विनोद सापकोटा,
शिवसताक्षी ।

झापाको शिवसताक्षी नगरपालिकामा स्थानीय स्काउटले नगर प्रमुख मेघाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्कीलाई एक समारोहका बीच दीक्षित गरेको छ ।
नेपाल स्काउटको शिवसताक्षी नगर स्तरिय तदर्थ समितिले सोमबार सम्पन्न नेपाल स्काउट शिवसताक्षी नगरपालिकाका स्थानीय संरक्षक एवं नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा (रोसन) र नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीलाई प्रदेश स्काउट तदर्थ समितिका संयोजक रवि खनालले दीक्षित गरेका हुन् ।

नेपाल स्काउटको ऐनमा पालिका प्रमुख नेपाल स्काउटको संरक्षक र उपप्रमुख स्थानीय समितिको प्रमुख हुने प्रावधान छ । नेपाल स्काउटबाट दीक्षित भएपछि शिवसताक्षी नगरपालिकाका प्रमु्ख एवं नेपाल स्काउट शिवसताक्षी नगरका स्थानीय संरक्षक रोसन थोप्राले संकटको समयमा निःस्वार्थ रुपमा देश र जनताको सेवा गर्नु नै स्वयंसेवा भएको बताए । उनले संकटको समयमा नेपाल स्काउटका गतिविधिले अझ व्यापकता लिनेमा विश्वास गरे ।
देशको अस्तित्व र सार्वभौमसत्तासँग जोडिएको सन्धि सम्झौता, कानुन, ऐन, नियमको बारेमा स्काउटरहरूले जानकारी राख्नुपर्ने उनले बताएका छन् । ‘विपत्तका बेलामात्र होइन समाज रुपान्तरणको लागि स्काउटरको भूमिका बेग्लै र रचनात्मक हुने छ । त्यसका लागि शिवसताक्षी नगरपालिका स्थानीय स्काउट तदर्थ समितिलाई पूर्ण रुपमा सहयोग गर्न तत्पर छ,’ उनले भने । संकटको समयमा साहसिक कामका लागि नेपाल स्काउटले खेल्दै आएको भूमिका उल्लेखनीय रहेको उनले बताएका छन् ।
विभिन्न उत्सव, दिवस लगायत राष्ट्रिय चाड पर्वमा शिवसताक्षी नगरपालिकाले स्काउट परिचालन गरी विविध गतिविधिलाई जोड दिने नेपाल स्काउट शिवसताक्षी नगरकी प्रमुख एवं नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताइन् । समाजमा लागूऔषध दुरव्यसनी नियन्त्रणका लागि स्काउट एक मात्र अन्तराष्ट्रिय संस्था भएको उनले बताएकी छन् ।
कार्यक्रममा नेपाल स्काउटका एक नम्बर प्रदेश तदर्थ समितिका संयोजक रवि खनालले नेपाल स्काउट एउटा स्वयंसेवी संस्था भएको बताउँदै नेपालको ७५३ वटै स्थानीय तहमा नेपाल स्काउट गठन भइसकेको जानकारी गराए । स्थानीय तहका बालबालिकाको संरक्षण गर्न र स्काउटिङ शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले भने,‘यसले विद्यार्थीलाई समुदायमा गएर काम गर्न प्रेरित गरेको छ ।’

स्थापनाको करिव एक वर्षमा शिवसताक्षी नगरका स्काउटरको सक्रियता देखेर आफु दंग भएको उनले बताएका छन् । सामाजिकक गतिविधि, समुदायसंगको रहनसहन, बालबालिका संगको सामिप्यता लगायतका कारणले स्थानीय तहका गठन भएका स्काउट मध्ये शिवसताक्षी नगरको स्काउटर अब्बल र रक्षम रहेको यहाँका कार्यक्रमले पुष्टी गरेको पनि उनले जानकारी दिएका छन् । ‘सवैभन्दा बढी सामाजिक गतिविधिमा सक्रिय यहाँको स्काउटर साथीहरु सामाजिक संजालमा पनि सक्रिय हुनुहुन्छ यसले गतिविधिको मापन गर्छ,’ उनले भने ।
नेपाल शिक्षक महासंघ शिवसताक्षीका अध्यक्ष बेनु कार्की, प्यावसनका नगर अध्यक्ष राम सुहाङ्ग लगायतले स्काउटरले विद्यालयमा अनुशासन र इमानदारिताको पाठ सिकाउँदै असल विद्यार्थीको पहिचान स्थापित गर्ने बताए । उनिहरुले सभ्य समाज निर्माण गर्न र इमानदार नागरिक तयार गर्न नेपाल स्काउटको भूमिका प्रशंसनीय रहेको बताइन् ।

स्काउटको आबद्धताले स्वयंसेवा भावना विकासमात्र नगरी अभियानमै जोडिनेको बौद्धिक, नैतिक र सामाजिक विकासमा आवद्धता हुन नेपाल स्काउटले प्रेरित गर्ने नेपाल स्काउट शिवसताक्षीन नगरका तदर्थ समितिका संयोजक डिगम पराजुलीले बताए ।
उनले भने,‘ मुलुक संघीय संरचनामा गएसँगै स्काउट अधिकार स्थानीय तहमा आएको छ । आगामी दिन स्काउट विकास र विस्तारका लागि स्थानीय सरकारको भूमिका महत्वपुर्ण हुनुपर्ने छ ।’ दीक्षान्त समारोह संयोजक पराजुलीको अध्यक्षतामा भएको थियो । कार्यक्रम शिक्षा शाखाका प्रमुख छवि ढकालले संचालन गरेका थिए ।































