भोको पेट

७ श्रावण २०७९, शनिबार मा प्रकाशित

मानबहादुरले काम नपाएको एक साता भयो । ज्याला मजदुरीको काम पनि साहुले बर्खा लाग्यो नआउनु भनेपछि अहिले उसलाई तनाव छ । एउटा सानो कोठा डेरा लिएर बसेको छ– शहरमा । श्रीमती, ८ वर्षकी छोरी, ५ वर्षको छोरा छन् । खाना पकाउनु छोराछोरीलाई पढाउनु, घर–व्यवहार हेर्दैमा उनको दिन बित्छ । घरमा पानी चुहिन थालेको छ केही दिनदेखि । घर साहुलाई भनेको वास्ता नै गर्दैन ।

श्रीमती भन्छिन्– ‘कतै काम खोज न गाह्रो भयो घर चलाउन, छोराछोरीको स्कूलको फिस तिर्ने बेला भइसक्यो ।’
श्रीमान भन्छन्– ‘खोजेको के गर्नु नपाएपछि ।’

ऊ भौतारिरहेको छ । एउटा पुरानो छाता बोकेर दिनभरी हिँड्छ काम खोज्न । काम नभेटेपछि ऊ तनावमा रक्सी खान्छ । ऊ विपन्न परिवारको मानिस हो । ‘पानी पनि नचल्ने समाजको मानिस हांै हामी । भनेको बेला काम पनि पाइँदैन । गरीब हुनु पनि अभिशाप रहेछ’ धिर्काल्छ आफैलाई । ‘यो पानी कति परेको निराश हुँदै गाली गर्छ । सरकारले केही गर्न सकेन हामी जस्तो गरीबलाई ।’

बिहान खाएर बेलुका के खाने होला भन्ने स्थिती छ । मजदुरी गरेर जेहतेन चलिरहेकै थियो । काम छुटेपछि अहिलेको उसको परिवार झन् नाजुक बन्दै गइरहेको छ । ‘सबैको घरमा टिभी छ हाम्रोमा छैन, टिभी किनेर ल्याउनुन’ –छोरी भन्छिन् । उता छोरालाई रिमोटबाट चल्ने हावाजहाज चाइयो भनेर जिद्दी गरिरहेको छ ।

सधैँजसो गरी मानबहादुर हिँड्यो घरबाट । कतै काम पाइन्छ कि भन्ने आशाले । बिहानैदेखि मुसलधारे पानी परिरहेको छ । उहीँ पुरानो छाता ओढेर हिँडीरहेको छ । उसको अनुहारमा थकान छ । नाबालक छोराछोरीको अनुहार सम्झिँन्छ । सम्झिँदा ऊ अझ चिन्तित देखिन्छ । बाटोमा रेस्टुरेन्ट देख्छ र सोध्छ । यतै कतै काम पाइँदैन ।

रेस्टुरेन्ट साहुले भन्छ– ‘बर्खाको समय छ, काम पाउन गाह्रो छ ।’
त्यसपछि अलिकति बचेको पैसाले सोही होटेलमा रक्सी खान्छ मानेले । दिनभरी हिँड्यो उसले काम भेट्याएन । दुई–चार ठाउँमा गएर सोध्यो काम पनि दिएनन् । राति घर फर्कियो ९ बज्न लागेको थियो ।

श्रीमतीले भनिन्– ‘छोराछोरी त अघि सुते । कोदोको रोटी बनाइदिएकी थिएँ त्यही खाए ।’ यताउता हे¥यो चामल पनि सकिएको रहेछ । दाउरा भिजेको रहेछ । नुन–तेल मसला सबै सकिएको छ अस्ति नै सुनाएकी थिइन् श्रीमतीले ।

मानेले सोध्यो– ‘तिमीले खायौ खाना ।’ उनले भनिन्– ‘मलाई भोक लागेको छैन । ग्यास्ट्रिक बढेको छ ।’ भनेर पटुकी बाँधेर सुती । मानेले मनमनै प्रार्थना गर्यो र भन्यो– ‘हे ! भगवान मलाई पनि भोक नलाग्ने औषधि दिनुहोस् ।’ त्यसै रात माने भोको पेट नै सुत्यो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here