दुव्र्यसनविरुद्ध एकजुट होऔं

१२ असार २०७९, आईतवार मा प्रकाशित

आज जुन महिनाको २६ तारिख । आजको दिनलाई अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसका रुपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसंघले सन् १९८७ को घोषणापत्र मार्फत विश्व समुदायलाई लागू औषधको असर र कारोबारबाट मुक्त गर्ने उद्देश्यले यो दिवस मनाउन आह्वान गरेको थियो । यस वर्षका लागि ‘स्वास्थ्य मानवीय संकटका समयमा लागूपदार्थको चुनौतिहरुको सम्बोधन’ भन्ने नारा तय गरिएको छ । संयुक्त राष्ट्रसंघको आह्वान अनुरुप नेपालमा पनि लागूऔषधको सेवन, ओसारपसार र कारोबार आदिमा प्रतिबन्ध लगाइएको छ । त्यसका लागि लागूऔषध नियन्त्रण ऐनको व्यवस्था गरी लागूऔषधको कारोबारलाई निरुत्साहित गर्ने गरिएको छ । जुन वस्तुको सेवनले व्यक्तिमा उत्तेजना, आवेग वा शिथिलता र चेतनालाई विकृत तुल्याउँछ, त्यस्ता वस्तु लागूऔषध हुन् । जसअनुसार गाँजा, भाङ, चरेस, अफिम, हेरोइन आदि प्रतिबन्धित लागूऔषध हुन् । यिनलाई नेपालको कानूनले अवैध मानेको छ र सेवन, व्यापार वा आयातनिर्यातलाई दण्डनीय भनेको छ ।

विश्व आज पनि लागूपदार्थको त्रासदीमा छ । यसका प्रयोगकर्ताहरुको संख्या दिनहुँ बढ्ने क्रममा छ । त्यसमा पनि परिवार, समाज र देशको भविष्य बोकेका युवावर्ग लागूऔषधको सेवन, ओसारपसार र कारोबारमा संलग्न रहेको तथ्यांक दिनहुँजसो सार्वजनिक भइरहेको छ । थोरै समयमा पैसा कमाउने लालसा र नशाको लतले युवावर्ग जोखिममा पर्दै गइरहेका छन् । यसको सेवनका कारण प्रति वर्ष झण्डै दुई लाख मानिसको मृत्यु भइरहेको छ । हाम्रो छिमेकी देश भारतमा पनि लागूऔषध प्रयोगकर्ताको संख्या पन्ध्र करोडभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ । हामी उसँग खुल्ला सीमानाबाट जोडिएकाले हाम्रा युवाहरु पनि त्यसको प्रभावबाट मुक्त छैनन् । भारतबाट सजिलै आयात गर्न सकिने, कानून व्यवस्था फितलो र शासनमा रहने अस्थिरता जस्ता कारणले नेपाल लागूपदार्थको कार्यभूमि बन्दै गएको छ ।

पछिल्लो समय राजधानी काठमाडौंमा एक अर्बभन्दा बढी मूल्य बराबरको सेतो हेरोइन बरामद भएको छ । दुई महिनाको अवधिमा प्रहरीले बरामद गरेको सवा अर्ब रुपैयाँको सेतो हेरोइन तस्करीको आरोपमा विदेशी नागरिक पक्राउ परेका छन् । यद्यपि उक्त हेरोइन नेपालमा प्रयोग नहुने वर्गको रहेको प्रहरी अधिकारीहरुले बताएका छन् । तथापि यसले हाम्रो आगमन विन्दुको सुरक्षामा भने प्रश्न खडा गरेको छ । लागूऔषधको सेवन तथा कारोबार रोक्ने उद्देश्यले नेपालमा लागूऔषध नियन्त्रण ब्यूरो नामक छुट्टै इकाइ गठन गरिएको छ । उसैले सम्भावित बिन्दु तथा क्षेत्रमा चौबीसै घण्टा निगरानी गर्ने गरेको छ, तर पक्राउ पर्नेसँगै सेवनकर्ताहरुको संख्या घट्नुको साटो बढ्दै गएको छ । यसले हाम्रो भविष्य अनिश्चित हुने डर एकातिर छ भने अर्कातिर मानव स्वास्थ्य र पारिवारिक जीवनमा पर्ने असर अनुमान गरिनेभन्दा बढी छ । त्यसैले आजको दिनमा यस क्षेत्रमा काम गर्ने संघ–संस्था तथा निकायहरुले हातेमालो गर्न जरुरी छ । हामी सबैले पनि यसको कारोबार, तस्करी र सेवनविरुद्ध एकजुट हुँदै प्रभावकारी कानूनको माध्यमबाट दुव्र्यसनमुक्त समाज निर्माणमा लाग्नु पर्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here