झापामा नयाँ मतदातासँगै बसाइँ सरेर आउने मतदाता पनि बढ्दै

४ श्रावण २०७९, बुधबार मा प्रकाशित

झापा, 

पहाडी जिल्लाबाट बसाइँ सरेर आउने मतदाताको सङ्ख्या एक महिनाको अवधिमा मात्र एक हजार ३०० ले बढेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

कार्यालयमा मतदाता नामावलीमा ठाउँ सारी गर्न आउनेमा दैनिक जसो १०० देखि १५० जनासम्म अन्यत्रबाट बसाइँ सरेर आउने मतदाता छन् । प्रदेश र सङ्घको चुनावलाई लक्षित गर्दै गत असार १ गतेदेखि निर्वाचन आयोगले सुरु गरेको नयाँ फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रममा जिल्लामा बसाइँ सरेर आउने मतदाता देखिएको हो । यो सङ्ख्या अझै बढ्दै जाने कार्यालयले जनाएको छ ।

तेह्रथुम, पाँचथर, ताप्लेजुङ र इलामबाट बसाइँ सरेर झापा आउने मतदाताको सङ्ख्या गत असार महिनामा मात्र एक हजार ३०० रहेको छ भने जिल्लाबाट बसाइँ सरेर जाने मतदाताको सङ्ख्या २६८ रहेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिनुभयो ।

झापाबाट सुनसरी, मोरङ, काठमाडौँ, भक्तपुर जिल्लामा मतदाता बसाइँ सरेर गएको तथ्याङ्कले देखाएको छ । “बसाइँ सरेर आउनेको अद्यावधिक गर्न झन्झटिलो छ”, प्रमुख नेपालले भन्नुभयो, “सबै नयाँ फाराम भरेर सोसँग मिल्यो मिलेन भनेर पुनः सम्बन्धित जिल्लामा पठाई रुजु गरेर मात्र काम गर्छौैं ।”

उहाँका अनुसार जिल्लामा एक महिनाको अवधिमा १६ हजार ६६७ मतादाता थपिएका छन् । तीमध्ये आठ हजार १०५ महिला र आठ हजार ५६२ पुरुष रहेका छन् । नयाँ थपिएका मतदातामध्ये ४० प्रतिशत बढी झापा निर्वाचन क्षेत्र ३ को भद्रपुर नगरपालिका, कचनकवल, हल्दिबारी र बाह्रदशी गाउँपालिकाका रहेको उहाँको भनाइ छ ।

निर्वाचन आयोगले आजदेखि अनलाइनमार्फत झापालगायतका उपत्यकाबाहिरका पाँच जिल्लामा फाराम भर्न सकिने भनेसँगै कार्यालयमा मतदाता नामावलीमा फाराम भर्न आउनेको सङ्ख्या घटेको छ । उहाँले आज बिहानदेखि हालसम्ममा अनलाइनबाट फाराम फर्नेको सङ्ख्या जिल्लामा ७५ नाघिसकेको बताउनुभयो ।

जिल्लामा स्थानीय तहको २०७९ को निर्वाचनअघिसम्म छ लाख ४६ हजार मतदाता रहेका थिए । जिल्लामा यसअघि ७५५ निर्वाचन केन्द्र र २८६ निर्वाचनस्थल रहेका छन् । नयाँ मतदाता बढेसँगै २५ देखि ३० वटा निर्वाचन केन्द्र जिल्लामा थप्नका लागि निर्वाचन कार्यालयले सर्वदलीय बैठक बोलाउने तयारी गरिरहेको कार्यालयका प्रमुख नेपालले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here