राँके–रवि सडकको समस्या ज्युँका त्युँ

0
376

युद्धबहादुर बोहोरा,
पाँचथर।

इलाम र पाँचथरको सीमाना राँकेदेखि धनकुटाको भेडेटार जोड्ने भेडेटार–रवि–राँके सडकको काम अलपत्र हुँदा यस भेगका नागरिक आजित बनेका छन् ।

सडक कालोपत्र बन्छ भनेर हर्षित बनेका धनकुटा, तेह्रथुम, पाँचथर, मोरङ र इलामका बासिन्दा आजित मात्रै होइन कालोपत्रे सडकमा हिँड्ने धेरै नागरिकको सपना अधुरो भएको छ ।

सडक कालोपत्रे बन्छ अनि बाटोको मापदण्डलाई आधार मानेर पक्की घर बनाउने योजनामा यस क्षेत्रका धेरै मानिसहरुले प्रायः काठे घरमै बसेका थिए । तर, घरहरु मक्काउन थाले बाटो भने अझै बन्न सकेन । उल्टै पहिलाको भन्दा झन बाटो बिकट बन्दै गएको स्थानीयले दुःखेसो पोख्न थालेका छन् ।

‘हेवी वेट’का नेता जिल्लामा भए पनि बाटोको समस्यालाई वास्ता नगरेको भन्दै स्थानीय उपभोक्ताहरु आक्रोश पोख्न थालेका छन् । उनीहरु भन्छन्– चुनावका मुखमा चिप्ला र मीठा अनि आश्वासन लिएर गाउँ आउँछन्, जनतालाई समस्या पर्दा काठमाडौं बस्छन् जनताको पीडा कसले बुझ्ने ? नेताले नागरिकसँग गरेको बाचा भने भारतीय ठेक्केदार कम्पनीले टेरपुच्छर नलगाएपछि उनीहरु समेत लज्जित बनेका छन् । सडकको निर्माण कार्य ठप्प भएर अलपत्र बनेपछि नागरिकलाई आवतजावत गर्न सास्ती भएको र सामान्य मर्मत गरिदिन आग्रह गर्दा समेत ठेक्केदार कम्पनीले बेवास्ता गरेपछि सवारी साधन ओहोरदोहोर गर्न असहज भएको छ ।

ठेक्केदार कम्पनीले पेटी ठेक्केदारलाई काम गरे बापतको रकम नदिएकाले पनि कुनै कम्पनीले काम गर्न नमानेको पेटी ठेक्कावालहरुको आरोप छ । काम लगाउने तर रकम भने नदिने गरेको तीनजुरे निर्माण कम्पनीका डाइरेक्टर दीपेश बोहोरा बताउँछन् । चार वर्ष अगाडिदेखि कालोपत्रको लागि काम थालिएको सडक अहिले हिलाम्मे अवस्थामा परिणत भएपछि यात्रुले दिनहुँ सास्ती पाएका हुन् ।

भारतको लखनउस्थित एप्को इन्फ्राटेक प्रालिले सम्झौता गरी तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने जिम्मा लिएर २०७५ पुस २० गते सडक कालोपत्रको लागि उद्घाटन भएको थियो । सम्झौता अनुसार काम शुरु गरेको एक वर्षभित्रमा २० प्रतिशत काम पूरा हुनुपर्ने भएता पनि लक्ष्य अनुसार कामले गति नलिँदा जनताले हदैसम्म दुःख खेपिरहेका छन् । अहिले बिजोग बनेको बाटोको बारेमा सरकारले पनि कुनै पहलकदमी नगर्दा स्थानीयले सरकार विहीन भएको महशुस गर्न थालेका छन् । खाद्यान्न, निर्माण सामग्री बोक्ने ट्रक, ट्याक्टर, मोटरसाइकल, बिरामी बोक्ने एम्बुलेन्स गरी दैनिक एक सय भन्दा बढी सवारी साधन यस सडकमा ओहोरदोहोर गर्दछन् । बाटोमा ट्रक फसेर स्काभेटरको सहायताले ठेलेर घण्टौसम्म लगाएर निकाल्नु परेको ट्रक चालक मीनबहादुर तामाङ बताउँछन् ।

यो सडक राँके–रवि, रवि–बुधबारे, बुधबारे–भेडेटार तीन भागमा विभाजित गरी काम सञ्चालन भएको भएता पनि हाल राँके–रवि खण्डको जोखिम ठाँउमा हिँड्न सक्ने स्थिति छैन । तीन दशकदेखि जनताको लामो पर्खाइमा रहेको सडकलाई भारतको एक्जिमन बैक अफ इण्डियाको ऋण सहयोगमा कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भइ प्रक्रिया अघि बढेको थियो ।

सडक कालोपत्रको लागि तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५७२ रुपैयाँ रकममध्ये भारतको ८७ प्रतिशत र १३ प्रतिशत नेपाल सरकारको लागतमा निर्माण हुने दुई लेनको दाँयाबाँया एक–एक मिटर सोल्डरसहित जम्मा ९ मिटर फराकिलो एक सय किलोमिटर लम्बाइको बन्ने यो मार्ग प्रदेश १को गौरवको योजना मानिएको छ । सडकले धनकुटाको भेडेटार, नाप्जे, ओख्रे, डाँडाबजार, राजारानी, चौकीभञ्याङ, देउराली, समिया, मुढेवास, सौरेबजार र ६ नम्बर बुधबारेलाई छुन्छ ।

यस्तै, पाँचथरका कम्फुटार, लेकगाउँ, कन्याटार, दारेगौडा, चिसापानी पञ्चमी, रवि, सप्तमी, उत्तरे, घुर्विसे पञ्चमी, पुरानो पञ्चमी र देउराली तथा इलामको देउमाई नगरपालिका, फाकफोकथुम, माङ्सेबुङ लगायतका स्थानीय तह यो सडकले छुन्छ । ठेकेदार कम्पनीले समयमै कालोपत्रे नगर्दा स्थानीय र प्रदेश सरकारलाई सडक बनाउन र मर्मत गर्न पनि समस्या भएको छ । आफूहरूले जति नै दबाब दिए पनि ठेकेदार कम्पनीले समयमै काम नगरेको बताउँछन्– आयोजना प्रमुख विदुर पोखरेल ।

‘जति नै प्रेसर गर्दा पनि काम हुन सकेन । अब बाँकी समयमा पनि काम सकिने अवस्था छैन । फेरि म्याद थप्न माग गरिरहेको छ’– आयोजना प्रमुख पोखरेलले भने– ‘यो क्षेत्रका बासिन्दाले ठूलो सास्ती पाउनुभएको छ । हामी नै जान सक्ने अवस्था छैन । दैनिकजसो फोन आउँछ । यो बाटोको काम अघि बढाउन माथिल्लो क्षेत्रबाटै पहल गर्नुपर्ने देखिन्छ ।’

पूर्वनिर्धारित समयमा निर्माण सम्पन्न नभएपछि ठेकेदार कम्पनीले एक वर्षको समय थप गराएको थियो । उक्त म्याद डिसेम्बरमा सकिँदैछ । तर, सडक आयोजनाको कालोपत्रेको काम हालसम्म १८ प्रतिशत मात्र सम्पन्न भएको छ । गत डिसेम्बरमा म्याद सकिएपछि एक वर्ष समय थपिएको थियो । १९ नोभेम्बर २०१८ मा २ डिसेम्बर २०२१ मा काम सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको हो । हाल कतिपय ग्रामीण सडक कालोपत्र हुन थाले तर मुख्य सडकको हालत भने ज्युँका त्युँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here