दमक।

झापाको दमकमा नगरसभा अनिश्चित बन्दा राजनीतिक दलहरुबीच आरोप–प्रत्यारोप शुरु भएको छ । नेकपा एमालेले नगर प्रमुख रामकुमार थापाले पञ्चायती शैलीमा नगरसभा सञ्चालन गर्न खोजेको र नगर सभा सदस्यहरुलाई बोल्न समेत नदिएको आरोप लगाउँदै आएको छ ।
नगर कार्यापालिकाको वैठक समेत नबोलाएर कार्यपालिकालाई समेत अनिर्णयको बन्दी बनाएको भन्दै उसले कार्यपालिका बैठक गर्न माग अघि सारेको छ । दमक नगर सभा सदस्य एवम् कार्यपालिका सदस्य लोकबहादुर धिमालले आफूहरु विधि र प्रक्रिया बिरोधी नभएको बताएका छन् । हामी विधि र प्रक्रियालाई मान्छौ तर पञ्चायती कार्यशैली अस्वीकार्य छ भनेका हांै– उनले भने ।
दमकमा पत्रकार सम्मेलन गर्दै एमालेले जनताको अभिमतलाई अवमूल्यन नगर्न माग गरेको छ । कार्यपालिका वैठक राखेर असहमतिका बुँदाहरुमा सहमति गर्न सकिने भन्दै आफूले भनेको मात्र मान्नुपर्छ र नगर प्रमुख नै सर्वेसर्वा हो भनेर नगर प्रमुख थापाले भनेका कारण समस्या आएको पत्रकार सम्मेलनमा आरोप लगाएको छ । यसको केही दिन बित्न नपाउँदै राप्रपा, कांग्रेस सहित स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेका दलहरुले पत्रकार सम्मेलन गरेर बहुमतको दम्भ देखाएको र एमालेका कार्यपालिका सदस्यहरुले सुविधा माग गरेकाले नगरसभा अनिर्णयको बन्दी बनेको आरोप लगाएको छ । उता गठबन्धनका दलले भने बिपक्षी दलको नेतालाई गाडी र कार्यालयसमेत माग गरेको भन्दै नगर सभालाई अनिर्णयको बन्दी नबनाउन पनि माग राखेका छन् ।
दमकमा एमालेका कार्यपालिका सदस्यले गाडी र कार्यकक्ष चाहियो भनेर माग गरेका छन् भन्ने जनतामा भ्रम छरेर नगर प्रमुख थापाले निँहु खोजेको आरोप एमालेकोे छ । थापाले नगरबासीलाई भड्काउन मनगढन्ते आरोप लगाएको विपक्षी दल एमालेका धिमालले बताएका छन् । हामीले गाडी माग्नु पर्ने कारण छैन र मागेको पनि होइन– धिमालले भने । हामीले नगरपालिकासँंग गाडी मागेको भन्ने कुराको प्रमाण पु¥याउन चुनौति छ –उनले भने ।
सामुहिक कार्यकक्षको बारेमा भने आफूहरुले कुरा गरेको उनले स्वीकार गरे । कार्यपालिका सदस्यहरुका लागि सामुहिक किसिमको एउटा कोठा माग गरिएको हो । के यो नाजायज छ र ?– उनले भने । नगरपालिकामा आउँदा कार्यपालिका सदस्यहरुले बस्ने तथा छलफल गर्ने एउटा सामुहिक कार्यकक्ष अर्थात् कोठा माग गरेको उनले स्पष्ट पारे । हामीले कार्पेट ओछ्याएको र एसी जोडेको होइन, सादा एउटा कुनै कोठा भएपनि ब्यवस्थापन गरिदिन माग गरेका हौं ।































