पार्थ मण्डल
झापा ।

सरकारले धान सुपरजोन घोषणा गरेको झापा जिल्लाका किसानहरूलाई धान रोप्न सकस भइरहेको छ ।
आकाशे पानी, सिञ्चाई, मल, वीऊ तथा प्राविधिक ज्ञान अभावकाबीच साउन २ गतेसम्म झापामा ७२ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र झापा प्रमुख सागर विष्टले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्ष साउन २ गतेसम्म ८२ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी गराउँदै केन्द्र प्रमुख विष्टले भने– ‘आकाशे पानी नपर्दा र युरिया मल अभावका कारण आजको मितिसम्म ८ देखि १० प्रतिशतसम्म रोपाइँ कम भएको छ ।’ साउनको पहिलो वा दोस्रो हप्ताभित्र जिल्लाको रोपाइँ सक्नुपर्ने हो । अहिले अत्यधिक गर्मीले अधिकांश पालिकाहरूमा खेतीयोग्य जमिन सुक्खा पर्न थालिसकेको छ ।
‘आकाशे पानी नपर्दा किसानले धान लगाउन सकेका छैनन्’– उनले भने– ‘अबको साता दिनभित्र पनि पानी नपरे सिञ्चाइको व्यवस्था नभएको खेतमा लगाइएको धान पनि मर्न थाल्छ, जसले किसानलाई ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ ।’ धानको वीऊको समयावधि ३० देखि ३५ दिनसम्म हुन्छ । ‘त्यसभन्दा बढी दिन काटिसकेका वीऊ किसानलाई काम लाग्दैन’– उनले भने ।
यता आकाशे पानीको भरपर्दा धान सुपरजोन क्षेत्र घोषित कचनकवल गाउँपालिका–५ स्थित पाठामारीका किसान चिन्तित देखिएका छन् । धान रोपाइँको चटारोको बेलामा किसान त्यतिकै समय खेर फालेर बस्न बाध्य छन् । ‘यहाँका किसान कहिले पानी पर्छ, अनि धान लगाउँ भनेर पर्खिरहेका छन्’– किसान फरिद मियाँले भने– ‘यहाँका किसानसँग खेती गर्ने वैकल्पिक व्यवस्था छैन, आकाशे पानी कै भरमा खेती लगाउनुपर्ने हुन्छ ।’ ‘पानीको समस्या एकातिर छ भने अर्कोतिर युरिया मलको समस्या पनि उस्तै छ’– किसान कालु मोहम्मदले भने– ‘असारभित्रै रोपाइँको सकिसक्नुपर्नेमा साउन लाग्दा समेत रोपाइँ गर्न पाएका छैनौँ ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान सुपरजोन कचनकवल गाउँपालिकाका सातै वडा, भद्रपुरका १, २, ३, ५ र ६ नम्बर वडा र हरेक पालिकाको २०० हेक्टर जमिनमा कार्यक्रम सञ्चालन भइरहेको परियोजना कार्यान्वयन इकाई झापाका प्रमुख वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले जानकारी दिए ।
उनले पनि अघिल्लो वर्षको तुलनामा यसबर्ष जिल्लामा रोपार्इँ कम भएको बताए । जिल्लाका ९० प्रतिशत किसान आकाशे पानीको भरमा खेती गर्ने गरेको बताउँदै उनले भने– ‘पानी त परेकै छैन, मोटर वा बोरिङ लगाएर खेती गर्ने किसान पनि लोडसेडिङको मारमा छन् ।’ पानी र मल अभावले अहिले पनि अधिकांश ठाउँमा रोपार्इँ शुरु नै नभएको उनको भनाइ छ ।
झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा धानवाली हुने गरेको छ । हिउँदे र बर्खे गरी दुई वाली धान रोपाइँ हुने झापामा अघिल्लो वर्ष ४ लाख २० हजार मेट्रिक टन बर्खे र १ लाख ३ हजार ९० मेट्रिक टन चैते (हिउँदे) गरी जम्मा ५ लाख २३ हजार ९० मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा १४ हजार मेट्रिक टन युरिया मल चाहिनेमा सरकारले ८६० मेट्रिक टन युरिया मल किसानलाई उपलब्ध गराएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।































