भद्रपुरको नीति कार्यक्रम पारित

१० असार २०७९, शुक्रबार मा प्रकाशित

पार्थ मण्डल,
भद्रपुर ।

प्रदेश नम्बर १ कै प्रथम बालमैत्री स्थानीय शासनयुक्त झापाको सदरमुकाम भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रमका लागि ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।

भद्रपुर नगरपालिकाको ११औं नगरसभाले स्वीकृत गरेको नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत गर्दै उपप्रमुख राधा कार्कीले आर्थिक विकासतर्फ ३ करोड ५१ लाख, सामाजिक विकासतर्फ ३२ करोड ६० लाख ७३ हजार, वातावरण तथा विपत् व्यवस्थापनतर्फ ८३ लाख ५० हजार, संस्थागत विकास÷सेवा प्रवाह÷सूचना प्रविधि विकास तथा कार्यालय सञ्चालनतर्फ १६ करोड ४५ लाख र पूर्वाधार विकासतर्फ ३७ करोड ९४ लाख गरी ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको बताइन् ।

चालूआर्थिक वर्ष २०७८÷०९८मा नगरपालिकाको बजेट ८३ लाख १३ लाख २ हजार रहेको थियो । आगामी आर्थिक वर्षका लागि ८ करोड २१ लाख २१ हजार बजेट बढी ल्याएको छ । ल्याएको अनुमानित बजेट खर्च व्यहोर्ने श्रोतमध्ये नगरपालिकाको आन्तरिक आय ५ करोड १५ लाख, योजनामा जनसहभागिताबाट २ करोड ७ लाख, राजश्व बाँडफाँडतर्फ संघबाट १२ करोड ६८ लाख ६२ हजार, प्रदेशबाट ८० लाख, स्थानीयबाट ४ करोड ६३ लाख ५३ हजार गरी राजश्व बाँडफाँडबाट जम्मा १८ करोड १२ लाख १५ हजार, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समीकरण अनुदानबाट २१ करोड ३४ लाख ८५ हजार, समपूरक अनुदानबाट २ करोड, सशर्त अनुदानबाट २९ करोड १५ लाख २३ हजार, विशेष अनुदानबाट २ करोड ५० लाख गरी वित्तीय हस्तान्तरणबाट प्राप्त जम्मा ४५ करोड ८ हजार रहेको छ ।

नगरपालिकाको आन्तरिक आय, योजनामा जनसहभागिता, राजश्व बाँडफाँड र वित्तीय हस्तान्तरणबाट अपुग हुने ११ करोड चालू आर्थिक वर्षको योजना तथा कार्यक्रमहरू सञ्चालन नभई बाँकी रहेको रकम तथा संघ तथा प्रदेशबाट राजश्व बाँडफाँडबाट प्राप्त भएको बढी रकमबाट बचत मौज्दातबाट व्यहोरिने अनुमान गरिएको छ । ‘पूर्वी क्षेत्रको व्यापारिक द्वार, शान्ति र समृद्धिसहितको भद्रपुर नगर’ भन्ने नारा दिएको नगरमा नवनिर्वाचित जनप्रतिनिधिहरूले आगामी आर्थिक वर्षका लागि केही विशेष कार्यक्रमहरू नीति तथा कार्यक्रममा समावेश गरेका छन् ।

शिक्षा, युवा तथा खेलकुदतर्फ कक्षा १देखि ५ सम्मका सबै विद्यार्थीहरूलाई निःशुल्क विद्यालय पोसाक वितरण गर्ने, माध्यमिक तह छात्राहरूलाई विशेष छात्रवृत्ति प्रदान गर्ने, विज्ञान सङ्काय पढ्ने विपन्न समुदायका छात्राहरूलाई मासिक शुल्क नगरपालिकाले उपलब्ध गराउने, नगर नमूना विद्यालय घोषणा गरी नगरको एक आधारभूत विद्यालयलाई वार्षिक १० लाख उपलब्ध गराउने, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई मासिक एक हजारको दरले भत्ता उपलब्ध गराउने, प्राथमिक तहमा बालमैत्री फर्निचर व्यवस्थापन गर्ने रहेको छ ।

त्यस्तै दरबन्दी प्राप्त नगरेका ११–१२ सञ्चालित सामुदायिक विद्यालय (चन्द्र भानु र सगरमाथा मावि) लाई अनुदान उपलब्ध गराउने, नगरमा एक बहुप्राविधिक विद्यालयको स्थापना गर्ने, बाल शिक्षकहरूको तलबमा १५ प्रतिशत वृद्धि गर्ने, विद्यालय लेखा कर्मचारीहरूको तलब समायोजन गरी मासिक २० हजार कायम गर्ने र अन्य विद्यालय कर्मचारीहरूको लागि अवकाश कोषको स्थापना गर्ने, विद्यालयलाई तलब र लेखा सम्बन्धी कार्य गर्नलाई सफ्टवेयर उपलब्ध गराउने, बिद्यार्थी संख्या कम भएका सामुदायिक विद्यालय एकीकरणका लागि सरोकारवालाहरूसँग छलफल अघि बढाउने रहेको छ ।

त्यस्तै कृषि पाठशाला सञ्चालन गर्ने, १० वटा सामुदायिक विद्यालयमा खानेपानीको व्यवस्था गर्ने, जीर्ण रहेका छानाहरूलाई विस्थापित गरी नयाँ छाना लाउने, बाल विकास शिक्षकहरूलाई मन्टेश्वरी तालिम प्रदान गर्ने, नगर भित्रका ५ वटा बाल विकास केन्द्रलाई नमूना बाल विकास केन्द्रको रुपमा विकास गर्ने, प्रथम भद्रपुर युवा महोत्सव सञ्चालन गर्ने, मेची रङ्गशालामा प्रत्येक वर्ष भद्रपुर गोल्डकप सञ्चालन गर्ने, एसइईमा उत्कृष्ट एक छात्रा र एक छात्रलाई प्रोत्साहन स्वरूप ल्यापटप उपलब्ध गराउने, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको मासिक बैठकमा यातायात खर्च उपलब्ध गराउने, प्रत्येक विद्यालयका एक/एक जना शिक्षकलाई लामो अवधिको तालिम दिई कम्प्युटर प्रशिक्षकको रुपमा विकास गर्ने रहेको छ ।

त्यसैगरी नगरमा बहु प्राविधिक विद्यालयको स्थापना गर्ने, नगरले सञ्चालन गर्ने शिक्षा केन्द्रित तालिम तथा कार्यक्रमहरूमा संस्थागत विद्यालयलाई सहभागी गराउने, नगरका सामुदायिक तथा संस्थागत विद्यालयका सबै विद्यार्थी एउटै पोसाक कायम गर्न छलफल प्रारम्भ गर्ने, शिक्षकहरूलाई कार्यसम्पादनमा आधार रही वार्षिक तथा तहगत रुपमा उत्कृष्ट शिक्षक सम्मान गर्ने कार्यक्रम ल्याएको नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए ।

त्यस्तै स्वास्थ्यतर्फ पृथ्वीनगर, महेशपुर र चन्द्रगढी स्वास्थ्य चौकीहरूमा साउन १ गतेदेखि एमवीवीएस डाक्टरले सेवा दिने, महेशपुर स्वास्थ्य चौकीमा ल्याब सञ्चालन गर्ने, गर्भवती महिलाहरूलाई पोसिलो खानेकुरा र सुपानेट झुल वितरण गर्ने, ज्येष्ठ नागरिक, मजदुर र विद्यालय तहका विद्यार्थीको वार्षिक एकपटक निः शुल्क स्वास्थ्य परीक्षण गरिने नगर प्रमुख पोखरेलले बताए । त्यसैगरी भद्रपुर वडा नम्बर १, २ र ३ मा कृषि तथा पशु सेवा केन्द्र स्थापना गर्ने, कृषिजन्य र पशुजन्य उत्पादनको बजारीकरणको लागि मोबाइल एपको प्रबन्ध गर्ने, ज्येष्ठ नागरिक चौतारी निर्माण गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै सुकुम्वासी र अव्यवस्थित बसोबास गर्ने व्यक्तिलाई जग्गा धनीपूर्जा उपलब्ध गराउने, सार्वजनिक स्थलमा सीसी क्यामेरा र वाइफाइको व्यवस्था मिलाउने, ५ वर्ष भित्र प्रत्येक वडामा एउटा बाल उद्यान तथा खुला व्यायामशाला निर्माण गर्ने, बहुजातीय, बहुभाषिक अध्ययन प्रतिष्ठान र आदिवासी सङ्ग्रहालयको स्थापना गर्ने, असहाय विपन्न र ज्येष्ठ नागरिकको लागि निःशुल्क एम्बुलेन्स सेवा, जनताका गुनासा सुन्नका लागि नगरपालिकामा हटलाइन नम्बर राख्ने, जनतासँग साक्षात्कार गरी विविध विषयमा छलफल तथा सुझावका लागि हेल्लो मेयर कार्यक्रम सञ्चालन गर्ने, राजमार्गका मुख्य चोकमा व्यवस्थित यात्रु प्रतीक्षालय निर्माण गर्ने कार्यक्रम रहेका छन् ।

त्यसैगरी निःशुल्क कृषि तथा पशु बिमा कार्यक्रम सञ्चालन गर्ने, सन्थाल समुदायको निःशुल्क स्वास्थ्य बिमा गर्ने, महेन्द्र पार्कको सुधार गरी व्यवस्थित उद्यानको रुपमा विकास गर्ने, निःशुल्क शवबाहन उपलब्ध गराउने, सबै नागरिकका घरमा नागरिक वडापत्र पु¥याउने, निर्माण सम्पन्न भएका सडकहरूमा लेनमार्क र रेखाङ्कन गर्ने, दुबैतर्फ बिरुवा रोप्ने, नगरस्तरीय साहित्य तथा कला प्रतिष्ठान निर्माण गर्ने नगर प्रमुख पोखरेलले बताए ।

नगर सभामा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, १० वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । नगरसभा नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि नगरसभा सम्पन्न भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here