विद्युतीय सवारी : फाइदा र बेफाइदा

१० असार २०७९, शुक्रबार मा प्रकाशित

के विद्युतीय कारमा तपाईंको रुची छ ? हुन सक्छ, तपाईंले आफ्नो अर्को कार विद्युतीय नै हो भन्ने चाहनुभएको छ ? नेपालमा विद्युतीय कारको लोकप्रियता बढिरहेको छ । सरकारले यो वर्षको बजेटमा विद्युतीय सवारीसाधनमा लगाउँदै आएको अन्तःशुल्क पूर्णरुपमा हटाउने र भन्सार शुल्क पनि घटाउने घोषणा गरिसकेको छ । गत वर्ष अघिल्ला अर्थमन्त्रीले विद्युतीय कारमा पनि इन्धनबाट चल्ने कारमा झैं कर लगाउने निर्णय गरेपछि भर्खरै बामे सरिरहेको विद्युतीय सवारीसाधनप्रतिको आकर्षण अचानक घटेको थियो ।

यो वर्ष भने सरकारले गत वर्षको निर्णयलाई उल्ट्याएन मात्र सडक सवारी करलाई पनि छुट दिने बताएको छ । यी कारणहरुले गर्दा नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण फेरि बढ्ने निश्चित छ । त्यसो त इलेक्ट्रिक मोटरिङ हरेकका लागि व्यवहारिक नहुन सक्छ । तर, अहिले शून्य उत्सर्जनको महत्वबारे पनि धेरै चर्चा भइरहेको छ ।

मानिसहरु अहिले किन विद्युतीय कारप्रति आकर्षित भइरहेका छन् त ? यो निकै जटिल प्रश्न हो । पहिले धनाढ्यहरुको मात्र रोजाइमा पर्ने विद्युतीय सवारीसाधन इन्धन खर्चको बचत, कर छुट र बढ्दो ब्याट्री रेन्ज आदिले गर्दा अहिले पेट्रोल र डिजेल कारको विकल्प बनिरहेको छ ।

हो, प्रविधि अझै पनि महँगो छ, त्यसैले विद्युतीय सवारीसाधन समान क्षमता र फिचर भएका पारम्परिक सवारी साधनभन्दा अझै पनि महँगा छन् । विद्युतीय कारबाट तपाईंले के अपेक्षा गर्न सक्नुहुन्छ भन्ने थाह पाउन यसको फाइदा र सीमाहरुबारे जान्न जरुरी हुन्छ । यसले तपाईंको अर्को कार के हुनुपर्छ भन्ने निर्णय गर्न सहज बनाउने छ ।

विद्युतीय कारका फाइदाहरु :

शून्य उत्सर्जन

विद्युतीय कारलाई एउटा ठूलो ब्याट्रीले ऊर्जा दिन्छ र विद्युतीय मोटरबाट यो चल्छ । त्यसैले यसमा इञ्जिन हुँदैन र उत्सर्जन पनि गर्दैन । तर, याद राख्नुपर्ने कुरा के हो भने तपाईंले इलेक्ट्रिक कार चार्ज गर्दा नेशनल ग्रीड प्रयोग गर्नुहुन्छ । जसलाई कोइला, आणविक, वायु वा सौर्य ऊर्जाबाट उत्पादन भएको बिजुली फिड गरिएको हुन्छ । त्यसो त नेपालमा जलस्रोत बाहेक अन्य स्रोतबाट विद्युत उत्पादन अत्यन्त कम गरिन्छ ।

कर छुट

कागजी रुपमा विद्युतीय सवारीसाधनको मूल्य इन्धनबाट चल्ने सवारीसाधनभन्दा बढी महँगो हुन्छ । तर, सरकारले अहिले अन्तःशुल्क र भन्सार छुट गरेको छ । जसले गर्दा यस्ता कारको मूल्यमा ३० देखि ४० प्रतिशतसम्म कमी आएको छ । यसका साथै सरकारले पाँच वर्षका लागि सडक कर छुट गर्नेसमेत भनेको छ । तर, सेकेन्डह्यान्ड विद्युतीय कारको मूल्य एकदम नै कम छ ।

इन्धनको बचत

विद्युतीय कारप्रति आकर्षणको सबैभन्दा ठूलो कारणमध्ये एक पेट्रोल वा डिजेल खर्चको बचत हो । नेपालमा अहिले पेट्रोलको मूल्य प्रति लिटर १२५ रुपैयाँ छ भने डिजेलको १०८ रुपैयाँ । यदि तपाईं एक वर्षमा १५ हजार किलोमिटर गाडी चलाउनुहुन्छ भने विद्युतीय कारमा स्वीच गर्दा तपाईंले वर्षमा एक लाख रुपैयाँ बचत गर्नुहुन्छ । यसका साथै इन्धन आपूर्तिमा समस्या र पम्पमा लाइन बस्नुपर्ने झन्झट पनि हुँदैन ।

मर्मत खर्चको बचत

विद्युतीय कारमा इन्जिन आयल चेन्ज गर्नु पर्दैन । यसमा घर्षण हुने पार्ट्स पनि कम हुन्छ । त्यसैले, विद्युतीय कारको मर्मत खर्च पेट्रोल वा डिजेलबाट चल्ने सवारीभन्दा कम हुन्छ । तर, ब्याट्रीमा समस्या आयो भने चाहिँ त्यो तपाईंका लागि महँगो सावित हुन सक्छ ।

आवाजविहीन यात्रा

विद्युतीय कारहरुबाट करिब आवाज नै आउँदैन । शुरु–शुरुमा त तपाईंलाई यात्रा अनौठो पनि लाग्ला । इन्जिनको चर्को आवाज यसमा हुँदैन । मोटरको सानो आवाज चाहिँ सुनिन्छ, हावा र टायरको आवाज पनि तपाईं सुन्न सक्नुहुन्छ । तर, गाडीको ‘रेभ’ वा आवाज नै मन पराउनेको जमात पनि ठूलो छ । उनीहरुका लागि इन्जिनको आवाजले यात्रामा रोमाञ्चकता थप्छ ।

अर्को कुरा विद्युतीय कारमा विद्युतलाई सिँधै पाङ्ग्रामा जोडिएको मोटरमा दिइन्छ । यसमा एक्सिलेरेसन तत्काल हुन्छ । तर, पारम्परिक कारमा भने एक्सिलेरेसनको पेडल थिचेपछि इन्जिनमा इन्धनको मात्रा बढ्छ र त्यसपछि मात्र त्यो ऊर्जा पाङ्ग्रामा सर्छ । त्यसैले, विद्युतीय कारमा एक्सिलेरेसन सहज र बढी प्रभावकारी हुन्छ ।

विद्युतीय कारका सीमा रेन्जको तनाव

पहिले त एक पटक फूल चार्ज गर्दा तय गर्ने दूरी (जसलाई रेन्ज भनिन्छ) निकै नै कम हुन्थ्यो । फूल चार्जमा एक सय किलोमिटर गुड्नुलाई पनि ठूलो उपलब्धि मानिन्थ्यो । अहिले विद्युतीय कारको रेन्जमा बिस्तारै सुधार हुँदै आएको छ । बजारमा उपलब्ध विद्युतीय कारको रेन्ज अहिले दुई सय किलोमिटर र त्योभन्दा बढी छ । तैपनि लामो दुरीको यात्रा गर्नेका लागि यो अपर्याप्त नै छ ।

चार्जिङ प्वाइन्ट

नेपालमा चार्जिङ स्टेसनको कन्सेप्ट अझै आइसकेको छैन । हाल नेपालमा दुई हजारको हाराहारीमा विद्युतीय कार होलान् । राजधानी काठमाडौं र मुख्य शहरमै पनि यस्ता स्टेशनहरु बनिसकेका छैनन् भने दुरदराजमा यस्तो पूर्वाधार निर्माण गर्न अझै वर्षौं लाग्न सक्छ । तसर्थ, लामो दूरी र दुर्गम स्थानमा वर्षौंसम्मका लागि पेट्रोल वा डिजेलबाट चल्ने गाडीको विकल्प छैन ।

चार्जिङ समय

फ्यूल ट्यांकमा इन्धन भर्ने र चार्ज गर्नेको तुलना हुन सक्दैन । फूल चार्ज गर्दा लाग्ने समय सवारीपिच्छे फरक हुन्छ । यो तपाईंको चार्जर र ब्याट्रीमा निर्भर हुन्छ । निसान लिफ ३० किलोवाट आवरलाई सात किलोवाटको चार्जरबाट पूरा चार्ज हुन चार घन्टा लाग्छ । टेस्लाको सुपरचार्जरले भने ३० मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्न सक्छ । घरमै राखिने चार्जरले एक घण्टा चार्ज गर्दा १५ देखि ३० माइल यात्रा गर्न सकिन्छ । फास्ट चार्जरको प्रयोग बढिरहेको छ जसले गर्दा चार्जिङ समय भने क्रमशः घट्ने निश्चित छ ।

आरामदायी ड्राइभिङ

विद्युतीय कार ब्याट्रीका कारण पेट्रोल वा डिजेलबाट चल्ने कारभन्दा गह्रौं हुन्छ । चर्को एक्सिलेरेसनका बाबजुद टेस्ला मोडेल एस जस्ता केही विद्युतीय कारको वजन कुनामा केन्द्रित हुन्छ जसले गाडीलाई गह्रौं अनुभव गराउनुका साथै दिशा परिवर्तन गर्न समेत अप्राकृतिक समय लगाइदिन्छ । यसले आरामदायी ड्राइभिङ मा सम्झौता गराउँछ ।

आफ्टर सेल्सको झन्झट

अहिले पारम्परिक सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको बिक्री तुलनात्मक रुपमा निकै कम छ । त्यसैले आयातकर्ताहरुको ध्यान पारम्परिक कारको आफ्टर सेल्समा बढी रहेको छ । पर्याप्त पूर्वाधार नभएका कारणले पनि यस्तो भएको हुनसक्छ । आयातकर्ताले विद्युतीय कारको पार्ट्सको पर्याप्त स्टक नराख्ने हुनसक्छ जसले गर्दा कारमा कुनै समस्या आएमा महिनौं थन्किन सक्ने सम्भावना पनि रहन्छ ।

अन्त्यमा

यदि तपाईंलाई पनि अन्य कार पारखीलाई झैं भविष्यतिर पाइला टेक्ने बेला भएको छ भन्ने लाग्छ भने कुनै निर्णयमा पुग्नुअघि तपाईंका लागि विद्युतीय वा डिजेल पेट्रोलबाट चल्ने (पारम्परिक) मध्ये कुन उपयुक्त होला भन्ने मूल्यांकन गर्न जरुरी छ । तसर्थ, विद्युतीय र पारम्परिक सवारीसाधनका आ–आफ्नै फाइदा र बेफाइदाहरु छन् ।

अझ नेपाल जस्तो देश जहाँ ग्रामीण क्षेत्रमा आवश्यक पर्ने पूर्वाधार नै छैन, त्यहाँ विद्युतीय कारमा स्वीच हुनु अलि चाँडो त हुँदैन भन्ने विचार राख्ने पनि धेरै छन् । त्यसैले यी दुईमध्ये कुनै पनि गाडी खरिद गर्ने योजना बनाउनु भएको छ भने एक पटक गम्भीर भएर पक्कै सोच्नु आवश्यक छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here