पथरीशनिश्चरेमा एकादश शिव महापुराण प्रारम्भ

0
371

पथरीशनिश्चरे,

पथरीशनिश्चरे नपा वडा नं. २ देवीगञ्जस्थित स्वामी निर्विशेषानन्द स्मृति प्रतिष्ठानको आयोजनामा ११ दिने शिव महापुराण शुभारम्भ भएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुख देवीमाया काफ्ले, १ नं. वडाध्यक्ष भीमकुमार राईं, २ नं. वडाध्यक्ष नैना राईंलगायत जनप्रतिनिधि र स्थानीय समाजसेवीको उपस्थितिमा उद्घाटन भएको हो।

बिहान स्थानीय दिदीबहिनीहरूले १०८ कशलयात्रा सहित पथरी बजार परिक्रमा गरिएपछि आयोजित उद्घाटन कार्यक्रम उक्त स्मृति प्रतिष्ठानका अध्यक्ष नेत्रप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो । सुपरिचित कथावाचक र सहवाचकको रसमय प्रवचनमा सम्पन्न हुने एकादश दिवसीय कार्यक्रमको उद्घाटन कार्यक्रममा १ नं का वडाध्यक्ष भीम राई तथा २ का वडाध्यक्ष नैना राई सहित समाजसेवी युवराज बास्कोटा र देवराज भण्डारीले पनि महायज्ञको सफलताको लागि आफ्नो मन्तव्य राख्नु भएको थियो ।

समाज धर्म र यसको धारणको नाउँमा खण्डित हुँदै गएको बेला एउटा अत्यन्तै उर्बर सम्भावना भएको युवाले प्रतिष्ठान परिसरमा हरिहर मन्दिर भवन निर्माण गर्ने, बुद्ध शान्ति स्तुपा निर्माण गर्ने, औषधीजन्य वनवाटिका निर्माण गर्ने र नारद–नर्मदा स्मृति ज्येष्ठ नागरिक सुरक्षा भवन निर्माण गर्ने उद्देश्यले ११ दिने शिव महापुराणको आयाेजना गरिएको जानकारी दिईएको थियो। बराणसीबासी सुपरिचित पण्डित नरेश भागवतोपासक र रोशन दाहालका मुखाबिन्दबाट कथा तथा पाठ परायन गरिने भएको छ।

यहाँको पूर्वाधार विकास र भौतिक निर्माणको क्षेत्रमा राज्यले गर्नुपर्ने शान्ति स्तुपा निर्माणलगायत कतिपय काम प्रतिष्ठानले गर्ने भएकोमा खुशी व्यक्त गर्दै निर्विशेषानन्द स्वामीको यो दृढ निश्चयी योजना र संकल्पको सह्राराना गर्नुभयो ।

कार्यक्रममा स्वामी निर्विशेषानन्द प्रतिष्ठानले अघि सारेका कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै २ नं. वडाध्यक्ष राईं आफ्नो परिवारको धार्मिक विरासतको स्मरणमा प्रतिष्ठानलाई ५० हजार बराबरको नगद सहयोग गर्ने वाचा गर्नुभयो भने नगर प्रमुख तुम्बापो नगरको संस्कृति पर्यटन क्षेत्र विकास प्रर्वधन गर्ने नीतिगत योजनाभित्र प्रतिष्ठानसँग विषयगत सहकार्य गर्ने उद्घोष गर्नुभयो ।

कार्यक्रममार्फत उपस्थित अतिथिहरु तथा सहभागी प्रमुख अतिथि, अतिथि, स्थानीय प्रबुद्धवर्ग लगायत सम्पूर्ण धर्मानुरागी समुदायलाई स्वामी निर्विशेषानन्दले संस्थाको ‘सर्वजन हिताय सर्वजन सुखाय’ भन्ने श्लोकमा आधारित विषयमा सहकार्यको अपील सहित स्वागत अभिनन्दन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here