समाजवादी केन्द्र निर्माणको चर्चा र प्रधानमन्त्रीको कुर्सीको सपना

९ श्रावण २०७९, सोमबार मा प्रकाशित

हामी यतिबेला गणतान्त्रिक संविधान जारी भएपछिको दोस्रो संघीय र प्रादेशिक तहको निर्वाचनको संघारमा छौं । नेपालका सबैजसो पार्टीहरू आफ्नो अवस्था कमजोर हुने ठानेर चुनाव पूर्वको गठबन्धनका लागि प्रयत्नरत् छन् । स्थानीय तहको निर्वाचनमा एमाले विरोधी भूतप्रभावी गठबन्धन भएको थियो र यतिबेला पनि एमाले बाहेकका वाम रूझानका दलहरू भूतप्रभावी गठबन्धन कै कुरा गरिरहेका छन् भने नेपाली कांग्रेस आफ्नो बहुमत र पाँच वर्षै आफ्नै एकल नेतृत्वमा सरकार चलाउने शर्तसहितको भविष्यप्रभावी गठबन्धनको पक्षमा उभिएको छ । धेरै पार्टीहरूले आफ्नो वर्गीय धरातल बिर्सेका छन् । विगतका चुनावी प्रतिबद्धता, सङ्कल्पपत्र र प्रतिज्ञापत्र बिर्सेका छन् र जनसमक्ष जारी गरेका आफ्ना कार्ययोजना र कार्यक्रमको अवस्था के छ भन्ने पनि उनीहरूलाई मतलब छैन । दलहरूको आफ्नो वर्गधरातल छैन जस्तो लाग्न थालेको छ ।

आज सबैभन्दा बढी चर्चामा रहेको विषय समाजवादी केन्द्र निर्माणको रहेको छ । नेपाली राजनीतिमा सबभन्दा चतुर, अस्थिर, मौकापरस्त र विपक्षीभित्र सबभन्दा बढी खेल्न सक्ने पात्र प्रचण्ड हुन् । हुन त प्रचण्ड आफूलाई नेपाली राजनीतिक खेलाडीमा सबैभन्दा बढी गतिशील, उदार, समयलाई चिन्न सक्ने र सबैसँग मिल्न सक्ने नेता मान्छन् । उनको अगुवाइमा समाजवादी केन्द्र निर्माणको पहल शुरु भएको छ । हरेक समयमा केही न केही बिकाउ वस्तु सृजना गर्न सकियो भने मात्रै जनताका अगाडि आफ्नो र आफ्नो दलको नाम र चिन्ह भजाउन सकिन्छ । यो आम नियम पनि हो । पार्टी एकताको नारा लगाइरहने वामदेव गौतम, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतलाई समावेश गरेर समाजवादी केन्द्र निर्माण गर्ने प्रचण्डको इरादा देखिन्छ । हुन त उनले हालसालै बाबुराम भट्टराई लगायत नौ जना शीर्ष नेतालाई कारवाही गरेर पार्टीबाट निकाल्ने उपेन्द्र यादव पनि सो समाजवादी केन्द्रमा सजिलै अटाउन सक्ने बताएका छन् । समाजवादी नारा लोकप्रिय रहेकै कारण यो भाष्यलाई अघि बढाइएको हो ।

समाजमा सबभन्दा बढी दलनमा परेका, आर्थिक, सामाजिक, लैङ्किक र क्षेत्रीय उत्पीडनमा पिल्सिएका वर्गका कुरामा विगतमा समाजवादी केन्द्र निर्माण गर्न अग्रसर पार्टीहरूले धेरै ध्यान दिएनन् । तर डा. भट्टराई समाजवादी केन्द्र माओवादी केन्द्र जसपा, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानको गठजोड नभएर रूपान्तरित नयाँ केन्द्र वा नयाँ राजनीतिक शक्ति हुने दावी गर्छन् । हामी गणतन्त्रात्मक मुलुकमा छौं । तर, नेपालका सबै संघर्ष र आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्न सक्ने ल्याकत बोेकेको मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रबाट नेपाली जनताको चाहना र भावनाले मूर्तता प्राप्त गर्न सकेको छैन । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशिता सहितको ऐतिहासिक संविधानले समाज–सोपानको जगमा रहेर नित्यनिरन्तर श्रम गर्ने मेहनतकश जनताको जीवनमा खुशियाली ल्याउन सकेको छैन ।

गौरवमय गणतन्त्रले दीनदुःखीको दर्दमा मल्हमपट्टी लगाउन सकेको छैन । वैज्ञानिक समाजवादका प्रणेता कार्ल माक्र्स भन्छन्– ‘शोषकको ओठको मुस्कान गरीबको रोदनबाट लुटिएको हुन्छ ।’ आज भुइँमान्छेहरू रोइरहेका छन् भने मुलुकमा शासकहरू र सम्भ्रान्तवर्ग मुस्काइरहेका छन् । भुइँमान्छेका लागि समाजवाद फगत सपना जस्तो भएको छ । यो जीवन भोगाइमा अभिव्यक्त हुने ठोस अवस्था हुन सकेको छैन । हुन त पहिला सपना देखिन्छ, पछि सपनालाई विपनामा परिणत गर्न कार्यनीति, कार्ययोजना, कार्यक्रम र क्रियाकलापहरू गरिन्छन् । त्यसबाट प्राप्त उपलब्धि विपना मान्न सकिन्छ । के नेपालमा देखिएको समाजवादको सपना भ्रम हो कि, भुलभुलैया हो कि, छलकपट हो कि, कि यो व्यवहारमा पनि अनुभूत गर्न सकिने सपना हो ? यो प्रश्नको गाम्भीर्यभित्र नेपालको भविष्य निहीत छ ।

नेपालमा यतिबेला समाजवादको सपना सबैभन्दा चर्चा गरिएको विषय हो । नेपालको संविधान २०७२ मा नेपाल अब समाजवादउन्मुख राज्य हुनेछ भनी लेखिएको छ । तर सबै राजनीतिक दलहरूका चुनावी घोषणापत्रमा समाजवादका आफ्नै परिभाषा र मान्यताहरु छन् । मुलुकमा कुनै संघर्ष, आन्दोलन, जनयुद्ध र जनआक्रोश सडकमा नपोखिइकन अहिलेका पात्रहरू के कुराले परिवर्तन हुन्छन् होला ? समाजवादी केन्द्र निर्माणको यो महामन्त्र उनीहरूमा कसरी प्रस्फुटित हुन सक्यो ? विश्वास गर्ने के आधार छ– उनीहरू अब परिवर्तन हुनेछन् र जनयुद्ध तथा जनआन्दोलनमा अभिव्यक्त नेपाली जनताको भावना अनुरूप मुलुकको आमूल रूपान्तरणका लागि गान्धी जस्तो, चेग्वाभारा जस्तो, लेनिन जस्तो, लालबहादुर शास्त्री जस्तो, मनमोहन अधिकारी जस्तो र होचिमिन्ह जस्तो सादगी, सरल र जनताको पक्षमा नित्यनिरन्तर काम गर्न तयार भएका हुन् त ? समाजवादको बहुरंगी अर्थ हुँदा त्यो सपनालाई विपनामा परिणत गर्न धेरै कठिनाइ हुन्छ । तर, समाजवाद सूर्य जस्तै हो, यो आँगन, चौतारी, खेतखलिहान, कलकारखाना, मजदुर बस्ती, विद्यालय, विश्वविद्यालय, चिया पसल जताततै अनुभूत हुन्छ यसको खाँचोको ।

सन् १८४८ मा कार्ल माक्र्स र फ्रेडेरिक एंगेल्सले पुँजीवादका विरुद्ध वैज्ञानिक साम्यवादी घोषणापत्र लेखेका थिए । उनीहरूले पुँजीवादी उत्पादन सम्बन्धहरूले नै पुँजीवादी समाजको विकासलाई रोकिदिन्छन्, अनि जब उत्पादक शक्तिहरूले यी अड्चनहरू पार गर्न थाल्छन्, त्यसबखत तिनले सारा पुँजीवादी समाजलाई नै डगमगाइ दिन्छन् र पुँजीवादी स्वामित्वको अस्तित्वलाई नै खतरामा पारिदिन्छन् भनेर लेखेका थिए ।

पुँजीवादी सम्बन्धहरू तिनीहरूद्वारा उत्पादित सम्पत्ति समाविष्ट गर्न अत्यन्त संकुचित हुन जान्छन् । कम्युनिस्ट घोषणापत्रमा उनीहरूले एकातिर, उत्पादक शक्तिहरूको एक ठूलो भागलाई नष्ट गरेर अनि अर्कोतिर नयाँ–नयाँ बजारहरू कब्जा गर्नुका साथै पुराना बजारहरूको पुरापुर शोषण गरेर पुँजीवादी संकटमा पर्छन् भनी लेखेका छन् । तसर्थ भन्न सकिन्छ–समाजवादको जन्म पुँजीवादको गर्भबाटै हुन्छ । समाजवादी मुलुकमा नयाँ समाजमा नयाँ मान्छेको जन्म हुने विश्वास गरियो । पीडा, वेदना र कठिनाइमा जिइरहेको कामदार वर्गमा भित्रभित्रै क्रान्तिको ज्वाला दन्किँदै जाँदा व्यापक परिवर्तन हुन्छ । मजदुरहरूको सामुहिकता र संगठनमा शक्ति हुन्छ र यो नै समाजवादी क्रान्तिको आधार हो भन्ने सच्चाइ हो ।

मूल प्रश्न समाजवाद ल्याएर कसैले दिने हो कि कामदार वर्ग आफैंले निर्माण गर्ने हो ? सर्वहाराको यो समाजवादी विचारले नवीन मानवजातिको विकास हुन्छ र ईश्वर पनि नयाँ रुपमा प्रकट हुन्छन् भन्ने विश्वास जागृत हुँदै जान्छ । भौतिक परिस्थितिले मानवीय चेतनाको विकास हुने र मानवीय चेतनाले भौतिक परिवेशलाई आफू अनुरुप बदल्न कोशिस हुने निरन्तरको अन्तरविरोधका बीचबाट नयाँ युगको आरम्भ हुन्छ भन्ने कुरा आम मजदुर वर्गले व्यवहारबाटै बुझेपछि मात्र उनीहरू संगठित हुन्छन् । श्रम गरेर पनि बाँच्न कठिनाई हुने रौरव नरक जस्तो निसासिँदो वातावरणबाट पार पाउन श्रमजीवी जनताले संघर्ष गर्ने बाहेक अन्य कुनै विकल्प छैन ।

संघर्षमा सामेल भएपछि मात्र समाजवादी क्रान्तिकारीहरूमा ऊर्जा सञ्चार हुन्छ । लखतरान भई चौतारीमा सुस्ताएका क्रान्तिकारीहरूलाई समाजवादी विजय कथाले उत्साहको लौरो थमाउँछ उनीहरूलाई क्रान्तिको उज्यालो किरणले आफ्नो देश, समाज, घरपरिवारलाई सिँचेर अघि बढ्न उत्प्रेरित गर्छ । समाजवाद वास्तवमा जिउँदै हुँदाका मृत आत्माको पुनर्जीवन र पुनः उत्थानको सिद्धान्त हो । सामन्तवाद र पुँजीवादको निर्मम पर्खालले घेरिएको छ मेहनतकश जनताको जीवन । उनीहरूको शरीर त जिउँदो छ, तर आत्मा मरिसकेको छ । जब मानिस साँचो अर्थमा समाजवादी विचारहरूबाट प्रभावित हुँदै जान्छ, उसको मृत आत्मा फेरि ब्युँतिन्छ ।

समाजवादी क्रान्तिको दिशानिर्देशले मेहेनतकश मजदुर वर्गका लागि प्रेरणाको काम गर्दछ । समाजवाद मानव जातिको मुक्तिपथ हो । समाजवाद क्रान्तिको गोरेटो हो । वास्तवमा कामदार वा मजदुर वर्ग नै क्रान्तिको वास्तविक संवाहक हो, उत्प्रेरक हो र पहलकर्ता हो । मजदुर वर्गका लागि अरुले क्रान्ति गरिदिँदैनन् । यो सच्चाइलाई आत्मसात नगर्दा समाजवादले धक्का खाएको हो । क्रान्तिले चेतना दिन्छ, खराब मानिसलाई पनि असल मार्गमा लाग्ने प्रेरणा दिन्छ । माक्र्सवादको आलोकमा समाजवादी÷साम्यवादी सपनालाई साकार तुल्याउन सम्पूर्ण सामाजिक, राजनीतिक र आर्थिक क्रान्ति गर्न जरुरी छ भन्नेमा विश्वास गर्छन् कम्युनिष्टहरू । माक्र्सले संसारको ब्याख्या गर्ने मात्र होइन, परिवर्तन गर्ने ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शनको वकालत गरेका छन् । सिद्धान्ततः समाजवादको अपरिहार्यतालाई मान्न सकिए पनि नेपालमा कसरी, कस्ता कार्यक्रमका आधारमा समाजवाद निर्माण हुन्छ भन्ने गुरूत्व बोकेको प्रश्न हो ।

आगामी मंसिर–पुसभित्रमा प्रदेश र संघको निर्वाचन हुँदैछ । यो स्पष्ट छ– यो समाजवादी केन्द्र निर्माणको अन्तर्य नेपाली कांग्रेससँग गठबन्धनमा बढी सिटको मोलमोलाई गर्ने हो र कांग्रेसलाई बहुमत वा अन्य कुनै साना दलसँग मिलेर बहुमत बनाउन नदिने हो । अर्कातिर नेकपा एमालेसँग आफ्नो ताकत देखाउने हो । अझ मसिनोसँग भन्ने हो भने निर्वाचनपछिको सरकार प्रचण्डले आफ्नो नेतृत्वमा गठन गर्ने मनाशयका साथ समाजवादी केन्द्र निर्माणको प्रयत्न शुरु भएको हो । समाजवादी कार्यक्रमसहित केन्द्र निर्माण गरेर माक्र्सले देखेको समाजवादी बाटोलाई अलिकति पनि स्वीकार नगर्ने नेपाली कांग्रेससँग गठबन्धन कसरी हुन सक्छ ? यो फगत जनताको आँखामा छारो हाल्ने प्रपञ्च मात्र हो । गणतन्त्रको कल्की भिरेर शासनको करेली हातमा लिनेहरूमा पनि राजतन्त्रको ‘भूत्याहा आत्मा’ अझै जीवित रहेको दर्जनौं उदाहरणहरू छन् ।

गणतन्त्र कस्तो रंगको छ ? राजतन्त्रको आत्मा बोकेर रंगिएको गणतन्त्रले राजतन्त्रकै सेवा गर्ने हो । पात्र फेरिने हो, परिवेश फेरिने हो, तर जनताको भुक्तमान उही, क्रन्दन उही, रोदन उही । शिक्षा, स्वास्थ्य र रोजगारका लागि गणतन्त्रसहितको राज्यव्यवस्थाले जनताका लागि केही नगर्ने हो भने राजतन्त्र र गणतन्त्रमा के फरक भयो ? जनतालाई आर्थिक अधिकारसहितको लोकतन्त्र चाहिएको हो । जनतालाई आर्थिक स्वतन्त्रतासहितको लोकतन्त्र चाहिएको हो । जनतालाई राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकारसहितको लोकतन्त्र चाहिएको हो । उपरीसंरचनामा आएको फगत निस्तो गणतन्त्रले जनताको ओठमा मुस्कान कसरी दिन्छ र ? ढाँटछल, लोभलालच, पाखण्ड र त्यसले निम्त्याउने मनुष्यहीनताको रजाइँ चल्ने समाजलाई बदलेर समाजको पिँधमा सर्वाधिक पेलान र चेपानमा पर्ने मानिसहरूको मुक्तिको सपना हो समाजवाद ।

दुःखीजनहरूका निम्ति समाजवाद दूर क्षितिजमा देखिने आशाको झुल्केघाम हो । समाजवाद एउटा विशाल र रोक्नै नसकिने क्रान्तिको नाम हो र यसका लागि धेरै पूर्वाभ्यास हुन जरुरी छ । जनताको रोदन हटाउने महासंकल्पसहित ल्याइएको थारो लोकतन्त्रले कसरी जनताको हृदयमा आशाको दियो बाल्न सक्छ ? तसर्थ, गणतन्त्र जनताको पक्षमा हुनुपर्छ । त्यसैले लोकतन्त्र जनताको हितमा हुनुपर्छ । संघ र प्रदेशको निर्वाचनले लोकतन्त्रको सबलीकरण गर्दै भुइँमान्छेको आवाजलाई मुखरित गर्न सक्नुपर्छ । शासकहरू जनताका मालिक नभई सेवक हुने प्रतिज्ञासहित निर्वाचित भएर जनताको मनमनमा बस्ने अठोट गर्नुपर्छ । नेपालको कम्युनिष्ट आन्दोलनको सादगी नेता मोहन वैद्यलाई पार्टी सत्ताबाट हटाएर निरन्तर साढे तीन दशकदेखि पार्टी प्रमुख रहेका प्रचण्डबाट समाजवादी केन्द्र स्थापना गरेर भुइँमान्छेको हितमा समाजवादी कार्यक्रम यो मुलुकमा लागू होला– भन्न त सकिन्छ, तर विश्वास गर्न सकिँदैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here