बिर्तामोड, कात्तिक ३० । उत्तरी झापा र दक्षिणी इलामको सीमानामा पर्ने इलामको दानावारी – २ स्थित जुवाली भन्ने स्थानमा ससुराको कुटाईबाट ज्वाईको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको भद्रपुर – ४ निवासी ३५ वर्षीय अनिल श्रेष्ठ रहेको प्रहरी चौकी लोदियाका प्रहरी नायव निरीक्षक विरेन्द्रप्रसाद यादवले जानकारी दिए ।
घरबाट श्रीमती मनमाया श्रेष्ठ हराएपछि श्रीमतीको खोजीमा गत कात्तिक २८ राती ससुराल पुगेका उनको ससुरा खड्गबहादुर एक्तेन सहित गाउलेको कुटाईबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना विवरण अनुसार राती ससुराली पुगेका श्रेष्ठले झ्यालवाट ससुरालाई बोलाउने क्रममा चोर भन्दै ससुरा सहित गाउँलेले मरणसन्न हुनेगरी कुटपिट गरेको बताइएको छ । ससुरा र गाउलेको कुटाईबाट गम्भीर घाइते बनेका श्रेष्ठको स्थानीय एभरेष्ट अस्पतालमा उपचारार्थ लगिएपनि त्यहाँ उपचार सम्भब नभएपछि थप उपचारार्थ न्युरो हस्पिटल विराटनगर पु¥याइएको थियो । टाउकोमा गम्भीर चोट लागेका उनको अत्याधिक रक्त श्रावका कारण गएराती उपचारकै क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरी चौकी लोदियाका प्रहरी नायव निरीक्षक यादवले जानकारी दिए ।
यता कुटपिटमा सम्लग्न श्रेष्ठका ससुरा सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक श्रेष्ठका ससुरा दानावारी – २ निवासी खड्गवहादुर, सोही ठाउँ निवासी पदमवहादुर मगर, धनवहादुर साउदेन, अम्विका घिमिरे, माधव सेन्च्यूरी, सुभास लिङ्देन, तुलसी सेन्च्यूरी र दानावारी – ७ निवासी कुमार राई रहेका छन् ।