कुमरखोद।

इलाका प्रहरी कार्यालय कुमरखोद आइतवार दिनभर तनावपूर्ण रह्यो ।
बाउन्स चेक दिने बैङ्किङ कसुरका व्यक्तिलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय दमकबाट खटिएका सादा पोशाकका प्रहरीले बिहान ४ बजे झापा गाउँपालिका –३ बस्ने अशोक राईको घरमा घेरा हालेका थिए । पाँच जना व्यक्तिले घेरा हाले तापनि त्यहाँ प्रहरी भने ३ जना मात्र थिए । ती मध्ये अर्का एकजना कार ड्राइभर र अर्का रकम पाउने व्यक्ति थिए ।
एकाबिहानै अचानक नौलो मान्छेहरूले घर घेरा हालेपछि घरभित्र रहेका परिवारमा खैलाबैला मच्चियो । होहल्ला भएपछि स्थानीयवासी राईको घरमा जम्मा भए । प्रहरीले गुण्डागर्दी शैलीमा परिवारका मान्छेलाई दुव्र्यवहार गरेपछि स्थानीयहरू प्रहरीबिरुद्ध जाइलागे । त्यस क्रममा प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । झडपका क्रममा रकम पाउने दुर्गा पौडेलका छोरा विशाल पौडेल घाइते भए । घाइते विशाल र गाडी चालक जसोतसो गाडी लिएर भाग्न सफल भए ।
बाँकी तीन जना सादा पोशाकका प्रहरीलाई भने गाउँलेले नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा रहेका सई केशव मगर , कृष्ण कार्की र गजेन्द्र रायमाझीलाई पछि कुमरखोद इलाका प्रहरी कार्यालयको टोलीले उद्धार गरेको थियो ।
इलाका प्रहरी कार्यालयमा ल्याएपछि झन् वातावरण तनावपूर्ण बनेको थियो । सुरक्षा व्यवस्था कडा पार्दै थप सुरक्षाका लागि सशस्त्र प्रहरी बल र जिल्लाबाट इन्स्पेक्टरसहितको प्रहरी टोली झिकाइएको थियो ।
बैंकिङ्ग कसूरको मुद्दामा अदालतबाट पक्राउ पुर्जी भए तापनि पक्राउ गर्ने शैली गलत भएको स्थानीयको भनाइ छ । त्यसपछि बैङ्किङ कसूर मुद्दामा अदालतबाट पक्राउ पुर्जी भए तापनि अशोक राईलाई पक्राउ नगरी आफंै अदालतमा उपस्थित हुनु भनी सई केशव मगरले अनुरोध गरेका थिए । छलफलमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो ।































