असामान्य माइला

४ असार २०७९, शनिबार मा प्रकाशित


अचम्मको दृश्य छ । वरिपरि भीड जम्मा भइसकेको छ । माइला भने खुरुखुरु पोलबाट माथि चढेर आफू तारको भागमा गएर एउटा तारमा खुट्टा अडाउँदै अनि अर्को तारमा कसिएर हातले समाउँदै ठिङ्ग उभिँदो भयो । ऊ साधारण तारमा उभिएको थिएन । ऊ त बिजुली प्रवाह गर्दा करेन्ट पास गर्न बनाइएको हाइटेन्सन वायरमा उभिएको थियो ।

त्यसरी उभिन जो कोही कहाँ सक्छ र ? त्यस्तो साहसिक काम गर्न त मुटु चाहिन्छ । तर, बिडम्बना मुटु हुनेले पनि गर्न सक्दैन । त्यसको लागि त एकोहोरो दिमाग चाहिन्छ या भनौ एक किसिमको दुस्साहस आवश्यक पर्छ ।
समाज र राज्यसँग आजित माइला एकाएक तारमा पुग्दा तल जम्मा भएको भीडबाट आवाज गुञ्जिन्छ ।
‘ए भाइ तल झर त ?’ आकाशतर्फ हेर्दै प्रहरीले माइकिङ्ग गरिरहेको छ ।
‘झर्दिनँ’ माथिबाट तल खस्दै गरेको मधुरो आवाज चारैतिर गुञ्जयमान बन्छ ।
‘ओर्ल न ओर्ल ।’
‘अह’

‘माथिबाट तल झरेर मर्न सकिन्छ । दुर्घटना हुन्छ अनि चोटपटक लाग्न सक्छ ।’ माइकभित्र पसेको ध्वनी स्पिकरबाट बाहिर निस्किरहेको थियो ।
‘नाई ओर्लिदिन तिमरुले भनेर हुन्छ ?’ माइला अट्टेरि गर्दै चिच्याउँदै थियो माथिबाट ।
‘तिमीलाई हामी मासु भात ख्वाउँछांै । पैसा दिन्छौं ओर्ल न ओर्ल ।’ एक स्थानीय नेता आश्वासन दिँदै कराउँदै थिए माइकमा जोडले ।

‘म भ्रष्टाचारी हुँ र ? मासुभात र पैसाको लोभमा जे नि गर्ने ?’ माइला क्रोधित स्वरमा अट्टेरी जवाफ फर्काउँदै तारमा हिँड्न लाग्यो । हावाको उच्च गति छ, तार यताउता हल्लिरहँदा माइला भुइँमा तल बजारिन्छ कि भन्ने ठूलो त्रास थियो सबैलाई । नेता माइलाको बचन सुनेर थप केही बोल्न सकेनन् र माइक छाडी हिँडे ।
‘यो त बढ्दो डलरको भाउ जस्तै यताउता गर्न लाग्यो । तर, तल त ओर्लिन मानेन त ।’ एक बैंक मेनेजर अर्का बैंक कर्मचारीलाई भन्दै थिए ।
ती अर्का कर्मचारी चिउडोमा हात लाउँदै भन्दै थिए– ‘हो है हुन त । यताउता गर्छ डलरको भाउ तल झर्न नमाने जस्तै यो नि तल झर्न मान्दैन त गाठे ।’


यत्तिकैमा ती बैंक मेनेजर माइकमा चिच्याउँछ– ‘ए माइला दाइ तल ओर्ल न क्या । नेपाली मुद्रामा होइन बिदेशी डलरमा तिम्रो इच्छा पूर्ण गराउला । अब त मान ।’
माइला फेरि तल धर्तीतर्फ कमिला सरी उभिएका मानिस हेरेर ‘के अरे ?’ भन्दै प्रश्न तेर्साउँछ ।
बैंक मेनेजर पुनः आफ्नो पहिलाको वाक्य दोहो¥याउँदै भन्छ– ‘ए मैले भनेको तिमीलाई आर्थिकरुपमा मजबुत बनाउन नेपाली रुपैयाँमा होइन डलरमा पैसा दिउला । अब त ओर्ल ।’

‘अब त झन् ओर्लिदिन डलरको भाउ अझै बढ्छ अब म जहिलेसम्म डलर बढ्छ तबसम्म माथि बस्छु, तर ज्यान गए ओर्लिदिन । त्यसैले तिमी बैंकका मान्छे बाठा नहुनु धेरै ।’ माइला झोकिँदै थप क्रोधमा भन्छ– ‘देशमा तरलता अभाव छ । बैंकको अवस्था मलाई पनि थाह छ पैसा नै छैन बैंकमा । यस्तोमा झुटो आश्वासन नदेउ तिमी भाइ ।’
बैंक मेनेजरसँगको तर्क–बितर्क गर्दागर्दै वडाध्यक्ष आएर माइक समाउँदै भन्छन्– ‘ए माइला भाइ तिमी त हाम्रो गाउँको मान्छे तल ओर्ल अनि आउ तिम्रो दुःख र पीडाको कुरा बुझेर म तिम्रो घाउमा मलम लगाइदिन्छु । आवश्यक पूर्वाधार व्यवस्था गराईदिन्छु अनि रोजगारी दिन्छु ।’ ऊ थप भन्दै थिए– ‘ओर्ल आउ तिम्रो दैनिकी सहज हुने व्यवस्था म मिलाईदिन्छु ।’

सबैले वडाध्यक्षको कुरा सुनी ताली बजाउँछन् । एकछिन चारैतर्फ ताली गुञ्जयमान हुन्छ ।
माइला माथिबाट पुलुक्क तल हेर्दै भन्छ– ‘वडाध्यक्षज्यू । तपाईले झुटो आश्वासन दिन अझ छाड्नुभएको छैन है ? मैले मेरो पीडा कति पटक ल्याई सुनाए, तर बिडम्बना तपाईले सुनुवाई गर्नुभएन । एउटा सडकमा भएको खाल्डो त पुर्न नसक्नेले मेरो मनमा भएको ठूलो बज्रपात के पूर्ण गर्न सक्थ्यो । कति पटक रोदन गरे तपाईंसँग रोजगारी दिनु भनी आज त प्रशासनको गल्ती देखिएला भनि फकाउन आउनुभयो होइन ? यस्ता झुटो आश्वासनको अब म विश्वास गर्दिनँ ।

हावाको बेगले तार एक्दम हल्लिन्छ र माइला कहिले तल त कहिले माथि झुल्लिँदै हावासँग पनि अट्टेर गर्दै त्यै तारमा अडिरहन्छ । यसो तल हेर्दै माइला माथिबाट फुस्फुसाउँछ– ‘हैन कति धेरै मान्छे हौ । त्यतिनै क्यामेरा र टिभी च्यानल आएछन त ।’

तलको दृश्य भने अचम्म को बनी रहेको थियो । बिस्तारै बढ्दै गएको हुलमा युट्युबर र पत्रकारको जमात बढ्दै थियो । केही युटुबर स्थिथिबारे लाइभ गर्दै थिए । अनि आफ्नै कथा बनाउँदै थिए– ‘नाङ्गो तारमा तीन–चार घण्टादेखि अडिरहेका वीर माइलाको हुन त ?’ –कोही भन्दै थिए– ‘अदभूत नेपाली माइला–द सुपर म्यान’ । अर्को युट्युबर भन्दै थियो– ‘कहिले ओर्लेलान् त माइला ?’ तर, सच्चा रिपोर्टिङ त केहिले मात्र गरिरहेका थिए । अरु त सबै अनलाइनमा भाइरल हुने दौडमा थिए ।

यत्तिकैमा एउटा राष्ट्रिय टिभिका पत्राकार भन्दै थिए– ‘माइलाको यो गतिविधिले अहिलेसम्म प्राधिकरणलाई करोडांैको घाटा लगाइसकेछ । विद्युत वितरणमा रोक लगाउँदा त्यो स्टेशनबाट प्रति मिनेट घाटा बढिरहेको छ ।’
अहो ! माइलाको कार्यशैली अनुचित र असामान्य हो । तर, देशप्रति उसले गरेको छड्के घोचाइँले अस्थिरता कायाम गरेको छ । एकछिन विद्युुत आपुर्ति बन्द हँुदा देशलाई यति नोक्सान भएको छ भने पटक–पटक लोडसेडिङ गरिरहँदा प्रति मिनेट कति नोक्सानी हुँदो हो ? अन्य बेलाको जिम्मेवारी कसको ? अमेरिका, बेलायत, फ्रान्स आदि मुलुकमा एक मिनेट लाइन जाँदा सबैले जिब्रो टोके एउटा सामान्य मान्छेको असम्भव कार्यशैलीले देशमा ठूलो कम्पन पैदा गरिसकेछ । एउटा गरीब माइलालाई सबैले बेवास्ता गरिरहँदा एवम् मानसिक रोगी भनिरहँदा उसले राज्यलाई ठूलो चोट दिइसकेछ । न त उसले भ्रष्टाचार गरेको हो न कमिशन खाएको हो, तर साधारण व्यक्तिको अनुचित प्रयासले प्राधिकरणमा समेत कम्पन उत्पन्न भएको छ ।

तलबाट केही उत्तेजित व्यक्ति कराउँदै थिए– ‘यसलाई गोली ठोक्नु पथ्र्यो । दश लाखमा काम हुने ठाउँमा सरकारलाई एक करोड घाटा लगाइदिएछ ।’ सामाजिक सञ्जालमा पनि एकतर्फी बिरोध र ठट्टा गर्नेको आवाज यस्तै थियो । यो त आम नेपालीको भडास थियो अनि उदासिन सरकारप्रतिको वितृष्णा थियो ।

यत्तिकैमा धेरै समयपछि नेपाल आर्मीको हेलिकप्टर आयो । करिब सात घण्टापश्चात उसलाई नि आफै थकान लाग्न थालिसकेको थियो । रात छिपिँदै गयो र अन्धकारले सारा उज्यालो अपहरण गरिसकेको थियो । नाइट भिजन हेलिकप्टर आएर अबेरसम्म हावामा रेस्क्यु अभियान चलायो । निरन्तर घण्टौंको प्रयासपछि माइलालाई उद्धार गर्न सफल भयो । माइलाको नि केही उपाय लागेन अन्ततः ऊ तल ओर्लिनु प¥यो । तल ओर्लना साथ माइला हुलमा हेर्दै भन्दै थियो– ‘देखेउ एउटा सामान्य व्यक्ति सम्झेको थियौं नि मलाई । मैले कत्रो हलचल गराएँ थाह भयो नि ?’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here