बिर्तामोडमा अनलाइन सवारी सेवा ‘सेवक’ सञ्चालनमा

0
581

बिर्तामोड ।

झापाको बिर्तामोडमा अनलाइन सवारी सेवा ‘सेवक’ सञ्चालनमा आएको छ । सेवक बिजनेश प्रालिले आजदेखि सेवक सञ्चालनमा ल्याएको हो । आज एक कार्यक्रमका बीच बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले प्रालिको कार्यालय उद्घाटन गर्नुभयो ।

काठमाडौँमा अनलाइन सवारी सेवा प्रदायक पठाओ, इनड्राइभ जस्तै सेवकले प्रदेश नं. १ का यात्रुलाई लक्षित गरी सेवा सञ्चालनमा ल्याएको हो । कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष शिवाकोटीले पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा अनलाइन सवारी सेवा सञ्चालनमा आउनु सुखद भएको उल्लेख गर्नुभयो ।

‘नयाँ सोच भएका युवाहरुले नयाँ व्यापार सञ्चालन गर्नुभएको छ’, उहाँले भन्नुभयो, ‘यस्ता कामको राज्यले सहयोग गर्नु पर्छ, स्मार्ट सिटी बनाउन स्मार्ट व्यवसायको भूमिका पनि महत्वपूर्ण हुन्छ ।’ यात्रु ठगिने र लुटिने समस्या सेवकले हटाउन सकोस् भन्दै उहाँले सवारी चालक जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, विशेष अतिथि उवासंघ बिर्तामोडका उपाध्यक्ष राजु न्यौपानेले गाडी भाडामा मनपरी रहेकाले सेवक सञ्चालनमा आएसँगै यात्रुले लाभ पाउने विश्वास व्यक्त गर्नुभयो । ‘अहिले गाडीहरुले मनलाग्दी पैसा असुल्ने क्रम बढ्दो छ’, उहाँले भन्नुभयो, ‘यसले नगरबासी लाभान्वित हुने विश्वास छ ।’ कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी बिर्तामोडका संयोजक शम्भूप्रसाद भण्डारीले सेवकको सफलताको कामना गर्नुभयो ।

सेवक तीन जनाको सहकार्यमा सञ्चालनमा आएको संस्था हो । यसको सञ्चालकहरु सन्तोष मगर, दीपक चौहान र तिलक राइ रहेका छन् । सञ्चालक दीपक चौहानले समय र दूरीका आधारमा भाडादर निर्धारण गरिने बताउनुभयो ।‘मोबाइल एपमार्फत् सेवाग्राहीले गाडी बुकिङ गर्न सक्नुहुन्छ’, उहाँले भन्नुभयो, ‘सवारी साधन आवश्यक भएकाहरुले घरमै बसेर सेवा लिन सक्नेछन् ।’

अर्का सञ्चालक तिलक राईले अनलाइनमार्फत मोटरसाइकल, अटो र ट्याक्सी बुक गर्न सकिने बताउनुभयो । उहाँले विद्युतीय सवारीलाई प्राथमिकता दिएर भाडा दर घटाउने आफूहरुको योजना रहेको सुनाउनुभयो ।

त्यस्तै, अर्का सञ्चालक सन्तोष मगरले आफूहरुसँग हाल दुई सय वटा मोटरसाइकल, ५० वटा अटो र ८० वटा ट्याक्सी सेवा दिन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । कार्यक्रममा उबासंघ बिर्तामोडका सचिव कुशल खतिवडा, सदस्य जीवन खड्का लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here