निर्धनतातर्फको यात्रा

९ असार २०७९, बिहीबार मा प्रकाशित

मानवीय आवश्यकतालाई अर्थशास्त्रले तीन भागमा वर्गीकरण गरेको छ । जस अनुसार अनिवार्य, आधारभूत र विलाशितापूर्ण आवश्यकता प्राथमिकता र अपरिहार्यताका आधारमा छुट्याइएको हो । यी मध्ये बाँच्नका लागि नभई नहुने हावा, पानी, अन्न अनिवार्य हुन् भने बाँचेपछि आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, सञ्चार, पोशाक, घर लगायतका वस्तु आधारभूत आवश्यकता हुन् । यो भन्दा पनि पर अर्थात् मीठो खाना, राम्रो घर, गुणस्तरीय सेवा वा सौन्दर्य प्रशाधनका साधनहरु विलाशितापूर्ण वस्तु हुन् । यस अर्थमा मानिसले बाँच्न पाउनुपर्छ, बाँचेपछि सेवासुविधाको उपभोग गर्न र त्यसभन्दा माथि गुणस्तरीय सेवा वा आमोदप्रमोदका वस्तु उपयोगको पहुँचमा पुग्न पाउने चाहना क्रमशः बढ्दै जान्छ ।

लगातारको मूल्यवृद्धिले नेपालीको क्रयशक्ति घट्दै गएको छ । प्रत्येक उपभोग्य वस्तुको मूल्य ‘दिन दुई गुणा–रात चौगुणा’का हिसाबले बढ्दै जाँदा क्रयशक्ति घट्ने त छँदैछ यसभन्दा अघि असफल राष्ट्रका लहरमा उभिनुपर्ने परिस्थिति बन्दै गएको छ । नेपाली जीवनसँग सर्वाधिक महत्व राख्ने इन्धनको मूल्यवृद्धिले समग्र बजार प्रभावित बनेको छ । गत आइतबार मात्रै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि ग¥यो । गत वर्ष यही समय एक सय बाह्र रुपैयाँ प्रति लिटरमा पाइएको पेट्रोल अहिले एक सय उनान्सय पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव भन्दै सरकारको पूर्ण स्वामित्वको आयाल निगमले अहिले पेट्रोलमा प्रति महिना झन्डै पौने पाँच अर्ब घाटा व्यहोरेको जनाएको छ । नेपालीको आर्थिक जीवनले नधान्ने गरी भएको मूल्यवृद्धिको मूल कारक सरकारद्वारा इन्धनमा लगाएको कर हो । पेट्रोलमा प्रतिलिटर ६५.६१ पैसा विभिन्न शीर्षकमा कर उठाउने सरकार त्यतातर्फ सचेत छैन ।

इन्धनको मूल्यवृद्धिको असर घरको भान्साकोठामा पुगेको छ । खाना पकाउने ग्यासदेखि खाद्यवस्तुको ओसारपसारको भाडा समेत वृद्धि हुँदा चुल्हो चिसै छाड्नुपर्ने परिस्थिति बनिएको छ । यस्तोमा सरकार भने आफूले लगाएको कर खारेज गरी उपभोक्तालाई राहत दिन तयार छैन । खाना पकाउने ग्यासमा भएको मूल्यवृद्धिलाई रोक्न वैकल्पिक ऊर्जाको उपयोग बढाउनेतर्फ गम्भीर नबनेको सरकार जनताको जीवनरक्षाप्रति जिम्मेवार देखिँदैन । इन्धनको मूल्यवृद्धिको असर यातायात हुँदै भान्सामै परिसकेको छ, यस्तो बेला पनि सरकार घाटाको अङ्क देखाउन तल्लीन छ । यस्तो स्थितिमा इन्धनमा पूर्णतः परनिर्भर नेपाली जीवन दक्षिण एसियाकै निर्धन मुलुक बन्ने निश्चित छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here