आग्रहमुक्त अग्रसरता चाहियो

८ असार २०७९, बुधबार मा प्रकाशित

कोठी दाताले दिएको जग्गामा सञ्चालित बिर्तामोडको स्थायी बजार बुधबारे हाटको सामान्य विवादलाई राजनीतिकरण गर्नु कसैको हितमा हुँदैन । बुधबारे हाट भनेर चिनिने उक्त ठाउँमा विद्युत् मिटरको माग गर्दै स्थानीय व्यापारीले आन्दोलन गरिरहेका छन् । आन्दोलनमा व्यापारी, व्यवसायीको छाता संगठन बिर्तामोड उद्योग वाणिज्य संघले नेतृत्व गरेको भनिएको छ जो अगुवाई अस्वभाविक पनि होइन । उनीहरुको आन्दोलन स्थानीय सरकारसँगको हो भने त्यो पनि स्वभाविक हो र स्थानीय तहको नेतृत्व गर्ने नगर प्रमुखले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ । उसले हरेक विवादको अन्त्य छलफल, सहकार्य र सहमतिबाटै खोज्न पहल गर्नुपर्छ । निर्वाचनमा कोही कुनै दलको हुनसक्छ, तर परिणामले जसलाई जनाधिकार प्रदान गर्छ ऊ कुनै दलको हुनुहुँदैन, विधि, पद्धति र प्रक्रियाका आधारमा संविधान प्रदत्त अधिकार प्रयोग गर्नुपर्छ ।

करोडौं रुपैयाँ मूल्यको बिर्तामोडको केन्द्रमा रहेको जग्गा स्थानीय समाजसेवी, राजनीतिज्ञ, कवि रामबाबु प्रसाईले हाट लगाउने प्रयोजनका लागि निःशुल्क प्रदान गरेका थिए । स्थानीय कृषि वस्तुको बिक्री–वितरणमा सहज होस्, आर्थिक क्षेत्र चलायमान होस् र आर्थिक समृद्धि होस् भन्ने पवित्र उद्देश्यले प्रदान गरिएको जग्गाको उचित संरक्षण गर्न सकिँदैन भने मूल्यवान सो जग्गादाता परिवारलाई नै फिर्ता गरिनु उचित हुनसक्छ । कसैले निःशुल्क प्रदान गरेको वस्तुमा टेकेर राजनीतिक स्वार्थको खिचडी पकाउन कसैले पनि हुँदैन अझ स्थानीय सरकारले त गर्नै मिल्दैन ।

सो बजारको व्यवस्थापनका लागि कृषि बजार व्यवस्थापन समिति पनि बनाइएको छ । नामले नै अव्यवस्थाको अन्त्य गर्दै उत्पादक, उपभोक्ता र व्यवसायीको हितका लागि काम गर्ने संस्थाको लक्ष्य हुनुपर्छ । त्यहाँ उठ्नसक्ने र उठेका विवाद, समस्या र असमझदारीलाई नगरपालिकाको अग्रसरता, नेतृत्व र पहलमा सम्बद्ध संघ–संस्थासँगको समन्वयमा निरुपण गरिनु पर्दछ । दाताको लक्ष्य, उद्देश्य र भावनामा आघात नपुग्ने गरी बजारलाई सुविधासम्पन्न र व्यवस्थित गर्न नगरपालिकाले संयमित र प्रभावकारी पहल गर्नुपर्दछ । कम्तीमा नगरपालिकाले सकेसम्म राजनीतिक आग्रह–पूर्वाग्रह मुक्त भएर अभिभावकको जिम्मेवारी पूरा गर्नुपर्छ । अन्यथा पहिलो गाँसको ढुंगाले कार्यकालभरि नै पीडा दिइरहन सक्छ । यसो हुनु नगरपालिका क्षेत्रकै उन्नतिको बाधक बन्न सक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here