लोप हुदैँ गएको बेठी संरक्षणमा मेचीनगरवासी : १९ औं राष्ट्रिय धान दिवसको अवसरमा सांसददेखि नेतासम्म रोपाहार

१५ असार २०७९, बुधबार मा प्रकाशित

लक्ष्मी उप्रेती,
मेचीनगर ।

बेठी लगाएर धान रोपाइँ गर्ने परम्परा लोप हुँदै गइरहेको बेला बुधबार झापाको मेचीनगरमा बेठी लगाए धान रोपाइँ गरिएको छ । बेठी लगाएर धान रोप्ने चलन निकै पुरानो मानिन्छ । ग्रामीण भेगका गाउँबस्तीमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुन थालेको छ । तर, झापाको मेचीनगरमा यसको संरक्षण गर्नुपर्छ भन्ने मान्यताका साथ रोपाइँ गरिएको हो ।

खेतका गरा नजीकै नौमती बाजा बजिरहेको छ । त्यही बाजाको धुनमा तालमा ताल मिलाएर रोपाहारहरु धान रोपिरहेका छन् । अनि रोपाहार छन्, प्रदेश सांसद्देखि स्थानीय सरकार प्रमुख, उपप्रमुख, वडा सरकार प्रमुखदेखि जनप्रतिनधिमात्र होइन् नेकपा एमालेका केन्द्रियदेखि स्थानीय तहसम्मका नेता कार्यकर्ताहरु ।

नेकपा एमाले निकट किसानहरुको संगठन अखिल नेपाल किसान महासंघ मेचीनगर कमिटीले अखिल नेपाल किसान महासंघ मेचीनगर—१३ वडा कमिटीको व्यवस्थापनामा १९ औं राष्ट्रिय धान दिवसको अवसर पारेर स्थानीय प्रेमप्रसाद भट्टराईको ३ विगाह जग्गामा बेठीसहित रोपाइँको आयोजना गरेको थियो । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो । असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन छ ।

अनि बेठीसहित रोपाइँको उद्घाटन गर्न पुग्नुभएको थियो नेकपा एमाले केन्द्रिय सदस्य एवम् झापा जिल्ला सह—इञ्चार्ज रावि कोइराला । उदघाटनका क्रममा उहाँलदेशको अर्थतन्त्र उकास्नका लागि पनि कृषिमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो नेता कोइरालाले कृषिमा आत्मनिर्भर बन्न पनि कृषि क्रान्ति गर्न जरुरी रहेको बताउनुभयो ।

असारे भाकामा बाउसे र रोपाहारको दोहोरीसहितको धान रोपाइँ बेठी परम्परा किसानको संस्कृति अब स्मृतिमा सीमित हुँदै जान थालेकाले यसलाई जिवन्त राख्नका लागि पनि कार्यक्रम आयोजना गरिएको अखिल किसान महासंघ मेचीनगर १३ वडा कमिटी अध्यक्ष जयनारायण दाहालको भनाई छ ।

लोप भइसकेको बेठी परम्पराको जगेर्ना गर्न र बेठी युवापुस्ताका लागि अत्यन्तै नौलो र रोचक दृश्य बनेकोे १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको भनाई छ । हराउनै लागेको बेठीको संरक्षण गर्नका लागि आफूहरुले यस वर्ष बेठीसहित रोपाइँ गरिएको प्रदेश सभा सदस्य मैनालीको भनाई छ ।

हिलो आली पर्याप्त पानी पुग्ने खेत, धानको बीउ, दर्जनौँ हलगोरु, सोही अनुपातमा बाउसे, रोपाहार अनि बाजागाजाको टोली भएपछि मात्र बेठीको रौनक शुरु हुन्छ । बुधबार यस्तै रौनक देखे झापा मेचीनगरवासीले । उस्वेला समाजमा बेठीमा आएका श्रमिकलाई ज्याला न दिने र पमृ समेत नतिर्ने चलन थियो । रोपाइँ गर्न पुग्नुभएका मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी रोपाइँ सकिएपछि माटोको टीका र धानको बीउको फूल लगाउने चलन हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । यसको संरक्षण आवश्यकता रहेकोले बेठीलाई संरक्षण गर्नुपर्ने नगरप्रमुख बुढाथोकीको भनाई छ ।

परम्परा विगतमा जुन हिसाबले थालनी गरिए पनि लोपोन्मुख संस्कृति भएकाले यसको संरक्षण गर्नु किसानको मात्र नभएर सरकारको समेत कर्तव्य भएको मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ । सामाजिक परिवर्तनको लहर वा मानिसहरुको दृष्टिकोण र बानी व्यवहारमा आएको परिवर्तनले बेठी परम्पराको अस्तित्व लोप हुननहुनेमा उहाँ जोड दिनुहुन्छ ।

आजभोलि गाउँघरतिर पहिलेको जस्तो खेतीपातीको काममा आकर्षण छैन । पछिल्लो समय ग्रामीण भेगका युवापुस्ता शहर केन्द्रित श्रम, वैदेशिक रोजगारी र कृषि कार्यमा अपेक्षित ज्याला नपाइने भएकाले खेतीपाती छाड्ने गरेका छन् । यस कारणपनि यस्ता काममा गाउँठाउँमा पर्म वा बेठीकै आवश्यकता छ र यसकैलागि पनि बेठीको संरक्षणमा जुट्न आवश्यक छ ।

अखिल नेपाल किसान महासंघ मेचीनगर अध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षता र महासंघका जिल्ला सदस्य ताकेन्द्र तामाङले सञ्चालन गर्नुभएको कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिसद् सदस्य विष्णु प्रसाई, १ नम्बर प्रदेश कमिटी सदस्य नीलकण्ठ तिवारी, राजु कार्की, मेचीनगर कमिटी अध्यक्ष राजु पोखरेल, नगरका विभिन्न वडाबाट एमालेबाट निर्वाचित वडाध्यक्ष वडा सदस्यहरु, एमाले भातृ संगठनका प्रमुख प्रतिनिधिहरुसहित वडा कमिटी पदाधिकारीहरुको उल्लेखिय सहभागिता थियो । सिमसिम परेको पानीमा भिज्दैं सवैले रोपाइँ गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here