बिर्तामोड ।

बिर्तामोड उद्योग वाणिज्य संघ र बैंकहरु बीच वित्तीय क्षेत्रमा समन्व्य गर्ने सहमति भएको छ । मंगलबार बिर्तामोड स्थित उद्योग वाणिज्यसंघको कार्यालयमा भएको छलफलले वाणिज्य संघ र बिर्तामोडका बैंकहरु बीच पाँच बुदे सहमति भएको हो ।
वाणिज्य संघ र बैंकर एसोसिएसन बिर्तामोड बीच भएको छलफलले वित्तीय संस्थामा देखिएको समस्या समाधान गर्न पहल गर्ने, ऋण लिएर प्रक्रियागत रुपमा भुक्तानी गरिरहेका तथा नियमित रुपमा ऋण तिर्न आग्रह गर्ने, बैंक तथा वित्तीय संस्थाले ऋणीहरुलाई सहजताका लागि समन्व्य गर्ने, वाणिज्य संघले ब्यवसायी र वित्तिय संस्था बीच समन्व्य गर्ने, ब्यवसायीहरुले समयमा ऋण किस्ता भुक्तानी गर्न आग्रह गर्ने लगायतका सहमति भएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, कोषध्यक्ष दिपेन्द्र राउत, प्रवक्ता सञ्जिव घिमिरे लगायतले बैंक तथा वित्तिय क्षेत्रमा देखिएका समस्याका बारेमा जानकारी गराएका थिए । उनीहरुले ऋणीको सहजताका लागि समन्व्य गरिदिन आग्रह गरेका छन् ।

बिर्तामोडका बैंक तथा वित्तीय क्षेत्रको तर्फबाट सिद्धार्थका सुवास श्रेष्ठले ब्यवसायी रहे बैंक रहने र बैंक रहे मात्र ब्यवसायी रहने भएकाले वित्तीय क्षेत्रमा वाणिज्यसंघ संग समन्व्य गर्न बिर्तामोड क्षेत्रका सबै बैंक तयार रहेको उल्लेख गरे । उनले बैंकहरु राष्ट्र बैंकको नीति अनुसार सञ्चालन हुने भएकाले कसैले नीतिलाई परिर्वतन गर्न नसक्ने उल्लेख गरे ।

बिर्तामोड क्षेत्रका ३० जनाभन्दा बढी बैंक तथा वित्तिय क्षेत्रका म्यानेजरहरुले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए । उनीहरुले बैंकहरु राज्यको नीतिमा बसेर काम गर्ने भएकाले स्थानीय स्तरमा देखिएका समस्यालाई समाधान गर्दै अघि बढ्न सहमत रहेको बताए । बैंकहरुले समयमा ऋण नतिरे खराब कर्जामा पर्ने भएकाले ऋणीहरुलाई सजग बन्न आग्रह समेत गरेका छन् ।




























