पालिकाकै ‘सेटिङ’मा कामदार कोरिया पठाउँदै कन्सल्टेन्सी

४ असार २०७९, शनिबार मा प्रकाशित

झापा ।

झापा र इलामका छुट्टा/छुट्टै दुई स्थानीय तहका जनप्रतिनिधिले कोरिया पठाउने नाममा सर्वसाधारणबाट मोटो रकम असुलेको समाचार केही महिना अघि सार्वजनिक भएको थियो । समाचार सार्वजनिक भएपछि इलाममा स्थानीयले पालिकामा तालाबन्दी गर्दै चरणबद्ध आन्दोलन नै गरे भने झापामा रातारात पीडित भनिएका एक व्यक्तिको पैसा फिर्ता गरियो ।

कोरियासंग साझेदारी गर्दै पछिल्लो समय नेपालबाट कृषि कर्मका लागि देशभरका विभिन्न पालिकाले कामदार पठाउने गरेका छन् । कामदार पठाए बापत ‘सेटिङ’ मिलाएर रकम लिने गरेको समाचार यस अघि नै सार्वजनिक भयो । तर, पछिल्लो समय स्थानीय तहसँगको सेटिङमा कोरियामा कामदार पठाउँदै एजुकेशन कन्सल्टेन्सीले मोटो रकम असुली रहेका छन् । गुल्मी धुर्कोटमा रोनिस घर्ती (नाम परिवर्तन) मंगलबार भारतको बाटो हुँदै कोरियातिर लागे । धुर्कोट गाउँपालिकाले कोरियामा मौसमी कामदारका रुपमा पठाउन छनौट भएका उनी केही हप्ता यता कोरिया उड्ने आशामा काठमाडौंमै बिताए ।

दलाललाई करिब ४ लाख बुझाएर कोरिया पुगेका उनीसँगै अरु पनि साथीहरु छन् । ‘गाउँपालिकाले निवेदन लिएको थियो, त्यसकै आधारमा केही दाइहरुलाई भेट्न भनिएको थियो, उहाँहरुले मिलाइदिनु भयो’– उनले कोरियाबाटै भने– ‘यसबारे कतै कुरा नगर्नु भनेका छन् ।’

पछिल्ला दिनमा विभिन्न स्थानीय तहरुले कोरियाका विभिन्न काउन्टी र प्रान्तसँग ६ महिनाका लागि मौसमी श्रमिक पठाउने भन्दै भगिनी सम्बन्ध जोडिरहेका थिए । तर, दुई साताअघि सरकारले भगिनी सम्बन्ध कायम गरी दक्षिण कोरियामा मौसमी कामदार पठाउन स्थानीय तहहरुलाई रोक लगाएपछि मानव तस्करको गिरोहले अन्य तरिकाबाट श्रमिक कोरिया पठाउन थालेका हुन् ।

स्रोतका अनुसार काठमाडौंको शान्तिनगरमा रहेको टीटी वल्र्ड एजुकेशन कन्सल्टेन्सीले अहिले धमाधम कोरियामा मौसमी कामदार पठाइरहेको छ । टीटी वल्र्डले स्थानीय तहका जनप्रतिनिधिसँगको ‘सेटिङ’मा पैसा उठाउँदै कागजात मिलाएर कोरिया पठाउने धन्दा चलाइरहेको छ । टीटी वल्र्ड कन्सल्टेन्सी कोरियाको राजधानी सिओलमा बस्ने विश्व खनालको स्वामित्वमा रहेको कन्सल्टेन्सी हो । यो कन्सल्टेन्सीले अहिले विभिन्न गाउँपालिकामार्फत भगिनी सम्बन्धका आधारमा कागजात जम्मा गरेर श्रमिक कोरिया पठाइरहेको छ ।

टीटी वल्र्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश बेल्बासे कोरियामा श्रमिक पठाउन डकुमेन्ट मिलाउने काम मात्रै गरेको बताउँछन् । ‘हामीलाई धुर्कोट गाउँपालिकाबाट अनुरोध भएपछि डकुमेन्ट मिलाउने काम गरेका हौं, भिसा प्रोसेसका लागि कोरियाबाटै एक जना कोरियन आउनुभएको थियो’– उनले भने । श्रमिक कसले पठाइरहेको छ भन्ने आफूलाई जानकारी नभएको बेल्बासेको दावी छ । तर, सम्पर्कमा आएका श्रमिकले भने गाउँपालिकासँग मिलेर टीटी वल्र्डले नै कोरिया पठाइरहेको बताएका छन् ।

सरकारले कानूनी र व्यवस्थापकीय रुपमा अनुपयुक्त रहेको गत २० जेठमा स्थानीय तहमार्फत मौसमी कृषि श्रमिक कोरिया पठाउन रोक लगाएको थियो । तर, यो धन्दामा अहिले ‘एजुकेसन कन्सल्टेन्सी’ हरु नै संलग्न हुन थालेका छन् । कानूनतः गाउँपालिका मात्रै हैन, इजाजतप्राप्त म्यानपावर कम्पानीबाहेक अन्यले रोजगारीका लागि श्रमिक विदेश पठाउन पाउँदैनन् । तर, टीटी वल्र्डले अहिले विभिन्न गाउँपालिकामार्फत कागजात जम्मा गरेर श्रमिक कोरिया पठाउँदैछ । विमानस्थलको अध्यागमन कार्यालयसँग पनि सेटिङ गरेर पठाउने गरिएको छ ।

२० जेठमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरको निर्णय गरी सबै स्थानीय तहमा पत्राचार गर्दै वैदेशिक रोजगार व्यवस्थापन संघीय सरकारको कार्यक्षेत्रमा रहेको र वैदेशिक रोजगारीमा पठाउने कामको नियमन, व्यवस्थापन र कल्याणकारी काम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट भएको पत्रमा उल्लेख गरिएको छ । ‘वैदेशिक रोजगार ऐन २०६४, स्थानीय सरकार सञ्चालन ऐन २०७५ बमोजिम भगिनी सम्बन्धको आधारमा वैदेशिक रोजगारीको लागि स्थानीय तहले पठाउने अधिकार नदेखिएको’ स्थानीय तहमा पठाइएको पत्रमा उल्लेख थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here