मर्चाले जुठो काट्छ !

४ असार २०७९, शनिबार मा प्रकाशित

उसको लागि भात पकाउने ठाउँ पनि छुट्टै बनाइएको छ । टिनले छेकेर मानिसका साथै कुकुर, बिरालो नपस्ने गरी छेकाबारा लगाइएको छ । परालमा टुक्रुक्क बसेर एक्लै भात पकाउँदै छ । किनकि ऊ तेह्र दिनसम्मका लागि स्वयम् पाके भएको छ ।

घ्यू खाएर पनि ताकत नआउँदोरहेछ यदि नुन खाइएन भने । उसलाई त्यस्तै लाग्छ । अलिनो खाने दिन कहिले सकिने हो ? ऊ मनमनै प्रश्न गर्छ । फेरि ऊ त अम्मली । त्यसमा पनि रक्सीको । कस्को घरमा कस्तोखालको रक्सी पाइन्छ सबै थाह छ । कोदोको रक्सी पार्ने घर, भाती जाँडको रक्सी पार्ने घर उसलाई थाह छ । हतार–हतार पुग्यो यसो एक–दुई ट्वाक माग्यो आँखा चिम्लेर स्वाट्ट पा¥यो । मुखाकृति कच्याककुचुक्क पा¥यो पसलमा भोला या रजनी गन्धा (गुठ्खा) किनेर मुक्यायो अनि घर पुग्यो । भोला या रजनीगन्धाको बासनाले उसले रक्सी धाकेको स्वास्नी चाहिँले पत्तै पाउँदिनन् । यस्तो मनमौजीको उसको दिनचर्यामा ब्रेक लागेको छ । यस्तै भाव पोख्दै उसको एक साथी भन्छ– ओए तँलाई तलतल लागेन ? शोक बारिरहेको उसले त्यसो भन्ने साथीको अनुहारमा एक पटक पुलक्क हेर्छ । अर्को साथी भन्छ– हैट के भनिरा त्यस्तो अरुले सुन्यो भने ।

उसको खाना पाक्छ । साथीहरु भन्छन्– ए खा खा भोक लाग्यो होला । शोक या जुठो बारिरहेको ऊ भात घ्यूसँग खान्छ । साथी मध्ये एकले भन्छ– अरु बेला त के–के खान पाउँथिस् अब केही दिन मुख मिठ्याउन नपाउने भइस् । अर्को साथी भन्छ– कि ल्याइदिऊँ सुटुक्क लुकाएर यसो स्वाट्ट पारे भइहाल्यो नि । अर्को साथी रिसाउँदै भन्छ– यतिसारो गरि गति छाड्नु त भए न नि हो । भोलि हामीलाई पनि यस्तो पर्न सक्छ । बोल्दा विचार पु¥याएर बोलौँ न यार ।

अर्को भन्छ– यो सब ढोँगीपन हो, देखावा हो । राजामहाराजा, मन्त्री, ठूला ओहदाकाले चाहिँ अर्कैलाई किरियाकाजमा भाडामा राखेर आफू चाहिँ मनमौजी खान्छन् त । अनि रीतिरिवाज, संस्कार र नियम जति हामी सर्वसाधारणले मात्र मान्नु पर्ने ? अलि झर्कँदै अर्को साथी भन्छ– अब यो एक्टिभिष्ट भएछ । कोही भन्छ– अरुले सुन्लान् है ।

एकजना भन्छ– साँची शोक परेका ठाउँमा तास खेल्ने छुट कसरी भएको होला ? शोक परेका ठाउँमा तास खेल्नु विकृति होइन र ? अर्को भन्छ– शोक परेकाहरुलाई राती जागै रहन, एक्लै नपरुन् भनेर र डरबाट मुक्त हुन साथ दिनु छरछिमेकको कर्तव्य हो । तर, त्यतिकै बस्दा निन्द्रा लाग्छ । त्यसैले तास खेल्न समाजले छुट दिएको होला । अर्को छुल्याहा भन्छ– त्यसो हो भने यसो अलिकति सुरुप्प पिउन पनि छुट दिए त जति रात भए पनि कटाइन्थ्यो होला नि । कोही भन्छ– होइन गति छाड्नेले छाडुन् । तर, जुन समाज, घरपरिवारले नियम पालना गर्छन् । उनीहरुले नियममा बस्न पाउनु परो नि । जे कुरामा पनि होलो खुकुलो गरेपछि समाज बिग्रिन्छ । एक भन्छ– होइन हौ शोकमा बस्नेले पनि यसो सुरुप्प पिउन पाएमा उसलाई शोक बिर्सन सहयोग पुग्छ भनेको मात्र हो ।

एक भन्छ– लु यसरी चाहिँ शोक बिर्सनु छैन कसैलाई । बरु जुठो बार्ने दिन कटेपछि जति धोके पनि भयो । समाजले पनि केही भन्दैन । एक जना सोध्छ, जुठो कति दिन बार्नुपर्छ ? जवाफमा कोही भन्छ– सके त बर्ष दिन नै बार्नु पर्छ नि । कम्तिमा पनि पैंतालीस दिन त मुख बार्नु पर्छ, त्यसपछि त । अर्को भन्छ– भन्दैछु है सुन्लान् है अरुले, बिनाबित्थामा यो जुठो बोक्नेलाई अपगाल पर्ला । अब भने सबै चुप लाग्छन् ।

जुठो बारिरहेको उसलाई साथीहरुको कुरा सुनेर उदेक लाग्छ । एक प्रकारले हो जस्तो लाग्छ, अर्को प्रकारले होइन । कतिपय समाजले नियम निकै कडाइका साथ मान्छन् भने कतिपय समाजमा होलो पनि छन् होलान् । दिन गन्दागन्दै उसले तेह्र दिने काम पनि सको ।

ऊ एकचरण खेतबारीको काम सकेर, घरको तानेमुने सकेर, वस्तुभाउलाई पगा सारेर उल्टीबेलातिर गाउँतिर निस्कन्छ । घरकीले पनि यसो गफगाफ गर्न गाउँतिर लागेका होलान् भन्ने सम्झन्छिन् । कामदाम ठीकै गर्नेलाई कता जाँदैछ भनेर घरकाले शंका गर्ने कुरो पनि भएन । ऊ सरासर एक दोकानमा पुग्छ । त्यहाँ उसलाई कसैले सोध्छ, कता हिँड्यौ त बाबु ? ऊ मिसिक्क हाँसेर जवाफमा भन्छ– यसो साबुन र सलै सकियो भनेर घरकीले लिन पठाइ र नि काका । उसलाई प्रश्न सोध्नेले भन्छ– ए ए ।

होइन दोकान्नी साउनी कता गइछन् भन्दै ऊ दोकानको भित्र हेर्छ । भित्रपट्टिबाट दोकान्नी साउनी भन्छिन्– ए साबुन र सलै चाहियो ? दोकानमा त सकिनै लागेको छ यतै भित्रै आएर स्टोरबाट मन परेको छानी–छानी लैजाउ न है । होइन दोकानमा सामान टन्न पो राख्नुपर्छ त, तब पो ग्राहकले छानी–छानी लान पाउँछन्, व्यापार बढ्छ, कहाँ घरभित्रै थुपारेको ? भन्दै ऊ साउनीको इशारा अनुसार घरभित्र लुसुक्क पस्छ ।

साउनीलाई थाह छ ग्राहक के लिन, के खान आइरहेको छ ? भन्ने कुरा । खाटमुनिबाट खोयाबिर्के निकालेर शिशाको गिलासमा तुरुरुरु पार्दै सारेर साउनीले उसलाई दिन्छिन् । ऊ लोकल रक्सी स्वाट्टै पार्छ र अर्को एक ट्वाकका लागि गिलास थाप्छ । पैसा त ल्यायौ होलानी ? सोध्दै साउनी अर्को एक ट्वाक थपिदिन्छिन् । यत्तिकैमा अघि उसलाई कता हिँड्यौ भनेर सोध्ने मान्छे पनि उसले रक्सी पिइरहेको ठाउँमा छिर्छ र भन्छ मलाई चाहिँ धुप चाहिएको थियो । तर अघिको मान्छे जसलाई तिनले बाबु भनेका थिए । उसको हातमा रक्सी भरिएको गिलास देखेर छक्क पर्दै सोध्छ, तिम्ले त जुठो बारिरा छौ होइन ? कमसेकम पैंतालीस दिन त कटाऊ । रक्सी पिएपछि त तिमी अझ असुद्ध र जुठो भएनौ र ?

एकछिन् गमे पश्चात जवाफमा ऊ भन्छ– मर्चाले काटी हाल्छ नि काका । जाँड रक्सीमा मर्चा त्यसै हालेको होइन नि । हजुरलाई थाहै छैन रै’छ, मर्चा त शुद्ध चिज हो । जस्तै जुठो पनि मर्चाले काट्छ क्या काका । ऊसले बाँकी रक्सी मुन्टो ठाडो गरेर स्वाट्टै पारेर गोजीबाट पैसा झिकेर साउनीको हातमा राखिदिँदै भन्छ– भोला दिनु त । भोला मुक्याएर ऊ साबुन र सलै नलिइ बेपत्ता हुन्छ । उसको त्यस्तो विकृत हर्कत देखेर प्रश्न सोध्ने मान्छे, आफ्नै थुक सर्केर खोक्दै झण्डै सिद्धिन्छ र धुपै नलिइ मरुन्ज्याल खोक्दै बाटो लाग्छ । साउनी चाहिँ हाँसेको हाँसेइ पर्छिन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here