दिल्लीमा खुल्यो दुई देशको दिल, सचिवस्तरमा संवाद हुने

१५ असार २०७९, बुधबार मा प्रकाशित

दिल्ली

विभिन्न बहानामा सन् २०१५ देखि अवरुद्ध हुँदै आएको नेपाल–भारत सीमा वार्ता अन्ततः नेपालको आग्रहमा, भारतमा आयोजना गरिएको छ । असारको १ र २ गते नयाँ दिल्लीस्थित ताज होटलमा दुई देशबाट सहसचिव स्तरमा भएको छलफलमा भारतले अझै पनि पूरै हात फुकाउन सकेको छैन ।

तर, नेपाल पक्षले राख्नुपर्ने जति कुरा राखेर फर्किएको छ । काठमाडौँबाट १२ जना र दिल्ली दूतावासमा कार्यरत थप दुई गरी १४ को उपस्थिति र भारतीय पक्षबाट करिव ३० जनाको सहभागिता भएको उक्त बैठकमा जुटेका सहमतिको आधारमा तयार हुने डकुमेण्टसहित अब सचिवस्तरमा संवाद हुने भएको छ ।

नेपालको जोड सीमा बैठक नियमित गरौँ भन्नेमा थियो । यसबाहेक जटिल समस्याका रुपमा रहेको चेलिबेटी बेचबिखन, तस्करी, सवारी साधन व्यवस्थापनका विषयमा पनि छलफल भएको दिल्ली दूतावासबाट सहभागी स्रोतले जनाएको छ । नेपालमा दिनको ५ सय तिरेर आठ दिनको अनुमति लिई भारतीय नम्बर प्लेटका सवारी साधन भित्रिने गरेका छन् ।

तर, यताको गाडी भारत लैजानुपर्ने भयो भने ५० हजार रुपैयाँसम्म तिर्नुपर्छ । यसबारे नेपालको सिडिओ र भारतका डिएमबीच सहमतिमा समस्या हल गरौँ भन्ने सल्लाह भएको छ । नत्र, अहिले नेपालका मुख्य पर्यटकीय क्षेत्रमा भारतीय नम्बर प्लेटको गाडी यति धेरै भेटिन्छन् कि नेपालका गाडी नै हराउलान्झैँ अवस्था छ ! ताज बैठकमा दशगजा पिलरको कुरा पनि उठ्यो ।

भारतीयहरू सीमासम्बन्धी प्रसंग छेड्ने रुचिमा छैनन् । उनीहरू विभिन्न भारतीय कम्पनीबाट ठेक्का लागेका क्षेत्रमा दशगजा सफा गर्ने भन्नेमा बढी आतुर देखिन्थे । तर, नेपालको तर्फबाट सीमासम्बन्धी कार्यदलको सहमतिमा मात्रै त्यो काम गर्नुपर्ने राय पेश भयो । भारतीयहरू उनीहरूको विकासका काम जहाँ–जहाँ रोकिएका छन्, त्यहाँ–त्यहाँ दशगजा सफा गरेर काम अगाडि बढाउन चाहन्छन् । जस्तो कि, रौतहटमा सशस्त्रले भारतीय पक्षलाई दशगजा सफा गर्नमा रोकेको छ । पछि सहमति भयो, ‘आवश्यकताअनुसार गरौँ ।’

सीमापार (क्रस बोर्डर अकुपेसन) का समस्यालाई ‘फिक्स बाउण्ड्री प्रिन्सिपल’ अनुसार टुंगो लगाउँदा सन् १८१६ मा नदीहरू जहाँ थिए, त्यहीँ पुग्नुपर्छ । त्यसो गर्दा नेपालको जमिन भारतमा, भारतको जमिन नेपालमा भेटिन्छ । नेपालले त्यस्तोमा केही गर्दैन । तर, भारतीय सुरक्षाकर्मीले नेपाली पक्षलाई खेतीपाती गर्नबाट रोक्दै आएको छ । त्यसो नगर्न एसएसबी र डिएमलाई भन्नुपर्छ भन्दा भारतीय पक्ष सहमत भएन ।

‘कहाँ कहाँ छ, हामी मिलाउँछौँ’ भनेर कुरा टारेका छन् । यो विषयमै यसअघिका उच्चस्तरीय बैठकहरूमै सहमति भइसकेको हो भनेपछि भारतीय पक्ष बल्ल ‘नेपाली साइड रिक्वेस्टेड’ अर्थात्, ‘नेपाल पक्षको अनुरोधका आधारमा’ भनेर लेख्छौँ भन्नेमा पुग्यो । उक्त बैठकमा नेपालले सीमा व्यवस्थापनको बैठक गरौँ, दुबै देशका सर्वसाधारणलाई दुःख परेको कुरालाई संयुक्त रुपमा सिडिओ र डिएमको संयन्त्रबाट हल गरौँ भन्ने कुरा राख्दा त्यसमा भने भारतीय पक्ष पनि सहमत भएको थियो ।

उक्त बैठकको सबभन्दा सकारात्मक पक्ष भारतीयहरू सीमाको बैठक गरौँ भन्नेमा पुगेका छन् । उनीहरूलाई कालापानी, सुस्तामा नेपाली पक्ष कमजोर छैन भन्ने परेको छ । त्यसैले हालसम्म टार्दै आएका हुन् । तर, अहिलेको बैठकले संवादहीनताको अन्त्य गरेको भन्दै नेपाली पक्ष उत्साहित भएर फर्किएको बताइन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here