भूमि समस्या समाधानका लागि सर्वपक्षीय समन्वय अघि बढाउने निर्णय

0
404

छविराज ढकाल/ पथरीशनिश्चरे,

राष्ट्रिय भूमि आयोगले मोरङ्गको पथरीशनिश्चरेको भूमि सम्बन्धी समस्या समाधानका लागि सर्वपक्षीय समन्वय अघि बढाउनु पर्ने निर्णय गरेको छ । शनिबार आयोगले मोरङको पथरी शनिश्चरे नगरपालिकामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी उक्त निर्णय गरेको हो।

छलफलमा पालिकाको निर्वाचनपछिका जनप्रतिनिधिहरु सहितको सर्वदलीय सहयोग समन्वय समिति ( नगर र वडामा) पुनर्गठन प्रक्रिया अघि बढाएर जग्गा सम्बन्धी निवेदकहरुको सूचना प्रकाशन र नयाँ नापीको प्रक्रिया थालिने निर्णयमा पुगिएको आयोगका नगर सेवा केन्द्र प्रमुख ताराप्रसाद ढकालले जनाउनु भयो ।

वडाध्यक्षहरूसहित राजनीतिक दलका प्रतिनिधि सम्मिलित छलफलमा आयोग जिल्ला अध्यक्ष सुशीला घिमिरे, विज्ञ सदस्य प्रेम भारती, नगर प्रमुख मोहनप्रसाद तुम्वापो सहितले आयोगले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउनु भयो । अघिल्ला आयोगले पुरा गर्न बाँकी रहेका अधुरा कामलाई पुरा गर्ने प्रक्रियामा वडा नम्बर ८ र १० मा नापी थालेको छलफलमा जानकारी गराइएको थियो।

वडा नम्बर १ बाट अधुरो कामका ५ सय ९५ वटा फायल आयोगमा पुगेको, वडा नम्बर ८ को केहि फाइल अन्तिम निर्णयको क्रममा पुगेको समेत जानकारी गराइयो। पहिले अधुरा कामको प्रक्रिया अघि बढाइएको भएपनि अव अधुरासँगै कम्प्युटरमा प्रविष्ट भएका फायल अन्तर्गतको नयाँ कामको पनि प्रक्रिया अघि बढाइने आयोगकी जिल्ला अध्यक्ष घिमिरेले जनाउनुभएको थियो । उहाँले एउटाको बसोबास र पूर्जा अर्कैको भएका जग्गाको समस्याको समाधानका लागि प्रमुख जिल्ला अधिकारीसँग समेत छलफल गरिरहेको जानकारी गराउनु भयो ।

वडाध्यक्षहरुले सवैखाले समस्या केलाएर न्यायोचित हिसावले जोतभोगका आधारमा जग्गाधनी प्रमाण पूर्जा प्रदान गर्न सवैको सहकार्य आवश्यक रहेको कुरामा जोड दिनुभएको छ । नगरमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी १० हजार वटा आवेदन भरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here