छविराज ढकाल
पथरीशनिश्चरे,
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. २ देवीगञ्जस्थित नगरमा शान्ति स्तुपालगायत सार्वजनिक सम्पदा निर्माणका लागि विराट शिव महापुराणको आयाेजना गरिने भएकाे छ।
स्वामी निर्विशेषानन्द आध्यात्मिक प्रतिष्ठानले आयोजना गर्ने उक्त महापुराण साउन १ गतेदेखि सुरु गरिदैछ।
साेहि महापुराणकाे विषयमा आज विहिबार आयोजित एक संक्षिप्त पत्रकार भेटघाट कार्यक्रममार्फत बालब्रह्माचारी स्वामी निर्विशेषानन्दले शिव महापुराण आयोजना गरिनुकाे उद्देश्यबारे आफ्नो धारणा राख्नु भएको थियो । पत्रकारका जिज्ञासामा आधारित प्रश्नोत्तरका सन्दर्भमा उहाँले ११ दिवसीय उक्त धार्मिक कार्यक्रममार्फत समाजमा शान्ति, सहिष्णुता, सद्भाव, प्रेम र हार्दिकता अभिबृद्धि हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा शिव महापुराणको प्रसादस्वरुप प्रतिष्ठान परिसरमा हरिहर मन्दिर निर्माण, औषधीजन्य वनस्पति वाटिका निर्माण र ज्येष्ठ नागरिक लक्षित नारदनर्मदा स्मृति भवन निर्माण गर्ने उद्देश्य रहेको प्रतिष्ठानका सचिव पुण्यप्रसाद पौडेलले बताउनु भयो ।
सुप्रसिद्ध पण्डित नरेश भागवतोपाषक र पण्डित रोशन दाहालको मुखारविन्दबाट प्रवचन हुने महापुराणको कार्यक्रमअन्तर्गत हरेक बिहान रुद्राभिषेक हुने र साँझ सन्ध्याकालीन आरति हुने भएकोले सनातन धर्मावलम्वी सम्पूर्णलाई कथा श्रवणका लागि सामेल र प्रसाद ग्रहण गरिदिनुहुन प्रतिष्ठानका अध्यक्ष नेत्रप्रसाद दाहालले अनुरोध गर्नुभयो ।































