कनकाईका दलित बिद्यार्थीलाई छात्रवृत्ति

९ असार २०७९, बिहीबार मा प्रकाशित

सुरुङ्गा ।

नेपाल दलित उत्थान सञ्जाल कनकाईले १८ जना दलित गरीब तथा जेहेन्दार विद्यार्थीलाई बुधवार छात्रवृत्ति प्रदान गरेको छ ।

सञ्जालले आफ्नो अक्षयकोषबाट प्राप्त व्याजबाट कनकाई नगरपालिकाका माध्यमिक तहमा अध्ययनरत् १८ जना बिद्यार्थीलाई जनही ५ हजारका दरले छात्रवृत्ति प्रदान गरेको सञ्जालका उपाध्यक्ष दलबहादुर विश्वकर्माले जानकारी दिए ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उक्त छात्रवृत्ति रकम प्रदान गरेका थिए । सोही अवसरमा सञ्जालले कनकाई नगरपालिकाबाट निर्वाचित दलित महिला सदस्य र नगरप्रमुख, उपप्रमुखलाई समेत सम्मान गरेको थियो ।

केही बर्ष पहिले कनकाई नगरपालिकाले नेपाल दलित उत्थान सञ्जाललाई अक्षयकोषका लागि ५ लाख रुपैयाँ र तत्कालीन संविधानसभा सदस्य प्रेमबहादुर गिरीले थप एक लाख रुपैयाँ समेत प्रदान गरेका थिए । उक्त अक्षयकोषको व्याजबाट सञ्जालले कनकाईका ९ वटै वार्डबाट प्रत्येक वार्डबाट २ जनाको दरले १८ जनालाई छात्रवृत्ति रकम प्रदान गर्दै आएको छ ।

छात्रवृत्ति प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख पोखरेलले दलित बिद्यार्थीका लागि हरेक बर्ष नगरले शिक्षामा बजेट बिनियोजन गर्ने र दलित विद्यार्थीलाई प्राविधिक शिक्षामा समेत अभिप्रेरित गर्दै लैजाने प्रतिवद्धता जनाए ।

कार्यक्रममा कनकाई नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा बर्देवा, विद्यार्थी सुजन वयलकोटी, सल्लाहकार भक्त घतानी, दलित युवा सञ्जाल कनकाईका अध्यक्ष कैलाश नेपाली, सञ्जालका पूर्वअध्यक्ष डम्बर साशंकर लगायतले दलितका शिक्षा र अन्याय पर्दाका वेलामा समेत सञ्जालले काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रम सञ्जालका अध्यक्ष ठाकुर बराइलीको सभापतित्व तथा सचिव प्रदीप गजमेरको सञ्चालनमा कनकाई–७ स्थित दलित सामुदायिक भवनमा सम्पन्न भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here