झापामा बाढीबाट क्षति हुन थाल्यो

१० असार २०७९, शुक्रबार मा प्रकाशित

झिलझिले।

केही दिनदेखि परेको अविरल बर्षाका कारण झापाका नदीनालामा आएको बाढीले भौतिक संरचनामा क्षति पुग्न थालेको छ । कतिपय ठाउँमा बाढीले सडक बगाएको छ भने कतिपय ठाउँमा पुल, कल्भर्ट भत्काउन थालेको छ ।

जिल्लाको शिवसताक्षी नगरपालिका पनि बर्षौंदेखि यसबाट अछुतो छैन । कनकाई, भालुखोला, दूधे, झिलझिले, सतासी, डूँडामारी, कमल लगायतका नदीमा आएको बाढीले अघिल्ला वर्षमा ठूलै जनधनको क्षति गरेको थियो । यो वर्षको मनसुन सक्रिय हुन थालेपछि बिगतकै क्षति दोहोरिने चिन्तामा छन्– स्थानीय बासिन्दा ।

जथाभावी निर्माण सामग्रीको उत्खनन् गर्दा नदी नाला गहिरिएर आएको बाढीले खेतीयोग्य जमिन कटान गर्ने, भएका भौतिक संरचना भत्किने गरेका छन् । शिवसताक्षीमा तीन वर्षअघि मात्र निर्माण भएको दुई गाउँ जोड्ने पुल भासिएको छ । स्थानीय वडा नम्बर ११को फकलेण्ड टापु र सृजना टोल जोड्ने बडरे खोल्साको पुल भाँसिदा दुई मानव बस्तीको आवागमन असहज भएको हो ।

केही दिन अघि परेको पानीसंगै आएको बाढीले खोल्सो गहिरिँदा पुल भाँसिएको स्थानीयबासिन्दाले बताएका छन् । खोला खोल्साबाट जथाभावी निर्माण सामग्रीको उत्खनन् गर्दा खोल्सा गहिरिएर पुल भासिएको स्थानीय प्रदीप बस्नेतले बताए । उनका अनुसार निर्माण व्यवसायीले मनलाग्दी खोल्साको बालुवा दोहन गरेका थिए ।

भासिएको पुल तीन वर्ष अघिमात्र निर्माण भएको हो । नेकपा एमालेका नेता समेत रहेका सांसद हरि राजवंशीमार्फत सांसद विकास कोषबाट सो पुल निर्माणका लागि ७ लाख खर्च भएको थियो । यस्तै शिवसताक्षी नगरपालिकाबाट पनि २ लाख ५० हजार गरेर ९ लाख ५० हजारमा पुल निर्माण भएको नेकपा एमाले शिवसताक्षी नगरपालिका वडा नम्बर ११का अध्यक्ष डम्बरबहादुर लामाले जानकारी दिए ।

स्थानीयका अनुसार खोल्सा ४ फिट गहिरिएको छ । पुल भासिएपछि फकलेण्ड टापु र सृजनाटोल ओहोरदोहोर गर्न स्थानीयलाई समस्या भएको अर्का स्थानीय सनम राईले बताएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here