बिर्तामोडका व्यवसायी विद्युत् मिटर माग्दै तीन दिनदेखि सडकमा

९ असार २०७९, बिहीबार मा प्रकाशित

सुरेन्द्र भण्डारी,
झापा ।

बिर्तामोडस्थित बुधवारे हाटमा रहेका व्यवसायीलाई विद्युत् मिटर उपलब्ध गराउनुपर्ने माग राख्दै बिर्तामोडका व्यवसायी तीन दिनदेखि चरणवद्ध आन्दोलनमा छन् ।

आन्दोलनका क्रममा वुधवार बिर्तामोड नगरपालिका घेराउका लागि पुगेका व्यवसायीलाई प्रहरीले पक्राउ ग¥यो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, सहकोषाध्यक्ष राधिका चुडाल हुमागाईसहित ११ जना व्यवसायीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको थियो ।

शान्तिपूर्ण आन्दोलनमा सहभागी मध्ये प्रहरीले बिर्तामोड नगरपालिकामा हुनसक्ने सम्भावित दुर्घटनालाई रोक्न व्यवसायीहरु सन्तोष उप्रेती, कल्पना पुरी न्यौपाने, संगीता न्यौपाने, कल्पना खरेल निरौला, नरबहादुर बिक, एकता कडरिया बिष्ट, तुलसा तामाङ र निरु अधिकारीलाई समेत नियन्त्रणमा लियो ।

विद्युत् मिटर उपलब्ध गराउनुपर्ने माग गर्दै सोमबारदेखि बिर्तामोडका व्यवसायी नगरपालिका केन्द्रीत छन् । आन्दोलनमा रहेका व्यवसायी मंगलवार व्यवसाय बन्द गर्दै सडकमा उत्रिए । बुधवार समेत नगरपालिका घेराउका लागि पुगेका व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैलाई वुधवार साँझ सर्वपक्षीय वार्ताबाट छाडिएको प्रहरीले जनाएको छ ।

तीन दिनभित्र विद्युत् मिटरको प्रबन्ध गर्ने समझदारी

प्रमुख जिल्ला अधिकारी छविराज रिजाल, नेपाली कांग्रेसका सभापति देउकुमार थेवे, नेकपा एमालेका अध्यक्ष दीपक कार्की, उद्योग वाणिज्य संघ प्रदेश १का अध्यक्ष टीकाराज ढकाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी लगायतको सर्वपक्षीय बैठकबाट देवी हाट बुधवारेका व्यवसायीलाई तीन दिनभित्र विद्युत् मिटर जडानको प्रबन्ध मिलाउने समझदारी भएको छ ।

समझदारीसँगै पक्राउ परेका बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष शिवाकोटीसहित ११ जना नै विना शर्त रिहाई भएको बताइएको छ । सर्वपक्षीय बैठकमा सपिङ कम्प्लेक्स बनेको अवस्थामा त्यहाँका व्यापारीलाई व्यवसाय गर्न पहिलो प्राथमिकता दिने समझदारी भएको छ भने प्रशासन, राजनीतिक दल र वाणिज्य संघका प्रतिनिधिहरुबीच भएको समझदारी अनुसार व्यापारीलाई बिजुलीको मिटर जडान नभए आन्दोलनलाई अझ सशक्त बनाउने बिर्तामोड उद्योग वाणिज्य संघले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

समझदारीसँगै शान्तिपूर्ण आन्दोलन निरन्तर जारी रहने शिवाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विहीवार बिहान १० बजे नगरपालिका पुगेर व्यापारी व्यवसायी र वाणिज्य संघका प्रतिनिधिले शान्तिपूर्ण बिरोध र धर्नाका कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । बुधवारे हाट बिर्तामोड नगरपालिका–५मा रहेको छ ।

के हो समस्याको जड ?

झोडा निवासी मैतबीर लिम्बू, कुवेरजंग कन्दङ्वा, मेदनी कन्दङ्वा लगायतले बुट्टावारीमा हाट बजार लगाउन पहल गरिदिन आग्रहसहित हर्कलाल गिरीसमक्ष प्रस्ताव गरेपछि गिरीको पहलमा बिर्तामोडमा वुधवारे हाट लाग्न शुरु भएको बताइन्छ । जसका लागि बिर्तामोड निवासी रामवावु प्रसाईले एक विगाह तीन कठ्ठा जमिन निःशुल्क प्रदान गरेका थिए । लिम्बू र कन्दङ्वाले गिरी समक्ष बजारको प्रस्ताव ल्याएसँगै गोपालकुमार बस्नेत सहितले जग्गाको व्यवस्थापनका लागि पहल गरेका थिए । सो क्रममा निर्वासित जीवन बिताई रहेका रामवावु प्रसाईलाई शिलगढीमा भेटेर बुधवारे हाटका लागि जमिन व्यवस्थापन गरिएको थियो ।

शुरुमा प्रसाईले हाल नेपाल बैक (शनिश्चरे रोड) रहेको स्थानमा १० कठ्ठा जमिन वुधवारे वजारका लागि उपलब्ध गराएका थिए । तर, तत्कालीन सीडीओ दानबहादुर शाही र भद्रपुर निवासी ओम सरावगीले वुधवारे वजारको विरोध गरेका थिए । भद्रपुर वजार खच्कने डरले वुधवारे वजारको विरोध जनाएपछि रामवावुले थप १३ कठ्ठा जमिन उपलब्ध गराउँदै एक विगाह ३ कठ्ठा जमिन हाल वुधवारे हटिया लाग्ने ठाउँमा उपलब्ध गराउँदै देवी हाट बुधवारे बजार नामकरण गरेका थिए ।

बिर्तामोडमा २०२९ सालदेखि बुधवारे बजार लाग्दै आएको बजारका संस्थापक हर्कलाल गिरी बताउँछन् । जतिवेला उनी अनारमनीको वडा नम्वर ४ का सदस्य थिए । २०३९ सालमा अनारमनी गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्वाचित भएसँगै गिरीकै पहलमा बुधवारे वजारलाई थप व्यवस्थित गर्दै लगेका थिए । सो समयमा रामवावुले गाउँ पञ्चायतका नाममा सो जमिन रजिष्टे«शन गरिदिएका थिए । उनी प्रधानपञ्च भएकै समयमा बिर्ताबजारमा ४२ र बिर्तामोडमा ६२ वटा टहरा निर्माण गरेका थिए ।

देवी हाट वुधवारे बजारका रुपमा विकसित हुँदै गएको यो वजारमा २०४६ सालपछि अतिक्रमण शुरु भएको गिरी बताउँछन् । हाल बजारको एक विगाह तीन कठ्ठा जमिनमध्ये दुई कठ्ठा जमिन अतिक्रमण भएको उनको भनाइ छ । शुरुमा दैनिक भिटौरी कर उठाउँदै सञ्चालन गरिएको यो वजारलाई व्यवस्थित गर्न नगरले पनि खासै पहल नगर्नु र समयमै सुकुम्वासीको व्यवस्थापन गर्न नसक्दा अहिलेको परिणाम उत्पन्न भएको जानकारहरु बताउँछन् ।

दाता परिवारले जमिन उपलब्ध गराउँदै दाताको सहमति विना जग्गाको किनवेच गर्न, सट्टापट्टा गर्न र अन्य प्रयोजनमा लगाउन पाइने छैन भन्ने श्रेष्तामा नै उल्लेख गरिएको गिरीको भनाइ छ ।

समस्याको समाधानका लागि नगरपालिका र बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्य हुन जरुरी रहेको हर्कलाल बताउँछन् । उनी भन्छन्– यो समस्या केही पनि होइन, यसको निराकरण सहज छ । तर, व्यवस्थापन गर्न जान्नुपर्छ । दाता परिवार, संस्थापकहरुलाई राखेर वार्ता र सम्वाद गरे क्षण भरमा नै यसको निकाश निस्कन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here