धिमाल जातिको श्रीजात-जात्री पर्व समापन

0
357

छविराज ढकाल/ पथरीशनिश्चरे,

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले धिमालहरू नेपालका सबैभन्दा पुराना आदिवासी र भूमिपुत्र भएको उल्लेख गर्दै हिजो राज्यको विभेदकारी नीति भएकै कारण आदिवासी जनजातिहरू राज्यले वितरण गरेका सेवा सुविधाबाट वञ्चित भएको बताउनु भयो।

मोरङको उर्लाबारी– ३ मंगलबारेमा धिमाल जातिको सबैभन्दा ठूलो पर्व जात्री, सिरिजातको समापन गर्दै उनले सो कुरा बताएका हुन् । लोकतान्त्रिक गणतन्त्रमा मात्रै सबै जात धर्म र लिङ्ग भएका नागरिकले राज्यको सुविधा समान रुपमा प्राप्त गर्ने मुख्यमन्त्री राईको भनाइ थियो । राईले आरक्षणको व्यवस्था पनि सबै जातजातिलाई अवसरको समान उपयोगका लागि गरिएको उल्लेख गरेका छन् । आगामी साउन भित्रमा प्रदेशको नामाकरण हुने बताउँदै राईले प्रदेश सरकारले प्रदेशको नामाकरण गर्न नसक्ने बताएका थिए। मुख्य मन्त्री राईले ‘ प्रदेश सभाले सके सहमतिमा ; नभए बहुमतका आधारमा भए पनि प्रदेशको नाम राखिने’ बताउनुभयो ।

मुख्यमन्त्री राईले बहुमतका आधारमा राखिएको नाम सबैका लागि उपयुक्त नहुन सक्ने तर्क गरेका हुन् । तर, अब नाम जुराउन प्रदेश सभाले ढिलो नगर्ने बताएका छन् ।आदिवासी जनजातिहरू राज्यले वितरण गरेका सेवा सुबिधाबाट वञ्चित भएको बताएका छन् ।

अल्पसंख्यक धिमाल समुदायको महान पर्व जात्री/ सिर्जात (पूजा) विशेष साँस्कृतिक कार्यक्रमसहित विधिवत रुपमा असार -२ गते समापन भएको हो। प्रत्येक वर्ष बैशाख २ गते उद्गम स्थल मानिने लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानी धिमाल डाँडामा रहेको धिमाल ग्रामथामबाट सुरु भएको जात्री/सिर्जात ( पूजा ) पर्व असार -२ गते उर्लाबारीको मङ्गलबारेस्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजना स्थल (दस बिघे)मा समापन हुने गर्दछ ।

समापन कार्यक्रममा धिमाल जातिको मौलिक नाचगान, ढोल प्रतियोगिता, धिमाल कलाकारहरुको कला र गाला प्रस्फुटन गर्न स्टेजमा मौका लगायतका अवसर दिईन्छ । दुई महिना भित्रमा धिमाल समुदाय बसोबास गर्ने एक सय भन्दा बढी गाउँहरूमा मेला जातिरी-श्रीजात लाग्ने गर्दछ । दुई महिना सम्ममा धिमाल जाति वा समुदायको प्रत्येक घरबाट कम्तीमा तीस हजार खर्च हुने समग्र समापन सम्ममा करिब डेढ करोड खर्च हुनेगरेको केन्द्रीय तथ्यांकले जनाएको छ ।

ग्रामथानमा फलफुल, हाँस, परेवा, कुखुरा, सुँगुरलगायतको वलि दिने गरिन्छ । भोगटेनीबाट शुरु भएपछि धिमाल बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ । सामूहिक पूजा जात्री-श्रीजात नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस्, शोक नपरोस्, अतिबृष्टि, अनाबृष्टि, खेतका बालिनानी सप्रियोस र जिवनमा सुख शान्ति छाओस् भनेर मनाइने गरिएको छ । यो पर्वमा धर्म ठाकुर, लक्ष्मीबेराङ, चौमाझी, बूढा ठाकुरलगायतको पूजा गर्ने गरिन्छ ।

धिमाल जाति नेपालको पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा आदिम कालदेखि बस्दै आएका छन् । धिमालहरू पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा समेत देख्न सकिन्छ । धिमाललाई दमक नगरपालिकाको पहिलो नागरिकका रूपमा सबैभन्दा पहिले घोषणा गरेको हो भने अन्य छिमेकी उर्लाबारी, पथरीशनिश्चरे, कानेपोखरी र बेलबारीले पनि घोषणा गरेको छ ।

समापन कार्यक्रममा धिमाल जाति विकास केन्द्रले प्रत्येक वर्ष प्रदान गरिने युवा प्रतिभा पुरस्कार बडिबिल्डर ललित धिमाललाई प्रदान गरेको छ भने विभिन्न धिमाल गाउँटोल समितिबाट सहभागी ढोल मध्यें प्रथम डुम्रेघाट, द्वितीय कालाबन्जार, तृतीय जम्बुझार र सान्त्वना बाह्रघरे गाउँटोल समिति पुरस्कृत भएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्बर १ मुख्यमन्त्री राजेन्द्रकुमार राई , विशिस्ट अतिथिमा प्रदेश सांसद कुलप्रसाद साँवा र अतिथिहरुमा स्थानीय पार्टी नगर अध्यक्ष, विभिन्न संघसंस्था, समाजसेवि, स्थानिय र छिमेकी नगरका जनप्रतिनिधिहरु रहेका थिए भने धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष लोकबहादुर धिमालको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here