असफल भएपछि नेपालको बाम एकताको विषय पनि ओझेलमा पर्न थालेको हो । चीन विज्ञहरुको भनाईमा अब तत्काल नेपालमा बाम शक्तिबीच कुनैपनि खालको मिलन हुने सम्भावना टरेको छ ।

पछिल्लो समय सत्ता नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भारतीय जनता पार्टी (भाजपा) सँग सम्बन्ध सुधार्न खोजिरहेका बेला उत्तरी छिमेकी चीनले फेरि नेपालका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रलाई मिलेर अघि बढाउन प्रयास गरेको थियो ।

यसका लागि राजदूत यान्छीलेसमेत ठूलै कसरत गरेकी थिइन् । कांग्रेसको नेतृत्वमा सरकार बनेपछि उत्तरी सीमाको विषय उठ्नुका साथै कांग्रेस र भाजपाबीच संवाद बाक्लिँदै गएपछि सशंकित चीनले नेपालका आफ्ना नजिकका मित्रहरू मिलाउन कोसिस गरेको जानकारहरु बताउँछन् ।

चीनले स्थानीय तहको निर्वाचनमा बाम एक गराउन नसकेपछि आगामी संघ र प्रदेशको निर्वाचनमा आपसी सहकार्य नगरे एमाले र माओवादी केन्द्र खुम्चिने सम्भावना देखेको छ । त्यसलाई ख्याल गरेरै चीनले नेपालका दुई कम्युनिस्ट पार्टीबीच सहकार्य चाहेको थियो । तर, सफल नहुने देखेपछि राजदूत परिवर्तन गर्न लागेको अनुमान गरिएको छ ।

चिनियाँ राजदूत होउ यान्छीले यस विषयमा नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरू एमाले र माओवादी केन्द्रको नाम नै लिएर उनीहरूले संयुक्त रूपमा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सक्ने खुल्ला अभिव्यक्ति नै दिँदै आएकी थिइन् ।

उनले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) सय वर्ष पुगेको अवसरमा नेपाली नेताहरूको विचारसहितको किताब भर्चुअल विमोचन गर्ने क्रममा एमाले र माओवादीको बयान गर्दै पार्टी फेरी एक हुन आवश्यक रहेको बताएकी थिइन् । यसलाई कतिपयले चिनियाँ कम्युनिस्ट पार्टीका नाताले नेपालका कम्युनिस्ट पार्टीप्रति चिनियाँ राजदूत होउबाट सद्भाव व्यक्त भएको मानेका थिए ।

चिनियाँ राजदूत होउले बामपन्थीसँग एकताको दवाव बढाउन २०७८ चैत पहिलो साता नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुलाई चीन जाने वातावरणसमेत मिलाई दिएकी थिइन् । एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले टोली चीन गएको पाँच दिनपछि माओवादी केन्द्रका नेता देव गुरुङको नेतृत्वमा टोली चीन गएको थियो ।

भ्रमणका क्रममा चिनियाँ नेताहरुसँग नेपालको बाम एकताका विषयमा कुराकानी भएको माओवादी नेता देव गुरुङले सार्वजनिक रुपमै भन्दै आएका छन् । तर, यी सबै प्रयासमा चीन असफल भएपछि तत्कालका लागि बाम एकता पनि टरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here