बिर्तामोड, बिर्तामोड नगरपालिकाले सेवा निवृत्त शिक्षक, कर्मचारी तथा उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ ।
बिहीबार नगरपालिकाको सभाहलमा कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट शिक्षकको रुपमा मोहनमाया माध्यमिक विद्यालयका माध्यमिक तहका शिक्षक शेरबहादुर श्रेष्ठ, साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका आधारभूत तहका शिक्षक श्यामप्रसाद दाहाल र लक्ष्मी नारायण प्राविका शिक्षक जनकबहादुर थापालाई सम्मान गरिएको हो ।
सम्मानित तीनै जनालाई नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य यमुना आचार्य लगायतले दोसल्ला ओढाएर सम्मान–पत्रसहित जनही ५० हजार रुपैयाँले सम्मान गरेका थिए । उत्कृष्ट शिक्षकका रुपमा आवेदन भर्ने माध्यमिक तहका ३ जना, आधारभूत तहका ३ जना र प्रावि तहका ६ जना शिक्षकमध्येबाट उत्कृष्ट ३ जना छनौट गरिएको हो । यसको छनोट मूल्याङ्कन समितिमा उमानाथ ओली, युवराज पाण्डे र इन्द्र मुखिया रहेका थिए ।
यस्तै २०७६ साल भदौ २३ गते यता सेवा निवृत्त भएका २२ जना शिक्षकलाई पनि सम्मान गरिएको छ । सम्मानित हुने सेवा निवृत्त शिक्षक तथा कर्मचारीहरुमा पञ्चरत्न माध्यमिक विद्यालयका उमानाथ प्याकुरेल, ज्ञानुनाथ मैनाली, डम्बर देउजा, रङ्गलाल बराई, महेन्द्रज्योति माध्यमिक विद्यालयका ऐतबहादुर तुम्रुक लिम्बू, देवकोटा आधारभूत विद्यालयका मुकुन्द रेग्मी, शान्ता उप्रेती, शुक्रराज आधारभूत विद्यालयका सोना घिमिरे, लेखराज काफ्ले, महेन्द्ररत्न माध्यमिक विद्यालयका चन्द्रशेखर पौडेल, पद्मादेवी उप्रेती, भक्तिदेवी खपाङ्गी, दुर्गा माध्यमिक विद्यालयका रामप्रसाद अधिकारी, दुर्गाप्रसाद सुवेदी, खिलप्रसाद शिवाकोटी, वीर अमरसिंहका पदमबहादुर विष्ट, देवी माध्यमिक विद्यालयका गीता अधिकारी, मोहनमाया माध्यमिक विद्यालयका गजेन्द्रप्रसाद न्यौपाने, भवानीप्रसाद राजवंशी, लक्ष्मी आधारभूत विद्यालयका खगेन्द्रप्रसाद पकुवाल, गोपाल खनाल र शहीद लक्ष्मी आधारभूत विद्यालयका तुलसीराम गौतम रहेका छन् । सम्मानित सबैलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा कक्षा १ र २को आचरण सचेतना शिक्षा पाठ्यपुस्तकको पनि विमोचन गरिएको छ । पुस्तकको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले विमोचन गरे ।
बिर्तामोड नगरपालिकाले यसअघि कक्षा ३ देखि ८ सम्म अनिवार्य रुपमा आचरण सचेतना शिक्षा लागू गरेको छ । कार्यक्रममा शिक्षक संगठन तथा विभिन्न संघ–संस्थाका प्रतिनिधि, शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।































