मेची–काली पैदल यात्राको सफलताको नजिक पण्डित तिम्सिना

0
503

सुरुङ्गा, कात्तिक १९ । मेची–महाकाली पैदल यात्रामा निस्केका पण्डित हरिप्रसाद तिम्सिनाले अहिलेसम्म १ हजार ८७ किलोमिटरको यात्रा पुरा गरेका छन् । बुधबारसम्ममा उनी बाँकेको कुसुममा पुगेका छन् । काकरभिट्टाबाट कुसुमसम्मको दूरी ७ सय ७३ किमि, बर्दिबासदेखि काठमाण्डौसम्मको दूरी १ सय ७५ किमि र काठमाण्डौदेखि नारायणगढसम्मको दूरी १ सय ३९ किमि रहेको र यति दूरी उनले पूरा गरेका छन् । विविधता भए पनि नेपाली वीचको एकता हुनुपर्ने र राष्ट्र, राष्ट्रियताको सम्बद्र्धन हुनुपर्ने नारा दिएर पण्डित तिम्सिना गएको असोज १८ मेची–महाकाली पैदल यात्रामा निस्केका थिए । कनकाई नगरपालिका–३ सुरुङ्गाका स्थायी बासिन्दा ६२ वर्षीय तिम्सिना आफ्नो लक्ष्यमा पुग्ने दृढता व्यक्त गर्दछन् । पहिलो संविधानसभा बिघटन भएर दोस्रो संविधानसभा गठन भएर पनि नेपाली वीचको एकता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता कायम हुने गरी संविधान जारी हुन समस्या पैदा भइरहेकाले तोकिएको समयावधिभित्र जनताले चाहे जस्तो संविधान जारी हुन सकोस् भन्ने कामनाका साथ आफूले १ हजार ३४ किमीभन्दा बढीको पैदल यात्रा शुरु गरेको तिम्सिनाले बताए । हेटौडा पुगेपछि हिन्दुहरुका आराध्यदेव पशुपतिनाथको आशीर्वाद लिएर मात्र यात्रा अगाडि बढाउनु उचित ठानी उनी भीमफेदी हुँदै काठमाण्डौ पुगेका थिए । यसबाट उनको यात्राको दूरी र समयावधि दुवै बढेको हो ।
बन्दमुक्त सुरुङ्गाको सन्देश मुलुकभर प्रचार गरी सुरुङ्गाको चिनारी र गरिमालाई माथि उठाउन बुढै भए पनि हिम्मतका साथ आफूले पैदल यात्रा शुरु गरेको उनले बताए । आम झापावासीको माया, प्रेरणा र आशीर्वाद आफूसँग रहेकाले राष्ट्रप्रेमको सन्देश प्रबाह गर्ने यो कर्ममा सफल हुने उनले दावी गरे । आधाभन्दा बढी यात्रा गरिसकेको र हरेक ठाउँका मानिसले आफूलाई हौसला दिएको उनले बताए । ठाउँ ठाउँका मानिससँग अन्तरक्रिया गर्दै, सार्वजनिक ठाउँमा रहेका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका पदाधिकारीसँग विचारको आदानप्रदान गर्दै र स्मरणका लागि उनीहरुका हस्ताक्षर र विचारहरुको टिपोट समेत लिदै नेपाली झण्डा बोकेर अघि बढिरहेको उनले बताए । बाटोमा अगाडि बढ्ने क्रममा लामो समयसम्म एकान्त बाटो हिंड्नुपर्ने, राजमार्गमा गुडिरहेका सवारीसाधनले हिर्काउने सम्भावना रहने, धुलोधुवाँ आदिको समस्या सधै रहिरहने उनले बताए । पाँचथर सुभाङ्ग–३ मा मेदनिधि र कृष्णमाया तिम्सिनाका पूत्ररत्नका रुपमा जन्मेका तिम्सिनाले शरीर कमजोर भए पनि राष्ट्रप्रेम र धार्मिक आस्थाका कारण आफू एकल मेची–महाकाली पैदल यात्रामा निस्केकोे बताए । धर्मपत्नी भगीरथा, १ छोरा फडिन्द्र, २ छोरीहरु राधा र तारा तथा ३ जना नातिनातिना रहेका तिम्सिना आफ्नो यात्राका लागि परिवारबाट ठूलो हौसला पाएको बताए । यात्रा जारी रहेकै अवस्थामा पूर्वाञ्चलकर्मीसँग कुराकानी गर्दै पण्डित तिम्सिनाले यो यात्रा आफ्नो लागि एउटा कठीन तपष्या भएको र कनकाई माई भगवतीको कृपा र शुभचिन्तकहरुको मायाले आपूmमा हौसला बढेकोले सफल हुनेमा विश्वास रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here