छविराज ढकाल/ पथरीशनिश्चरे,
प्रदेश नं १ का यातायात व्यवस्था तथा संचार मन्त्री उपेन्द्र घिमिरेले “अब यातायात सम्वन्धि कर बुझाउन कार्यालय नै जानु पर्ने व्यवस्थाको अन्त्य भएको ” बताउनुभएको छ।
प्रमुख अतिथि समेत रहनुभएका मन्त्री घिमिरेले ” विधुतीय प्रणालीबाट सूचना प्रदान गर्न सूरू गरौँ। विश्व नै डिजिटललाईजेसनमा जान सकृय छ।” भन्नुभयो। विहीवार पुर्वोत्तर मोरङ्गको लेटाङ्ग नगरपालिकामा नेपाल पत्रकार महासंघ मोरङद्वारा आयोजित तीन दिने मल्टिमिडिया सम्वन्धि तालिमको उद्घाटन गर्नुहुँदै उक्त कुरा बताउनुभएको हो।
मन्त्री घिमिरेले प्रदेश सरकारले अहिलेसम्ममा यातायात सम्वन्धि २ लाख सवारी चालकले लाईसेन्स प्राप्त गरी सकेको भन्दै प्रदेशको यातायात व्यवस्था मन्त्रालयबाट ५८ वटा कानुन बनेको र प्रदेश सरकारले ९ मात्र कार्यान्वयन गरेको जनाउनुभयो।
उहाँले “प्रदेश नं १ को नाम बजेट पारित हुने वित्तिकै बर्खे अधिवेशनमा टुंग्याउछौं ” भन्दै अझै पनि नामको टुंगो लागेको छैन भन्नुभयो। उहाँले सुशासनयुक्त समाज निर्माणको लागि पत्र पत्रिकाहरु बहुआयामिक हुन र समयसापेक्ष परिचालित हुन नसके लोप हुन सक्ने औंल्याउनुभयो । साथै, उहाँले पत्रकारहरूलाई गलत सूचना प्रवाह नगर्न पनि आग्रह गर्नु भयो।
उक्त अवसरमा लेटाङ्ग नगरपालिकाको प्रमुख भुपेन्द्रकुमार लावती र उपप्रमुख कृष्णकुमारी पाेख्रेल निराैला , पत्रकारहरुका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतले तालिमको सफलताको शुभकामना मन्तव्य राख्नु भएको उक्त तालिमको अध्यक्षता पत्रकार महासंघ मोरङ्गका अध्यक्ष सञ्जिव खनालले गर्नुभएको थियो।
न्युज एजेन्सी नेपालका डाईरेक्टर सवीन धमलाले सहजीकरण गर्नुभएको तालिममा मोरङ्गका विभिन्न संचारमाध्यममा आवद्ध ५० बढी पत्रकारले सहभागिता जनाएका छन् ।