साहित्य चौतारीको काव्यसभा, उत्कृष्ट पुरस्कृत

९ असार २०७९, बिहीबार मा प्रकाशित

बिर्तामोड ।

साहित्य चौतारी विर्तामोड झापाको आयोजनामा चौथो मासिक काव्यसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा संस्थाद्वारा २०७० सालमा साहित्यतर्फको साहित्य प्रतिभा पुरस्कार प्रदान गरिएका प्रखर कवि अभागी थेगुवाको प्रमुख आतिथ्य, संस्थापक संरक्षकद्वय देवीभक्त श्रेष्ठ र उर्मिला विमली श्रेष्ठ र मनिता श्रेष्ठको विशेष आतिथ्यमा मासिक काव्यसभा भएको थियो ।

मासिक काव्यसभाको प्रारम्भ सामुहिक राष्ट्रगान र शहीदहरुप्रति एकमिनेट मौनधारणबाट गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रखर कवि अभागी थेगुवाले पानसमा दीप प्रज्वलित गरेर उद्घाटन गरेको कार्यक्रममा संस्थाका सहसचिव देवीचरण भण्डारीले स्वागत गरेका थिए भने संस्थाका पूर्व सचिव दिवंगत स्रष्टा एवम् पत्रकार डिकमान विरहीले रचना गरेको साहित्य चौतारीको स्वागत गीत संस्थापक संरक्षक देवीभक्त श्रेष्ठलगायतले गाएर सहभागिलाई स्वागत गरेका थिए।

राधाकृष्ण किर्तन मण्डलीका कलाकारले संगिनी नृत्य प्रस्तुत गरी शुरु गरिएको कार्यक्रममा २०६८ सालमा संगीत तर्फ वाद्यवादनमा उत्कृष्ट स्थापित संगतिकार सम्मान पुरस्कार प्रदान गरिएका संगीतकार हरिप्रसाद पौडेलले एकल भ्वाईलन वादन गरेका थिए ।

उनले नारायण गोपालले गाएको “ जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ…… बोलको गीत ,अरुणा लामाले गाएको “ पोहोर साल खुसी फाट्यो त्यसलाई पनि मनले टालेँ…… बोलको गीतको धुन प्रस्तुत गरेका थिए भने गायक भक्त विश्वाशले लाईभ गाएको “ नेपाल आमा…… को गीतलाई भ्वाईलनको माध्यमबाट सुमधुर धुन गीत संगसंगै सुनाएर मन्त्रमुग्ध पारेका थिए ।

कार्यक्रममा प्रतियोगितात्मक प्रस्तुतिहरु गरिएको थियो । जसमा लक्ष्मी श्रेष्ठले गजल ,बालगायिका अनुश्का नेपालले गीत,अर्जुन पौडेलले संस्कृत भाषाको ,ज्येष्ठनागरिक देविमाया सुवेदीले लोकगीत, विनोद थापाले गजल,सुभाष रामदामले गीत, बिनोद भट्टराईले कविता ,रक्षा तिम्सिनाले गीत, कवि जीना अधिकारीले कविता र मोरिक साधना कलाकेन्द्र चारपानेका कलाकारहरले सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै प्रिति बस्नेतले गजल ,बालगायक निसान दाहालले गीत, बालगायक अप्सन रिजालले गीत ,निर्माणी पोखरेलले गीतको धुनमा गिटार बजाएकी थिइन् ।

रञ्जना बस्नेतले कविता,सनामणि हास्दाले सन्थाल भाषामा गीत, गृष्मादेश देवकोटाले कविता, मनिषा भट्टराईले नृत्य,सविन सिटौलाले कविता ,प्रेमिका पाण्डेले मुक्तक, दीपिका बुढाथोकीले गीत,सुमिना रिजालले नृत्य, बालकलाकार आरोही रायामाझीले नृृत्य , गायक निरज पोखरेलले गीत ,कवि शिवकुमार अधिकारी“इलामे जेठो“ ले मुक्तक बालकवि आरोह् दर्शन प्रसाईँले पनि गीत गाएका थिए । प्रस्तुत गरिएका सृजनाहरुलाई चारवटा विधामा वर्गीकरण गरेर प्रत्येक विधाबाट एक/एकजना प्रस्तोतालाई उत्कृष्ट प्रस्तोताको रुपमा छनौट गरेर पुरस्कृत गरिएको थियो ।

पुरस्कृत हुनेहरुमा सिर्जना तर्फ सविन सिटौला, गायन तर्फ दीपिका बुढाथोकी, वाद्यवादन तर्फ निर्माणी पोखरेल र नृत्य तर्फ मोरिक साधना कलाकेन्द्र चारपानेका कलाकारहरुको सामुहिक नृत्यलाई पुरस्कृत गरिएको थियो। उत्कृष्ट प्रतिभा छनौटका लागि कार्यक्रमका प्रमुख अतिथि कवि अभागी थेगुवा, कविहरु लीला अनमोल र खगिन्द्रा खुसी रहेको तीन सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो । विधागत रुपमा उत्कृष्ट चारजना प्रतिभाहरुको नाम लीला अनमोलले घोषणा गरेकी थिइन् ।

कार्यक्रममा झापाका प्रसिद्ध हास्यकवि रोहिणीविलास लुईंटेलको बारेमा लेखिएको कविता वाचन गर्दै कवि गीता निरौला भण्डारीले लुईंटेलको विधागत सृजनालाई समीक्षात्मक विवेचना गरेर उनको व्यक्तित्व र कृतित्वको वारेमा चर्चा गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि थेगुवाले आफू पनि साहित्य चौतारीको छत्रछाँयामा रहेर साहित्यिक क्षेत्रमा आएको बताउँदै मासिक काव्यसभाको निरन्तरताको कामना गरेका थिए । नारायण गोपाल स्मृति प्रतिष्ठान झापाका अध्यक्ष मोहन शिवाकोटी,साहित्य चौतारीका सल्लाहकार राजेन्द्र सङ्ग्रौला, लोकनाथ पौडेल, अनिरुद्र ओली, गीतकार एन.वि. दाहाल नवीन , क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधव कल्पित, साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडकी अध्यक्ष भगवती ढुङ्गेल, मातृकला साहित्य आश्रमका अध्यक्ष मातृका सङ्ग्रौलाको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन साहित्य संयोजक सुनिता तामाङले गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here