प्रदुषण व्यवस्थापनमा सचेत बनौं

0
344

मानिस चेतनशील, विवेकशील र सर्वश्रेष्ठ प्राणी हो । मानिसले नै आजको समय ल्याउन अनेकन प्रयास गरेका हुन् । प्राकृतिक स्रोतसाधनको प्रयोग गरी मानवनिर्मित हरेक वस्तुको निर्माणमा मानिस नै अग्रपंक्तिमा आउँछ । प्राकृतिक स्रोतसाधनको प्रयोग र त्यसमै निर्भर रहे पनि मानिस अहिले अप्राकृतिक बन्दै गएको आभाष हुन्छ ।

मानिसले छिटोछरितो र मिठोको लागि अनेक प्याकेटका खानेकुराको प्रयोग अहिले बढ्दो स्थितिमा छ । साना बालबालिकादेखि वृद्धावस्थाहरु समेत प्याकेटको खानेकुरामा आर्कषित बनेका छन् । बढ्दो जनसंख्या सीमित स्रोतसाधन र विलासीपनले विभिन्न रोग निम्याएको छ । मानिस आफ्नै व्यवहारको कारण रोगको सिकार बन्न पुगेको छ ।

मानिसले छिटो र धेरै आम्दानीका निमित्त विभिन्न रासायनिक मल, विषादिका प्रयोगका कारण मानवीय जनजीवन अस्वस्थ त बन्यो बन्यो माटोको उर्वरा शक्ति समेत घट्दै गइरहेको छ । अर्कोतर्फ हेर्ने हो भने विभिन्न प्रयोगबाट निस्किएको फोहोर व्यवस्थापन सही तरिकाले हुन नसक्दा जनजीवन प्रभावित बनेको छ । प्राकृतिक सौन्दर्यतामा ह्रास आइरहेको छ । मानिसहरुमा चेतना छ कि फोहोर अव्यवस्थित बनाएमा विभिन्न किसिमका रोगको सामना गर्नुपरेको छ । तर पनि मानिस अटेरी बनिरहेका छन् ।

विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थल, खेलमैदान, बसबिसौनी, सडक आसपास यत्रतत्र प्लाष्टिकका बोतल, प्याकेटका खानेकुरा खाएर फ्याँकिएका प्लाष्टिकजन्य पदार्थ छरिएका छन् । फोहोर मलाई भनेर राखिएका डस्टविन खाली हुन्छन् । तर, डस्टविनको प्रयोगमा मानिस सचेत बन्नै चाहँदैनन् झैं लाग्छ । यस्तै तीव्रताले फोहोर बढ्ने हो भने हरेक क्षेत्रमा हैजा लगायतका संक्रामक रोग नआउला भन्न सकिन्नँ ।

यात्राका क्रममा मानिस प्याकेजिङ वस्तु खान्छन् र ती खाद्यवस्तुका प्याकेटहरु कहाँ फ्याँक्ने ? कसरी व्यवस्थापन गर्ने ? भन्ने कुरामा ध्यान दिँदैनन् । गाडीको झ्यालबाट ती वस्तु फाल्दै हिँड्छन् जसका कारण वातावरण प्रदुषित बनिन्छ । प्लाष्टिकजन्य पदार्थको कम प्रयोग र प्रयोग पछिको व्यवस्थापन आजको आवश्यकता हो । हरेक क्षेत्र शहरीकरण सँगसँगै फोहोरी क्रियाकलापबाट अछुतो बन्न सकेको छैन ।

ज्ञान छ, तर व्यवहारमा उतार्न चाहँदैन । आफ्नो घर आँगन त सफा गर्छ, तर आफ्नो घरबाट पाइला उठाएपछि हरेक पाइलामा उसले नै फोहोर बढाइरहेको हुन्छ । हरेक परिवारले आफ्ना घरका सदस्यलाई सचेत बनाउने हो भने प्राकृतिक सौन्दर्य कायम गर्न सकिने थियो । देश उत्तिकै सुन्दर देखिन सक्थ्यो । तर, बिडम्बना मानिस भ्रमणमा निस्किन्छ अनि भ्रमण स्थलमा फोहोरको डंगुर थुपारेर आउँछ आफ्नो घर ।

हाम्रो देश नेपाल सुन्दर छ । तर, हाम्रो प्रवृत्तिका कारण सौन्दर्यमा कमी आउन थालेको छ । जसले गर्दा मानव स्वास्थ्यमा समस्या मात्र नभएर प्राकृतिक सौन्दर्यमा समेत आँच आउन थालेको छ । काठमाडौँ हाम्रो देशको राजधानी जहाँ अहिलेको प्रमुख समस्या फोहोरमैला व्यवस्थापन गर्न नसक्नु हो ।

दुर्गन्धित काठमाडौं शहरमा जनघनत्व बढिरहेको छ । अस्वस्थकर वातावरणको कारण श्वासप्रश्वास सम्बन्धी रोगी बढिरहेका छन् । सरकारले फोहोरमैला व्यवस्थापन गरेन भनेर हामी भनिरहन्छौं । तर, यसमा सरकार मात्र नभएर हामी जो फोहोर बढाइरहेका छौं ती व्यक्ति पनि उत्तिकै जिम्मेवार छौँ । किनकि हामीले विवेकपूर्ण कार्य नगर्दा फोहोरको डंगुर बढ्दै गएको छ । राज्यलाई मात्र दोष देखाएर हामी आफ्नो नराम्रो बानीलाई सुधार्नुको साटो दोष दिन अग्रसर छौँ ।

आजको आवश्यकता प्लाष्टिकजन्य पदार्थको प्रयोगमा कमी ल्याउनु हो । प्रयोगका क्रममा निस्किएका फोहोरमैला उचित ठाउँमा लगेर व्यवस्थापन गर्न आवश्यक छ । हामी एकजनाको सानो प्रयासले मात्र पनि वातावरण स्वस्थकर बन्न सघाउ पु¥याउँछ ।

हाम्रो बानीमा सुधार ल्याइ हामीले प्राप्त गरेको ज्ञानलाई व्यवहारमा उतार्नु आजको आवश्यकता हो । हामीले सकारात्मक पाइला आफ्नै घर, गाउँ, समाजबाट चाल्न सके राष्ट्र पनि समुन्नत बन्नेछ । देशलाई आर्थिक रुपमा माथि उठाउनका निमित्त सबैभन्दा पहिले स्वस्थ्यकर वातावरण चाहिन्छ । त्यसैले प्लाष्टिकजन्य पदार्थको कम प्रयोग र सही व्यवस्थापन गर्नेछु भनेर आजैबाट प्रण गर्न थालौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here