गौरीगञ्जमा मृत्यु भएका व्यक्तिलाई ‘सासु’ भत्ता

0
316

झापा।

झापाको गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता बितरण गरेको पाइएको छ । योसँगै गाउँपालिकाले एउटै नागरिकता नम्वर र एउटै जन्म मिति भएका लाभग्राहीलाई दुई वा सोभन्दा बढी परिचय पत्र जारी गरी दुईवटै परिचय–पत्रबाट सामाजिक सुरक्षा भत्ता बापतको रकम प्रदान गरेको हो ।

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ ले लाभग्राहीको नाम, दर्ता, नवीकरण, लगतकट्टा तोकिएको मितिभित्रै गर्नुपर्ने व्यवस्था गरेको छ । सोही कार्यविधिले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नियमित रुपमा अनुगमन गर्नु पर्ने, केन्द्रीकृत सूचना प्रणालीमा प्रवृष्ट गरी अद्यावधिक गर्ने जिम्मेवारी सामाजिक सुरक्षाको अख्तियारी पाउने सम्वन्धित निकायको हुने व्यवस्था गरेको छ । तर, गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका २० जनाभन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता बितरण गरेको बिबरण तयार गरेको छ । मृत्यु भएका व्यक्तिको नाममा मात्रै गाउँपालिकाले तीन लाखभन्दा बढी भुक्तानी गरेको छ ।

मृत्यु भएका व्यक्तिको नाममा गाउँपालिकाले भत्ता बितरण गरेसँगै महालेखाले सो रकमलाई वेरुजु लेखेको छ । महालेखाको प्रतिवेदनमा सो रकम गाउँपालिकाले असुल गर्नुपर्ने सुझाव समेत दिएको छ । तर, गाउँपालिकाले सो रकम असुल गर्न कुनै चासो देखाएको छैन ।

त्यसो त गौरीगञ्ज गाउँपालिकाबाट बसाइँ सरी अन्यत्रै गएका व्यक्तिलाई समेत पालिकाले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । सो रकम समेत असुल गर्न महालेखाले पालिकालाई सुझाव दिएको छ । बसाइँसरी गएका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता प्रदान गरेको देखिएपछि सो रकमलाई समेत महालेखाले बेरुजु भएको जनाएको छ ।

महालेखाको प्रतिवेदनमा उल्लेख भए अनुसार २०७५ साल फागुन २ गते मृत्यु भएकी गौरीगञ्ज गाउँपालिका ३ निवासी विधवा एकल महिला बिजली देवी महतोसहित ११ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । त्यस्तै २०७५ असोज २६ गते मृत्यु भएकी हस्मातसन मियालाई प्रथम चौमासिक वापतको विधवा एकल महिला भत्ता प्रदान गरिएको छ ।

त्यस्तै २०७५ चैत १५ गते मृत्यु भएकी विधवा एकल महिला फगनीदेवी साहको नाममा समेत गाउँपालिकाले भत्ता वितरण गरेको छ । यसैगरी २०७५ चैत ११ गते मृत्यु भएका मनकामना श्रेष्ठ, २०७५ असोज २२ गते निधन भएका महरम मियालाई समेत ज्येष्ठ नागरिक भत्ता वितरण गरेको पाइएको छ ।

गौरीगञ्ज गाउँपालिका–३कै मिरा मल्लिकलाई विधवा एकल महिलाका नामबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । उनको २०७६ असोज १२ गते नै निधन भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै जहादु ताजपुरियाको २०७६ असोज २८ गते निधन भएको छ । उनको नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण भएको देखिएको छ । २०७६ असोज २४ गते मृत्यु भएका इन्द्रबहादुर क्षेत्री, २०७६ असोज २२ गते मृत्यु भएका वावुजी महत्तो कोइरी, २०७६ असोज १४मा मृत्यु भएको मनमाया पराजुली, २०७७ जेठ १५ गते मृत्यु भएका बसुलिया महतोलाई गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ ।

यता वडा नम्वर ४मा भने २०७४ फागुन १० गते मृत्यु भएका समपतलाल राजवंशी, २०७५ साल वैशाख ३० गते मृत्यु भएकी चम्पादेवी ताजपुरिया, २०७६ असार ४ गते नै निधन भएका मंगल हेमरम, २०७६ असोज १०मा मृत्यु भएका अगमलाल ताजपुरिया, २०७६ असोज १०मै मृत्यु भएका हरिलाल गिरीको नाममा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

त्यस्तै वडा नम्वर–२ निवासी रामना हस्दाको २०७५ असार १२ गते निधन भयो । उनको नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । त्यस्तै सोही वडाको चुड्की मुर्मूको २०७४ चैत ८ गते निधन भयो । उनको नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । यसैगरी २०७६ पुस ३ गते निधन भएका विधवा एकल महिला पद्मादेवी राजवंशी, २०७० जेठ २५ गते निधन भएकी विधवा एकल महिला विका हेमरमलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

यता २०७६ असार ३मा गौरीगञ्ज गाउँपालिका ३ बाट बसाइँसरी दुहवी नगरपालिका सुनसरी गएकी भद्रमाया विष्टलाई जेष्ठ नागरिक भत्ता प्रदान गरिएको पााइएको छ । गौरीगञ्ज–३बाट गौरादह–८ मा बसाइँसरी जाने गम्भीरमाया दर्जी, गौरीगञ्ज–२ बाट दमक बसाइँसरी जाने सावित्रादेवी न्यौपानेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । त्यस्तै गाउँपालिकाले एमआईएसमा प्रविष्ट नभएको पूर्ण अपाङ्ग हंशनारायण रायलाई समेत सामाजिक सुरक्षा भत्ता प्रदान गरेको पाइएको हो ।

यता गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरले आफूहरु नवनिर्वाचित जनप्रतिनिधि भएको र अघिल्लो सरकारले गरेका विषयमा आफूलाई थाहा नभएको बताए । यदि गाउँपालिकामा पारदर्शी रुपमा काम नभएको पाइए कडाइका साथ अनुगमन गर्ने र त्यस्तो कार्यलाई तत्काल रोक्ने बताइन् ।

झापाका १५ स्थानीय तहमध्ये गौरीगञ्ज गाउँपालिका धेरै बेरुजु गर्ने देखिएको पालिका मध्येमा पर्छ । २०७८÷०७९को महालेखाको प्रतिवेदन अनुसाार यो पालिकामा ७ दशमलव ४९ प्रतिशत बेरुजु देखिएको छ । यो पालिकाको बेरुजु ८ करोड ६१ लाख २६ हजार रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here