झापाका १२ पालिकामा अझै बनेन स्थानीय पाठ्यक्रम

२२ असार २०७९, बुधबार मा प्रकाशित

सुरेन्द्र भण्डारी,
झापा ।

झापाको अर्जुनधारा नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्न सकेका छैनन् । बजेट अभावको कारण देखाउँदै नगर शिक्षा शाखाले हालसम्म स्थानीय पाठ्यक्रम तयार गर्न नसकेको हो । राष्ट्रिय पाठ्यक्रम प्रारूप र स्थानीय आवश्यकतामा आधारित भएर स्थानीय पाठ्यक्रम तयार गर्दै सबै विद्यालयमा लागू गर्नुपर्ने भए पनि अर्जुनधारा नगरपालिका मात्रै होइन झापाका १२ वटा पालिकाले पाठ्यक्रम तयार नै गर्न सकेका छैनन् ।

बिर्तामोड नगरपालिकाले २०७५ सालबाट नै स्थानीय पाठ्यक्रम तयार गर्दै पाठ्यपुस्तक नै लागू गरे पनि अन्य १२ वटा पालिकाले न पाठ्यक्रम तयार गरेका छन् न त पाठ्यपुस्तक नै लागू गर्न सकेका छन् ।
मेचीनगर नगरपालिकाले ‘हाम्रो मेचीनगर’ र दमक नगरपालिकाले ‘हाम्रो दमक’ शीर्षकको पाठ्यक्रम तयार गरेका छन् । १५ वटा स्थानीय तह रहेको झापामा अन्य पालिकाले संघीयता कार्यान्वयनको पाँच वर्ष बितिसक्दा समेत स्थानीय पाठ्यक्रम तयार पार्न सकेका छैनन् ।

बिर्तामोड नगरपालिकाले ‘आचरण सचेतना शिक्षा’ विषयक स्थानीय पाठ्यक्रम तयार गर्दै लागू गरेको हो । हाल बिर्तामोड नगरपालिकामा कक्षा ८सम्म स्थानीय पाठ्यक्रम लागू छ । जसका लागि सबै विद्यार्थीलाई स्थानीय पाठ्यपुस्तक उपलब्ध गराइएको छ । पहिलो वर्ष कक्षा ३ र ४, दोस्रो वर्ष ५ र ६, तेस्रो वर्ष ७ र ८मा स्थानीय पाठ्यक्रम लागू गरेको नगरपालिकाले पाँचौ वर्ष १ र २ कक्षामा स्थानीय पाठ्यक्रम लागू गरेको बिर्तामोड नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत दिनेशप्रसाद आचार्यले जानकारी दिए । बिर्तामोड नगरपालिकामा स्थानीय पाठ्यक्रम ‘आचरण सचेतना शिक्षा’ १०० पूर्णाङ्कको रहेको छ । जसको मूल्याङ्कनको आधार २५ प्रतिशत प्रयोगात्मक रहेको अधिकृत आचार्यले बताए ।

मेचीनगर नगरपालिकाले पाठ्यक्रम निर्माण गरे पनि पाठ्यपुस्तक निर्माण गर्न सकेको छैन । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ बमोजिम मेचीनगरले स्थानीय पाठ्यक्रम ‘हाम्रो मेचीनगर’ तयार गरेको हो । तर, पाठ्यपुस्तक भने तयार गर्न सकेको छैन ।

विषयबस्तु छनौट र विज्ञको अभावका कारण स्थानीय पाठ्यक्रम निर्माणमा ढिलाइ भएको नगरशिक्षा प्रमुख होम भण्डारीले बताए । पाठ्यक्रम तयार भएसंगै यसै शैक्षिक सत्रबाट ‘हाम्रो मेचीनगर’ भन्ने विषय सबै विद्यालयमा अध्ययन अध्यापन हुन्छ– नगर शिक्षा प्रमुख भण्डारीले भने– ‘पाठ्यपुस्तक तयार नभए पनि शिक्षकलाई तालिम दिएसँगै पाठ्यक्रमका आधारमा सबै विद्यालयमा अध्ययन अध्यापन गर्नेछौं ।’

मेचीनगरले आठ वटा क्षेत्र निर्धारण गर्दै पाठ्यक्रम लागू गरेको हो । जसमा सामाजिक चुनौति, पर्यावरण, पेशा तथा निर्वाह, जीवन उपयोगी सिप, धर्म, संस्कार संस्कृति, यौन शिक्षा, हाम्रो मेचीनगर, सामाजिक नियमलाई समेटिएको नगर शिक्षा प्रमुख भण्डारीले बताए । आर्थिक वर्ष २०७९÷०८०मा बजेटको व्यवस्थापन गर्दै पाठ्यपुस्तक छापिने र सबै विद्यार्थीलाई वितरण गर्ने तयारी भइरहेको भण्डारीको भनाइ छ ।

अर्जुनधारा नगरपालिकाले बजेटको व्यवस्थापन नगर्दा पाठ्यक्रम लागू गर्न नसकेको नगर शिक्षा प्रमुख तोयानाथ रेग्मीले बताए । यसअघिको स्थानीय सरकारलाई पटक– पटक वजेट माग गरेपनि बजेट उपलब्ध नगराउँदा स्थान्ीय पाठ्यक्रम लागू गर्न नसकिएको उनले बताए । आगामी आर्थिक वर्ष २०७९÷०८०का लागि तीन करोड रुपैयाँ बजेट माग गरिएको छ । यसपटक पनि बजेट उपलब्ध नभए अर्जुनधारा नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्न सक्दैन– नगर शिक्षा प्रमुख रेग्मीले भने ।

दमक नगरपालिकाले पनि स्थानीय पाठ्क्रम तयारीको अन्तिम चरणमा रहेको जनाएको छ । यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने जनाइए पनि शैक्षिक सत्र शुरु भएको झण्डै दुई महिना बितिसक्दा समेत स्थानीय पाठ्यक्रमको प्रारुप नै तयार गर्न नसकेको बताइएको छ । दमक नगरपालिकाले ‘हाम्रो दमक’ भन्ने विषयको स्थानीय पाठ्यक्रम तयार गरिरहेको बताइएको छ ।

बिर्तामोड, मेचीनगर र दमक बाहेकका अन्य १२ वटा पालिकाले स्थानीय पाठ्यक्रम निर्माणमा खासै चासो दिएको पाइएन । पाठ्यक्रम सुधार पद्धतिले पनि स्थानीय सरोकारवालाहरूको सहभागितामा स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन पक्षमा जोड दिए पनि पालिकाले स्थानीय पाठ्यक्रमलाई प्राथमिकतामा नराख्दा झापाका तीन वटा पालिका बाहेकका १२ वटा पालिकामा स्थानीय पाठ्यक्रम तयार हुन नसकेको हो ।

स्थानीय पाठ्यक्रमले परम्परागत ज्ञान, सिप, स्थानीय ज्ञानको उजागर गर्दछ । यसले स्थानीय ज्ञानको खोजी गर्दछ र नवीनतम् ज्ञान एवम् सिपको विकासमा सहयोग पु¥याउँछ । स्थानीय मूल्य, मान्यताको संरक्षण र सम्वद्र्धनमा सहयोग पु¥याउनुको साथै तिनको हस्तान्तरणमा समेत यसले योगदान पु¥याउँछ ।

पाठ्यक्रमको स्थानीयकरणले शिक्षकको क्षमता र दक्षता अभिवृद्धि गराउने, विद्यालयको पाठ्यक्रम निर्माण गर्ने, संस्थागत क्षमता विकास हुने, समुदाय र विद्यालयको सम्बन्ध सुधार हुने र अभिभावकले समेत पाठ्यव्रmम निर्माण र कार्यान्वयनमा चासो राख्ने तथा स्थानीय सरोकारवालाको पाठ्यक्रम निर्माण, कार्यान्वयनदेखि अनुगमन मूल्याङ्कनसम्मका कार्यमा सक्रिय सहभागिता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

स्थानीय सरोकारवालाहरूको आवश्यकता, चाहना र उनीहरूकै सहभागितामा स्थानीय विषयवस्तुलाई समावेश गरी विकास र कार्यान्वयन हुने पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम हो । स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटी तयार पारिएको पाठ्यव्रmमलाई नै स्थानीय पाठ्यव्रmमका रूपमा लिन सकिन्छ जसले स्थानीयतालाई जोड दिन्छ । स्थानीय सरोकारवालालाई स्थानीय विषयको छनौट गरी पठनपाठन गराउने अधिकार प्राथमिक शिक्षा पाठ्यक्रम (कक्षा १–३) २०६२ र कक्षा (४–५) २०६५ ले यसअघि नै दिइसकेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here