अलपत्र चीन अध्ययन गरेका डाक्टरी विद्यार्थी

0
305

काठमाण्डौ,

चीनमा एमबीबीएस पढेर कोभिड १९ को महामारीका कारण नेपाल फर्किएका विद्यार्थीहरुले पढाइ सकेपछि नेपालमै इन्टर्नशिप गर्न पाएका छैनन् ।

विदेशमा एमबीबीएस पढिसकेका विगतका विद्यर्थाीहरुले सजिलै नेपालमा इन्टर्नसीप गर्न पाएको भए पनि चीनमा एमबीबीएस पढेका सन् २०१६ को ब्याचका विद्यार्थीहरुलाई भने सम्बन्धित निकायले विभिन्न विषयमा अल्झाउँदै अहिलेसम्म इन्टर्नशिप गर्न दिएको छैन ।

चीनमा एबीबीएस पढेका सन् २०१४ र सन् २०१५ को ब्याचका विद्यार्थीहरुको इन्टर्नशिप गराइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै सन् २०१७ को ब्याचका विद्यार्थीहरुलाई पनि थप अध्ययन र इन्टर्नशिप पूरा गर्नका लागि चीन पठाउने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

सन् २०१६ को ब्याचका विद्यार्थीहरुलाई पनि १.५ (साढे १ वर्ष)को प्रिइन्टर्नशिप र इन्टर्नशिप अवधि तोकेर यसका लागि व्यवस्था मिलाउन यही असार ३ गतेको मन्त्रीस्तरीय निर्णयले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो ।

यसै निर्देशन अनुसार स्वास्थ्य मन्त्रालयले एमबीबीएसका विद्यर्थाीहरुको विभागीय इन्टर्नशिप अवधि तोक्नका लागि नेपाल मेडिकल काउन्सिल (एनएमसी) लाई ताकेता गरिसकेको छ ।

तर नेपाल मेडिकल काउन्सिलले भने विद्यार्थीहरुको अध्ययनको अवधि नै नपुगेको भन्दै यो निर्णयलाई नमान्ने जवाफ दिएको छ । विद्यार्थीहरुले चीनमा र बाँकी रहेको केही अवधिकाे अध्ययन नेपालमा अनलाइनबाट सम्पन्न गरेको बताएका छन् ।

चिनियाँ विश्वविद्यालयलेसमेत अध्ययन पूरा भइसकेको र सो अध्ययन पूरा भएको सर्टिफिकेट पठाउन तयार रहँदा मेडिकल काउन्सिलले भने इन्टर्नशिपको अवधि तोक्न भनिएको मन्त्रीस्तरीय निर्देशनलाई नै लत्याएको छ ।

चिनियाँ विश्वविद्यालयले अध्ययन पूरा भइसकेको र सो अध्ययन पूरा भएको सर्टिफिकेट पठाउन तयार रहेकाे बताए पनि अहिलेसम्म नपठाएकाले अध्ययन नै सकिएकाे भन्ने आधार कतै नभेटिएकाे काउन्सिलका एक पदाधिकारीले बताए ।

मन्त्रालयले तोकेको साढे १ वर्षको इन्टर्नशिप अवधिलाई मान्यता दिन नसकिनेमा काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीको जोडबल छ । उनले विद्यार्थीहरुको समस्या समाधानका लागि काम भइरहेको बताएका छन् । तर मन्त्रालयले तोकेको साढे १ वर्षको अवधि मान्न काउन्सिल तयार नभएको उनकाे भनाइ छ।

काउन्सिलले अहिले मन्त्रालयकाे निर्णय नमान्ने भने पनि यसअघि काउन्सिलमा लाइसेन्स परीक्षा दिनका लागि शिक्षा मन्त्रालयले तोकेको अध्ययन र इन्टर्नशिप अवधि पूरा गरेको हुनुपर्ने भनेको थियो । तर, अहिले इन्टर्नसीपका लागि मन्त्रालयले तोकेको अवधिलाई काउन्सिलले मानिरहेकाे छैन । पदाधिकारीले आफ्नो व्यक्तिगत ‘इगो’का कारण मन्त्रालयकाे निर्णय नै नमानिरहेको विद्यार्थीहरुको गुनासो छ ।

काउसिन्लले यसरी पहिलेदेखि नै विभिन्न बाहना देखाउँदै आफूहरुलाई इन्टर्नशिपबाट रोक्न खोजेको विद्यार्थीहरुले बताएका छन् । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here