बिर्तामोडका महिला नौमती बाजा बजाउँदै उर्लाबारीमा

९ असार २०७९, बिहीबार मा प्रकाशित

उर्लाबारी ।

उर्लाबारी बजारमा मध्यदिनको १२ बजे केही चहलपहल थियो । चोकैमा रहेको सगरमाथा सहकारीको प्राङ्गणमा एउटा विवाह कार्यक्रम थियो ।

बिर्तामोडबाट आएको जन्तीका अगाडि बजेको नौमती बाजाले सबैको ध्यान खिच्यो । त्यतातिर नजर लगाउँदा त, सबै जना छक्क परे । ढाकाको साडी, ढाकाकै चोलो, तिलहरी, शिरमा शिरफूल, कम्मरमा पहेँलो पटुकीलगाएका महिलाहरु नौमती बाजा बजाउँदै अगाडि बढ्दा फोटो र भिडियो खिच्नेको भीड नै लाग्यो । बृद्धादेखि युवा उमेरसम्मका महिलाहरु हातमा नर्सिङ्गा, सहनाई, दमाहा, ट्याम्को र झ्याली लिएर नौमती बाजा बजाउँदै नाच्दै अघि बढ्दा त्यहाँको रौनक नै बदलियो ।

कुनै जाति विशेष र पुरुषले मात्र बाजा बजाउनुपर्छ भन्ने पुरानो मान्यतालाई तोड्दै विर्तामोड–१का यी महिलाहरुले समूह बनाएर नौमती बाजा बजाउन थालेको एक वर्ष भएको छ । शुरुमा बाजा बजाउँदै विभिन्न ठाउँमा पुग्न सहज थिएन तर चुनौतिलाई पार गर्दै अहिले उनीहरु निर्धक्क बाजा बजाउन थालेका छन् । १५ जना महिला मिलेर उनीहरुले देवी पञ्चकन्या नौमती बाजा समूह गठन गरेका छन् । समूहकी अध्यक्ष दिलकुमारी थपलियाको अगुवाईमा शुरुमा उनीहरुले तीन महिना बाजा बजाउने तालिम लिए ।

‘नौमती बाजा, नेपाली पहिचान, नेपाली पहिरन लोप हुँदै गएको छ’– अध्यक्ष थपलियाले भनिन्– ‘यो पहिचानलाई जोगाउनु पर्छ, लोप हुन दिनुहुँदैन भनेर हामी अघि सरेको हौं ।’ शुरुमा छरछिमेकी र आफन्तबाट धेरै टीकाटिप्पणी खेपेका उनीहरु अहिले भने विवाह, व्रतबन्धलगायत शुभकार्यमा बाजा बजाउनकै लागि विभिन्न स्थानमा पुग्ने गरेका छन्, हौसला पाएका छन् । ‘शुरुमा कसैले प्रेरणा दिनुभयो, कसैले घृणा’– उनले भनिन्– ‘घृणालाई पन्छाउँदै यो अवस्थामा आएका छौं ।’ संस्कृति संरक्षणमा आफूहरुको प्रयासलाई अहिले भने घरपरिवार र समाजले पनि राम्रो मान्न थालेको अध्यक्ष थपलिया बताउँछिन् ।

समूहमा आवद्ध सबै महिला विवाहित छन् । एकै परिवारका आमा छोरी र सासू बुहारी पनि समूहमा छन् । हजुरआमादेखि नातिनी उमेर समूहका पनि छन् । १५ जनाको समूह छ । सबै जनालाई घरपरिवारको राम्रो सहयोग छ ।

विवाह, ब्रतबन्ध, पुराणजस्ता विशेष कार्यक्रममा नौमती बाजा बजाउन झापा, मोरङ मात्र होइन, नारायणघाटसम्म पुगेको उनीहरुको अनुभव छ । उनीहरुले बाजा बजाएको ३० हजारसम्म लिने गरेका छन् । यसबाट ५ हजार समूहको कोषमा राख्ने गरेका छन् । अवस्था अनुसार कम शुल्क र कहीँ निःशुल्क पनि बाजा बजाउने गरेको उनीहरुले बताए ।

७१ वर्षीया विष्णुमाया घिमिरे समूहकी ज्येष्ठ सदस्य हुन् । ‘पहिले बाजा समात्दा पनि जात जान्छ भन्थे’– विष्णुमायाले भनिन्– ‘यी जातपातका कुरा नआउन् भनेर पनि बाजा बजाएका हौं, कसैलाई पनि छुवाछूत नहोस्, बाजा बजाउँदैमा अलग्गै हुनुपर्छ भन्ने नहोस्, सबै मानिस समान हुन् ।’ शुरूका दिनमा बाजा बजाउँदै हिँड्दा निकै समस्या परेको घिमिरेले बताइन् । ‘बुढापाका र अग्रजहरुले देख्दा के भन्लान् कि भनेर बाजा लुकायौं पनि’– घिमिरेले भनिन्– ‘अहिले त्यस्तो छैन, सबैले हौसला दिनुभएको छ ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here