सम्भावित संकटबाट बचौं

२२ असार २०७९, बुधबार मा प्रकाशित

विदेशी मुद्राको सञ्चिति घट्दै गएकोले निकट भविष्यमै देशमा आर्थिक संकट आउने विज्ञहरुले चेतावनी दिइरहेका छन् । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने आर्थिक विवरणमा समेत विदेशी मुद्राको सञ्चिति घट्दै गएको उल्लेख छ । वैदेशिक व्यापारको माध्यम नै विदेशी मुद्रा भएका कारण नेपालमा आयात हुने सम्पूर्ण उपभोग्य वस्तुका लागि सञ्चिति बढ्दै जानुपर्छ । कुनै समय खाद्यवस्तुमा आत्मनिर्भर नेपाली जीवन अहिले सम्पूर्णरुपमा परनिर्भर भएको छ । त्यसमा पनि बदलिएको जीवनशैली, खानेबानी र आधुनिकताको अन्धानुशरणले हाम्रो अर्थतन्त्रलाई धराशायी बनाउँदै लगेको छ । त्यसमाथि सुन्दर बन्न चाहने प्रवृत्तिले अर्बौं रुपैयाँ अनुत्पादक कार्यमा नष्ट भइरहेको छ । यसले हाम्रो परनिर्भरता बढ्ने मात्र होइन पुर्खाको गौरव, अस्तित्व र मान नै धुलिसात हुने खतरा बढेको छ ।

यही समय भन्सार विभागले आयात–निर्यात हुने सम्पूर्ण वस्तुको परिमाण र रुपैयाँको विवरण सार्वजनिक गरिरहेको छ । उसको तथ्यांक अनुसार विलाशिताका केही वस्तुमा मात्रै झन्डै तीन अर्ब रुपैयाँ बाहिरिएको छ । खासगरी महिलाले सौन्दर्य प्रशाधनका रुपमा प्रयोग गर्ने सामानमा भएको यो खर्च अनुत्पादक मात्र छैन, धेरै त स्वास्थ्यको प्रतिकूल पनि छ । कुनै दिन प्रकृतिले दिएको रुपलाई ‘कोरीबाटी’ अझ सुन्दर बनाउने शैली आज आँखा, ओठ, गाला, कपाल, नङ र छालाको सौन्दर्य बढाउने नाममा परनिर्भरताको बोझले थिच्दैछ । यस्ता सामग्री माथिको खर्च न व्यक्तिको हितमा छ, न परिवारको, न त देशको पक्षमा नै । एकातिर हाम्रो प्रवृत्ति कृत्रिमता र देखावटीमा रमाउने भएको छ भने अर्कातिर संघीय व्यवस्थाले राज्यकोषको ठूलो हिस्सा अनावश्यक पद सृजना गरेर तलब, भत्ताका नाममा दोहन भइरहेको छ ।

सबैभन्दा बढी राज्यकोष इन्धनको आपूर्तिमा खर्च भइरहेको छ । इन्धनको संकट टार्न आयल निगमले विशेष व्यवस्था गर्न सरकारलाई सुझाव नै दिएको छ । सवारीसाधनको अनियन्त्रित आयात, अनुत्पादक प्रयोग, व्यक्तिदेखि तीनै तहका सरकारमा रहनेहरुलाई दिने गरिएको सवारी सुविधा लगायतका कारणले बढ्दो खपत इन्धन संकटको मूल कारण हो । चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको जस्तै अवस्था आउने भन्दै अर्थविद्हरुले चिन्ता प्रकट गरिरहेको सन्दर्भप्रति पनि राज्य सञ्चालकहरु गम्भीर भएनन् भने हामीले त्यो भन्दा पनि कष्टकर वर्तमान भोग्नुपर्नेछ । त्यसकारण भविष्य सुनिश्चित गर्ने हो भने अनावश्यक, अनुत्पादक र कृत्रिम जीवनशैली त्यागेर आत्मनिर्भर र स्वावलम्वी जीवनशैली अँगाल्नुपर्छ र राज्यले पनि कार्यशैलीमा परिवर्तन गर्नुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here