डोटी,

डोटीको सायल गाउँपालिकामा बाढी पहिराका कारण सयौँ घर उच्च जोखिम रहेका छन् । उक्त गाउँपालिका–१, २, ४, ५ र ६ मा रहेका करिब ५८४ घरधुरी पहिराको जोखिममा परेका छन् । गत वर्ष असोज, कात्तिक महिनामा परेको अविरल वर्षाले गाउँमाथिबाट पहिरो आएको र ती बस्ती हालसम्म स्थानान्तरण नगरिँदा अहिले जोखिममा परेका स्थानीयवासी तेजबहादुर डुम्रेले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पोहर सालको बाढी पहिराले बस्ती नै सार्नु पर्ने थियो, अहिलेसम्म बस्ती स्थानान्तरण गरिएन अब ठूलो पानी परे कतिबेला पहिराले बस्ती च्यापिन्छ, साह्रै जोखिम भयो ।” विगतमा डोजर प्रयोग गरी धमाधम ग्रामीण सडक निर्माण गरिएका क्षेत्रका सडक किनारका बस्ती पनि अहिले पहिराको जोखिममा रहेको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँगाउँमा सडक पु¥याउने नाममा जथाभावी सडक खनिँदा अहिले पहिराले बस्ती नै जोखिममा परेका छन्, बस्ती कहाँ सार्ने गाह्रो भयो ।”
गाउँपालिकाको तथ्याङ्कअनुसार वडा नं ४ मा रहेका भल्मा, कुनाकाट्टे, घङारे, बाबनसैन र डौड लगायतका बस्तीका २५० घरधुरी जोखिममा परेका छन् । त्यस्तै वडा नं ५ का ढिपु र सुनिबाटा गरी ६० घरधुरी, वडा नं ६ को रौकल्लाका ७० घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् । त्यस्तै वडा नं २ को सिर्मा गाउँका १२० र घुर्केला गाउँका ३४ घरधुरी उच्च जोखिममा परेका छन् । वडा नं १ कुसिनाऔल र छपालीका ५० भन्दा बढी घरधुरी जोखिममा परेका छन् ।
यति मात्र नभई यहाँका पहिराको जोखिममा रहेका बस्तीमा सञ्चारका साधनले समेत काम नगर्ने गरेका कारण रातिको समयमा समस्या पर्दा तत्काल कहीँ कतै खबर गर्नसमेत नसकिने अवस्था रहेको वडा नं ४ का वडाध्यक्ष जगतबहादुर साउँदले बताउनुभयो । पहिराको जोगिममा रहेका सायलका बस्तीहरुमा सञ्चार सम्पर्क सहजताका लागि फोनका टावरहरु निर्माण गर्न पहल भइरहेको गाउँपालिकाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गत वर्षको असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म आएको अविरल वर्षा र बाढीपहिरामा परी उक्त पालिकामा ६ जनाले ज्यान गुमाएका थिए । बाढी र पहिराका कारण २०० भन्दा बढी घरपरिवार विस्थापित भएका थिए भने ४१ घरहरुमा पूर्ण रुपमा क्षति भएको थियो । खेतीयोग्य जमिनसहित खेतीबाली बाढी पहिराले पुरेको थियो ।-































